न्युयोर्कमा भारी हिमपात, जान्नैपर्ने ६ कुराहरु


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

न्युयोर्कमा भइरहेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ । न्युयोर्क, न्युजर्सी, हड्सन भ्याली, लंग आइल्याण्ड र कनेक्टिकट लगायतका क्षेत्रमा १२ इन्चसम्म हिमपात हुने मौसमविदहरुले जानकारी दिएका छन् ।

१ – हिमपातका कारण न्युयोर्कका सबै विद्यालयहरु बन्द गरिएका छन् भने सरकारी कामकाज पनि प्रभावित भएको छ । त्यसैले तपाईको कुनै सरकारी कामकाज छ भने आज नहुने भएको छ । अदालतका सुनुवाईहरु पनि स्थगित भएका छन् ।

२ – १, २, ३, ४ , ५, ए र एन ट्रेनहरु प्रभावित हुनुका साथै ढिलो तालिकामा चलिरहेका छन् । त्यसैले घरबाहिर यात्रा गर्ने योजनामा हुनुहुन्छ भने सकभर यी ट्रेनहरुको साटो अरु ट्रेनहरु प्रयोग गर्नुहोला । यी ट्रेनहरु चढ्नैपर्ने भएमा समयको मार्जिन राखेर यात्रा गर्नुहोला ।

३ – न्यु ईंग्लाण्डमा १८ इन्चसम्म हिमपात हुने मौसमविदहरुले बताएका छन् । न्युयोर्कमा हिमआँधीको पनि चेतावनी दिइएको छ । बेलुका ६ बजेसम्म हिमआँधीको चेतावनी दिइएको छ । बेलुका ६ बजेसम्म अनावश्यक रुपमा घरबाहिर यात्रा नगर्न सुझाव दिइएको छ । त्यसैले यो समयमा घरभित्र नै बस्दा राम्रो ।
४-  हिमपातका कारण नेवार्क, जोन अफ केनेडी र ला गुवार्डिया विमानस्थलमा उडानहरु प्रभावित भइरहेका छन् । झण्डै १७ सय वटा अर्थात् आधा उडानहरु रद्द भएको जनाइएको छ । त्यसैले आज सकभर उडानको योजना नबनाउनु नै बेस । बनाउनुभएको छ भने राम्रोसँग तालिका चेक गर्नुहोला ।

५ – लंग आइल्याण्ड रेड रोडमा ट्रेनहरु प्रभावित भएका छन् भने ट्रेनको तालिका ढिलो भइरहेको छ । न्युजर्सी ट्रान्जिट र मेट्रो नर्थ ट्रेनपनि ढिलो तालिकामा चलिरहेका छन् । सिटी बाइक बन्द भएको छ भने भिजिविलिटी कम भएका कारण स्टेटन आइल्याण्ड फेरी पनि हरेक २० मिनेटमा मात्र चलिरहेको छ । त्यसैले यात्रा गर्दा यी ट्रेनहरुको तालिका अवश्य हेरेरमात्र घरबाट बाहिर निस्क्नुहोला ।

६ – न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ सेनिटेशनका अनुशार हरेक घण्टामा २ देखि ३ इन्चसम्म हिमपात भइरहेको छ । न्युयोर्क सहरमा २३ सय वटा हिउँ सोहोर्ने र नुन छर्ने गाडीहरु परिचालन गरिएको छ । तर बाटो चिप्लो भएकाले सकभर गाडी नचलाउनुहोला । चलाउनैपर्ने भएमा विशेष सावधानी अपनाउनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com