नेपालबाटै इबी वान ग्रिनकार्ड पाउनेको संख्या बढ्दो, नयाँ नियम नआउँदै आवेदन दिन सुझाव


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

किशोर पन्थी

इबी वान अर्थात् एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड । अमेरिकी सरकारकाले तोकेको मापदण्ड पूरा गरेका व्यक्तिले यो क्याटेगोरी अन्तरगत ग्रिनकार्ड प्राप्त गर्छन् जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य छ । यसलाई रोजगारमा आधारित ग्रिनकार्ड भनिन्छ । विज्ञान, कला, शिक्षा, ब्यापार, खेलकुद लगायतका क्षेत्रमा असाधारण योग्यता भएकाहरुले यस्तो प्रकारको ग्रिनकार्ड प्राप्त गर्छन् ।

त्यसका लागि कुनै रोजगारको अफर पनि आवश्यक पर्दैन । त्यस्तै अतिदक्ष प्रोफेसर र शोधकर्ताहरुले पनि यस्तो प्रकारको ग्रिनकार्ड प्राप्त गर्छन्, उनीहरुका लागि भने अमेरिकी रोजगारदाताबाट रोजगारको अफर आवश्यक पर्छ । त्यस्तै बहुराष्ट्रिय कम्पनीमा मेनेजर वा कार्यकारी पदमा रहेकाहरुले निश्चित मापदण्डहरु पूरा गरेपछि यो क्याटेगोरी अन्तरगत ग्रिनकार्ड प्राप्त गर्छन् ।

नेपालबाटै आवेदन स्वीकृत हुनेको संख्या बढ्दो

यो क्याटेगारी अन्तरगत ठूलो संख्यामा नेपालीहरु पनि लाभान्वित हुँदै आएका छन् । जसमध्ये नेपालबाटै आवेदन दिएर स्वीकृत हुनेहरुको संख्या विगतको तुलनामा बढ्दै गएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरी र डिपार्टमेन्ट अफ स्टेटको तथ्यांक अनुशार सन् २०१६ मा यसरी स्वीकृत हुने नेपालीहरु ५८ जना रहेका थिए भने अघिल्लो बर्ष ३० जना नेपालबाटै स्वीकृत भएका थिए । सन् २०१४ मा नेपालबाटै आवेदन दिएर स्वीकृत हुनेहरुको संख्या २४ थियो भने सन् २०१३ मा ३३ ।

कुन बर्ष कति नेपालीलाई अतिदक्ष श्रेणीमा ग्रिनकार्ड ?

सन् २०१६ मा नेपालबाटै यो श्रेणीको ग्रिनकार्डको लागि आवेदन गरेर अमेरिका आउनेहरु नेपालीहरुको संख्या ५८ रहेको थियो भने अमेरिकामा अन्य भिसामा आएर यो श्रेणीमा आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरु पनि त्यतीकै हाराहारीमा रहेका थिए । त्यस्तै सन् २०१५ मा नेपालबाट आवेदन दिएर यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नेहरु ३० जना रहेका थिए भने अमेरिका आइसकेपछि आवेदन गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरुको संख्या ४६ रहेको थियो ।

यसरी हेर्दा नेपालबाटै यो श्रेणीमा ग्रिनकार्डका लागि आवेदन दिने र स्वीकृत हुनेहरुको संख्या बढ्दै गएको देखिन्छ । किनभने सन् २०१४ मा जम्मा २४ जनाले नेपालबाटै यो श्रेणीमा ग्रिनकार्डका लागि दिएको आवेदन स्वीकृत भएको थियो । सन् २०१४ मा अमेरिका आइसकेपछि यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएर स्वीकृत हुनेहरुको संख्या जम्मा ४० रहेको थियो ।

त्यस्तै सन् २०१३ मा असाधारण योग्यता प्रमाणित गरेर ग्रिनकार्ड लिने नेपालीहरु ९७ जना रहेका थिए । जसमध्ये ६४ जना पहिले नै अमेरिकामा आएर आवेदन दिनेहरु थिए भने ३३ जना नेपालमै आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए । त्यस्तै सन् २०१२ मा असाधारण योग्यता प्रमाणित गरेर ग्रिनकार्ड लिने नेपालीहरु ७९ जना रहेका थिए । जसमध्ये ३० जना नेपालमै आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए ।

त्यस्तै २०११ मा विभिन्न भिसामा अमेरिकामा आइसकेका ४८ जना र नेपालमै रहेका ३६ जना गरी ८४ जनालाई असाधारण योग्यताका आधारण ग्रिनकार्ड स्वीकृत गरिएको थियो । सन् २०१० मा असाधारण योग्यता प्रदर्शन गरेर ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरु १ सय ५ जना रहेका थिए । जसमध्ये ४९ जनाले नेपालमै बसीबसी आवेदन दिएर आवेदन स्वीकृत भइसकेपछि अमेरिकामा आएर ग्रिनकार्ड लिएका थिए ।

त्यस्तै सन् २००९ मा १ सय ६ जनाले नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरे । जसमध्ये १७ जना नेपालमै बसेर आवेदन दिनेहरु थिए । अघिल्लो वर्ष सन् २००८ मा ८३ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । जसमध्ये १९ जनाले नेपालमै बसेर आवेदन दिएपछि स्वीकृत हुनासाथ अमेरिकामा आएर ग्रिनकार्ड लिएका थिए । यो वर्ष विश्वभरबाट ३६ हजार ५ सय ८४ जनाले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड लिएका थिए ।

त्यस्तै सन् २००७ मा यसरी ग्रिनकार्ड पाउने नेपालीहरु ७१ जना रहेका थिए । जसमध्ये २१ जना नेपालबाटै आवेदन दिएर ग्रिनकार्ड स्वीकृत हुनेहरु रहेका थिए । सन् २००६ मा १ सय नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेकोमा नेपालमै बसेर आवेदन स्वीकृत हुने जम्मा ७ जना रहेका थिए ।

सन् २००५ मा १ सय १ जना नेपालीले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरे । जसमध्ये नेपालमै बसेर आवेदन दिने र ग्रिनकार्ड स्वीकृत भएपछि अमेरिकामा आउनेहरु ६ जना रहेका थिए । त्यस्तै सन् २००४ मा २७ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाए । जसमध्ये जम्मा ४ जना नेपालमै बसेर आवेदन स्वीकृत हुने र पछि अमेरिकामा आएर ग्रिनकार्ड लिनेहरु रहेका थिए ।

त्यस्तै सन् २००३ मा जम्मा १५ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेका थिए । जसमध्ये नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु ५ जना रहेका थिए । त्यस्तै सन् २००२ मा जम्मा २९ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाएकोमा नेपालमा बसेर आवेदन दिने र स्वीकृत हुनेहरु ३ जना रहेका थिए । सन् २००१ मा ३८ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ग्रिनकार्ड प्राप्त गरेकोमा १६ जना नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु रहेका थिए । त्यस्तै सन् २००० मा असाधारण योग्यताका आधारमा ग्रिनकार्ड पाउने नेपालीहरु २६ जना रहेका थिए । यो वर्ष नेपालमै बसेर आवेदन दिने र स्वीकृत हुनेहरु जम्मा २ जना रहेका थिए ।

के हो असाधारण योग्यता ?
असाधारण योग्यताको आधारमा ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । कुनै व्यक्तिले राष्ट्रिय स्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, आफ्नै क्षेत्रको कुनै प्रतिष्ठित संस्थामा सदस्य रहेको, राष्ट्रिय पत्रिकामा उसको बारेमा सामाग्रीहरु प्रकाशित भएको, कुनै प्रतियोगितामा निर्णायक मण्डलमा रहेर काम गरेको, आफ्नै क्षेत्रको सन्दर्भमा राष्ट्रिय प्रकाशनमा विशेष प्रकारको लेख लेखेको, कुनै विशिष्ट क्षेत्रमा वैज्ञानिक, बौद्धिक, कलात्मक, खेलबाट वा विजनेश सम्बन्धित विशिष्ट योगदान दिएको, कलाकार भएको खण्डमा उसको कला प्रर्दशनीमा राखिएको, कुनै संगठनमा बसेर नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेलेको, आफ्नो क्षेत्रको काममा उच्च तलब प्राप्त गरेको र कलाकार भएको खण्डमा उसले व्यवसायिक रुपमा सफलता प्राप्त गरेको १० वटा बुँदाहरुमध्ये ३ वटामात्रै बुँदा प्रमाणित गर्न सकेको खण्डमा त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ ।

यदि कुनै व्यक्ति कलाकार, पत्रकार वा खेलाडी नभई असाधारण योग्यताको प्राध्यापक वा शोधकर्ता छ भनेपनि उसले असाधारण योग्यताका आधारमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । तर त्यसका लागि उसले विभिन्न ६ वटामध्ये २ वटा मापदण्ड प्रमाणित गर्न सक्नुपर्छ । आफ्नो क्षेत्रका आधारमा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, उसको क्षमताका कारण सम्बन्धित संस्थामा सदस्यता प्राप्त गरेको, उसको बारेमा राष्ट्रिय स्तरका संचारमाध्यममा प्रकाशित भएको, आफ्नै क्षेत्रको काममा निर्णायक मण्डलमा रहेर काम गरेको, ओरिजिनल रिसर्च गरेको, आफ्नो क्षेत्रमा पुस्तक निकालेको वा कुनै जर्नलमा लेखहरु लेखेकोमध्ये दुईवटा विषय प्रमाणित गर्न सक्ने प्राध्यापक वा शोधकर्ताले पनि विशिष्ट श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने युएससीआईएसले जनाएको छ ।

त्यस्तै बहुराष्ट्रिय कम्पनीमा मेनेजर वा कार्यकारी पदमा रहेकाहरुले निश्चित मापदण्डहरु पूरा गरेपछि यो क्याटेगोरी अन्तरगत ग्रिनकार्ड प्राप्त गर्छन् । तर त्यसका लागि अमेरिकाबाहिर कम्तीमा ३ बर्ष काम गरेको र जुन कम्पनीबाट अमेरिका आउन खोजेको छ त्यसमा कम्तीमा एकबर्ष काम थरेको हुनुपर्छ । त्यस्तै अमेरिकामा रहेको कम्पनीका तर्फबाट आवेदन दिनुपर्छ भने अमेरिकामा रहेको कम्पनी कम्तीमा एकबर्ष पुरानो र विदेशमा रहेको कम्पनीसँग सम्बन्धित हुनुपर्छ ।

यथाशीघ्र फाइल गर्न सुझाव

केही विधयेहरु सदनमा छन्, केही कार्यकारी आदेशहरुका ड्राफ्टहरु आएका छन् । विधयेक अनुशार इबी वानको लागि प्रदान गरिएको देशब्यापी कोटा हटाउने तयारी पनि भइरहेको छ । सबैदेशलाई बराबर कोटा राख्दा नेपालजस्तो सानो देशलाई फाइदा भएको थियो । कोटा हटाइयो भने नेपालजस्तो देशलाई घाटा र ठूला देशलाई फाइदा हुने कानुन व्यवसायीको भनाई छ । त्यसैले ईबीवानमार्फत ग्रिनकार्ड फाइल गर्न चाहनेहरुले नयाँ नियम नआउँदै यथाशीघ्र गर्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com