अमेरिकामा कागजपत्रविहिनलाई समात्न एकलाख सेना परिचालन योजनाको गोप्य मेमो


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

 

ट्रम्प प्रशासनले अमेरिकामा रहेका कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिनका लागि नेशनल गार्ड परिचालनको गोप्य प्रस्ताव अगाडि सारेको एपीले जनाएको छ । एपीलाई प्राप्त मेमोको ड्राफ्टमा कागजपत्रविहिनलाई नियन्त्रणमा लिन झण्डै १ लाख भन्दा धेरै नेशनल गार्ड परिचालन गर्ने जनाइएको छ ।

हाल अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका झण्डै २० हजार कर्मचारीहरु मध्येबाटमात्र कागजपत्रविहिनलाई नियन्त्रणमा लिने काममा परिचालन गरिएका छन् । झण्डै १४ लाखको संख्यामा रिजर्भ आर्मीका रुपमा रहेका नेशनल गार्ड मध्येबाट झण्डै १ लाखलाई परिचालन गर्ने योजना सहितको ११ पेज लामो गोप्य मेमो एपीले प्राप्त गरेको दावी गरेको छ ।

मेमोको ड्राफ्टमा क्यालिफोर्निया, एरिजोना, न्यु मेक्सिको र टेक्सास समावेश गरिएको छ । तर ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले एपीको रिपोर्ट शतप्रतिशत गलत भएको दावी गरेका छन् । उनले कागजपत्रविहिनलाई पक्राउ गर्न नेशनल गार्ड परिचालनको कुनै योजना नरहेको दावी गरेका छन् ।

तर एपीले प्राप्त गरेको मेमो युएस होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले तयार पारेको बताइएको छ । यसअघि पनि नेशनल गार्डका अधिकारीहरुलाई मेक्सिको सिमाक्षेत्रमा अध्यागमन सम्बन्धित मिसनहरुमा प्रयोग गरिदै आएको छ । ट्रम्पको कार्यकारी आदेशको कार्यान्वयनका सन्दर्भमा अतिरिक्त आदेशका रुपमा होमल्याण्ड सेक्युरिटीले त्यस्ता मेमोहरु आफ्ना माताहतका निकायमा पठाउँदै आएको छ ।

यो मेमो पनि आइस र सीबीपीका प्रमुखका नाममा लेखिएको छ । मेमोको ड्राफ्ट डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कर्मचारीहरुलाई दिइएको र त्यसमध्ये एउटा आफूले प्राप्त गरेको एपीको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com