कान्ति लोकपथ : ६० वर्षमा १५% काम


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

राजधानीसँग तराई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माणको काम निकै सुस्त भएको छ । ६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको छ ।

कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनि प्रगति न्यून भएको स्वीकार गरे । साहले भने, ‘कान्ति लोकपथ निर्माण ०१३ देखि सुरु भएको देखिन्छ । त्यसवेला नेपाली सेनाले ट्र्याक खोले पनि निर्माण कार्यले गति लिन सकेन । अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम हुन सकेको छ ।’

नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । यो सडक आठ वर्षयता कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयले निर्माण गर्दै आएका थिए ।

‘कान्ति लोकपथलाई नै फास्ट ट्रयाकमा विकास गर्न सकिन्छ’
सरकारको प्राथमिकतामा परेमा कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने लोकपथ सडक आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहको भनाइ छ । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढमा जोड्न आवश्यक हुने उनले बताए । यसो गरिएमा ललितपुरको सातदोबाटोबाट निजगढको दूरी ८० किमि मात्रै हुन आउँछ । जबकि फास्ट ट्र्याक भनिएको काठमाडौं–निजगढको दूरी ७६ किमि छ ।

कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौं प्रवेश गर्ने एक सय ३२ किमि दूरी छोटिने आयोजनाले जनाएको छ । अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा हो । यसको दूरी दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भएमा हेटौँडाबाट ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवै बचत हुन्छ ।

९० किमि सडक, दुई घन्टामै काठमाडौं–हेटौँडा
आयोजनाका अनुसार लोकपथको दूरी ९० किमि छ । यसको चौडाइ सुरुमा ५.५ मिटर गर्ने भनिए पनि पछि ८.५ मिटर निर्धारण गरिएको छ । ललितपुरको सातदोबाटोबाट सुरु भएर सडक मकवानपुरको हेटौँडास्थित बुद्ध चोकमा पुगेर टुंगिन्छ । लोकपथको ५१ किमि भाग मकवानपुर र ३९ किमि ललितपुर जिल्लामा पर्छ । सडक निर्माण पूरा भए दुई घन्टामै राजधानीबाट हेटौँडा पुगिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार लोकपथ मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगन–बागमती हुँदै ललितपुरको बगुवा–कल्चेभीर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव–चापागाउँ हुँदै सातदोबाटो जोडिनेछ । ०६५ सम्म लोकपथ निर्माण करिब–करिब ठप्पै रहेको आयोजनाले जनाएको छ । लोकपथलाई सडक डिभिजनबाट झिकेर छुट्टै आयोजनाअन्तर्गत राखिएपछि निर्माण कार्यले केही गति लिएको छ ।

निर्माणमा ढिलाइका तीन कारण
१. सरकारको बेवास्ता
०१३ मा लोकपथ निर्माणको अवधारणा आएसँगै ०१६ मा नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । तर, त्यसपछि सरकारको प्राथमिकतामा परेन । ०५९ मा मात्र हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्ने बहस सुरु भयो । कोरियन सरकारको सहयोगमा डिपिआर बन्यो, तर थन्कियो । ०६५ मा पुनः निर्माणको बहस भयो । ५.५ मिटरबाट ८.५ मिटर चौडा सडक बनाउने निर्णय भयो ।  बजेट भने विनियोजन भएन । आव ०७१-७२ मा १० करोड र ०७२-७३ मा ३९ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, आशातीत काम भएन । आव ०७३-७४ मा ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक सडक निर्माणका लागि ठेक्का सम्झौतासम्म भएको छ ।

२. काठमाडौं–निजगढ फास्ट ट्र्याक
काठमाडाैँ–निजगढ (७६ किमि) जोड्ने दु्रतमार्ग निर्माणको अवधारणाले कान्ति लोकपथ ओझेलमा पर्‍यो । ५९ मिनेटमै तराई पुग्न सकिने भन्दै २३ कात्तिक ०६६ मा नेपाली सेनाले दु्रतमार्गको ट्रयाक खन्न सुरु गरेको थियो । अहिले न फास्ट ट्रयाक निर्माण हुन सकेको छ, न कान्ति लोकपथ निर्माणले गति लिएको छ ।

३. काठमाडौं–कुलेखानी सुरुङमार्ग
काठमाडाैँ–कुलेखानी (५८ किमि) सुरुङमार्ग निर्माण अवधारणाले पनि लोकपथ ओझेलमा पर्‍यो । ४० मिनेटमै काठमाडौंबाट हेटौँडा पुग्न सकिने भन्दै सुरुङमार्ग निर्माण गर्ने भनियो । निजी क्षेत्रबाट नेपाल पूर्वाधार कम्पनीसमेत खडा भयो । डिपिआरसमेत बन्यो । तर, चार वर्षसम्म पनि कम्पनीले लगानी जुटाउन सकेको छैन । नयाँ पत्रिका/टेकराज थामी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com