भ्यालेन्टाइन्स डेमा के-केहुन सक्छन् गिफ्ट ?


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

प्रेमजोडीहरूले विभिन्न उपहार आदान–प्रदान गरी माया साटासाट गर्ने गर्छन् । कतिपयले यही दिनलाई रोजेर आफूलाई मनपरेको व्यक्तिसामु प्रेम प्रस्ताव पनि राख्ने गर्छन् । हिजोआज भ्यालेन्टाइन्स डे नजिकिएसँगै गिफ्ट र फूल पसलमा उपहार किन्नेको भीड लाग्ने गरेको छ । साथै त्यस्ता पसल पनि भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर सजिन थालेका छन् । यही भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर लाखौँ मूल्यबाराबरको गुलाफको आयात हुने गरेको छ । भ्यालेन्टाइन्से डेको दिन प्रेमीप्रेमिकाले माया साटासाट गर्न आफ्नो रोजाइअनुसारको गिफ्ट दिने चलन छ । प्रेमीप्रेमिकाले कस्ता उपहार आदानप्रदान गर्छन् र त्यो गर्नुको कारण के हो त ?

गुलाफ
भ्यालेन्टाइन्स डेको दिन सबैले आफ्नो प्रेमीप्रेमिका वा आफूलाई मनपर्ने व्यक्तिलाई रातो गुलाफको फूल दिने चलन छ । रातो गुलाफको फूलले सम्बन्धमा निखारता थप्ने विश्वास छ । साथीको हिसाबले दिनुपर्दा पहेँलो गुलाफको फूल दिइन्छ । रातो रङको गुलाफको फूल दिइएको व्यक्तिले सहर्ष स्वीकार गर्‍यो भने ऊ माया गास्न इच्छुक छ भन्ने बुझ्नुपर्छ ।

टेडी बियर
भ्यालेन्टाइन्स डेको दिन प्रेमीप्रेमिकाले एकआपसमा टेडी आदानप्रदान गर्ने गर्छन् । टेडी एकदमै कोमल हुने हुँदा आफ्नो सम्बन्धलाई कोमल र मजबुत बनाउनका लागि प्रेम जोडीले प्रेम प्रतीकका रूपमा टेडी बियर आदानप्रदान गर्ने गर्छन् ।

ब्रासलेट
ब्रासलेट भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हो । विभिन्न धातुबाट तयार हुने ब्रासलेट आफ्नो क्षमताअनुसार खरिद गर्न सकिन्छ । प्रेमीप्रेमिकालाई ब्रासलेट दिँदा यसको आकार र डिजाइनमा पनि ध्यान दिनु त्यत्तिकै जरुरी रहन्छ । ब्रासलेट उपहार दिनाले प्रेमलाई जीवन्त एवं स्मरणीय राख्न मद्दत गर्छ ।

चकलेट
गुलाफ मात्र नभएर प्रेमीप्रेमिकाले चकलेट पनि उपहार स्वरूप आदानप्रदान गर्ने गर्छन् । यसरी चकलेट दिँदा माया बढ्ने र सम्बन्धमा मिठास थपिन्छ भन्ने विश्वास युवायुवतीमाझ रहँदै आएको छ ।

ग्याजेट्स
भ्यालेन्टाइन्स डेमा उपहारस्वरूप ग्याजेट पनि दिन सकिन्छ । ग्याजेट दिँदा प्रेमीप्रेमीकालाई केको आवश्यकता परेको छ त्यसको महसुस गरेर दिँदा राम्रो हुन्छ । जस्तै, मोबाइल, ल्यापटप, आइफोन, आइप्याड दिन सकिन्छ ।

फेसनेबल पहिरन
भ्यालेन्टाइन्स डेमा आफ्नो प्रेमीप्रेमिकालाई फेसनेबल पहिरन दिने चलन पनि छ । यसरी बजारमा आएका फेसनेबल पहिरन प्रेमीप्रेमिकालाई दिनु उत्तम मानिन्छ । यसरी फेसनेबल पहिरन दिँदा मनमा उत्साह एवं प्रेममा प्रगाढता ल्याउने विश्वास छ ।

पुस्तक
हिजोआज भ्यालेन्टाइन्स डेमा पुस्तक दिने चलन बढ्दै गएको छ । पुस्तक दिँदा प्रेमीप्रेमिकाको रुचि बुझ्न जरुरी छ । पुस्तक दिँदा अश्लील प्रकृतिका पुस्तक भने दिनुहुँदैन । यसले प्रेम सम्बन्धमा दरार ल्याउन सक्छ ।

यसैगरी मुटुको आकार भएको घडी, औँठी, मग, फोटोफ्रेम पनि भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हुन सक्छ । यसरी आफ्नो रोजाइअनुसारको उपहार प्रेमीप्रेमिकाले एकआपसमा आदानप्रदान गर्दा प्रेमको गाँठो कसिँदै जान्छ । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com