तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

राजनीतिक दलहरुबीच निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा अनौपचारिक सहमति भएको छ । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा दलहरुबीच सहमति भएको हो ।

दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा यस विषयमा सहमति भएपछि समितिले विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

राज्य व्यवस्था समितिमा विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयकको छलफलमा कांग्रेस, एमाले, माओवादी र राप्रपा थ्रेसहोल्डको विषयमा एकमत देखिएका हुन् । तीन प्रतिशत समानुपातिकमा र १ सिट प्रत्यक्षतर्फ अनिवार्य जित्नुपर्ने व्यवस्थासहितको प्रतिवेदन संसदमा पेस हुने भएको छ ।

संसदमा विधेयक कहिले पठाउने भन्ने विषयमा भने समिति निर्णयमा पुगिसकेको छैन । बमधेसवादी दलहरूसमेत यो व्यवस्थामा सहमत देखिएका छन् । तर, यो विधेयक पारित गर्नु भन्दा पहिला संविधान संशोधन विधेयक पारित गर्नुपर्ने उनीहरूको अडान छ । संघीय समाजवादी फोरमका

प्रमुख सचेतक डा. शिवजी यादवले थ्रेसहोल्डमा मोर्चाको कुनै असहमति नभए पनि संविधान संशोधन विधेयक पहिला पारित गर्नुपर्ने अडान यथावत् रहेको बताए ।

अन्य साना राजनीतिक दलले भने लोकतन्त्रमा थ्रेसहोल्ड राखेर जनताको आवाजलाई छेकवार गर्ने ठूला दलको षड्यन्त्र भएको आरोप लगाएका छन । निर्वाचन र दलहरुलाई व्यवस्थापन गर्न थ्रेसहोल्ड अनिवाय भएको निर्वाचन आयोगले बताएको छ । अहिले आयोगमा एक सय ११ दल दर्ता छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com