विकासकाे माग गर्दै सात दिनदेखि शर्मा अनशनमा


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन आज सातौं दिन पनि जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाँ शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ २० गतेदेखि आमरण अनसन बसेका छन् ।

उनीहरुले जनकपुरस्थित जानकी मन्दिर परिसरका जमिनको व्यवस्थापन, संरक्षण लगायतका माग राख्दै आमरण अनसनमा सुरु गर्नुभएको छ । अनसनरत शर्मा र राईनले आधुनिक जनकपुर निर्माणका लागि ७ बुँदे मागसहित बुधवार सातौं दिन पनि अनसन जारी राखेका छन् ।

उनीहरु जनकपुरस्थित जानकी मन्दिर परिसरको हजारौं विघा सार्वजनिक जमिनहरुको संरक्षण र व्यवस्थापन गर्नुपर्ने, जानकी मन्दिरलाई ट्रष्टको रुपमा परिणत गरी विश्व सम्पदाको सूचीमा सूचिकृत गर्नुपर्ने, जनकपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु गरेका छन् ।

त्यस्तै जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, पाँच सय सैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्व विद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्न गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अनसन जारी राखेका हुन् ।

माग पूरा गर्नका लागि प्रधानमन्त्री, स्थानीय विकास मन्त्री, स्वास्थ्यमन्त्री, प्रशासन कार्यालय सबैसमक्ष ज्ञापन पत्र बुझाइएको अनसनकर्ता बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्माले जानकारी दिए ।
उनले सोही माग पूरा गर्नका लागि दबाब स्वरुप स्थानीयहरुबाट एक लाख हस्ताक्षर संकलन गरी बुझाइनेसमेत बताए ।

आधुनिक जनकपुर निर्माणका लागि भन्दै स्थानीय रुपमा क्रियाशील सबै राजनितिक दलहरु, समाजिक संघसंस्था, युवा क्लवहरु, युवा संघर्ष समिति, नागरिक समाज, पत्रकार तथा सञ्चारकर्मीहरु सम्मिलित १०१ सदस्यीय संघर्ष समिति बनाएर संघर्ष जारी राखेको संघर्ष समितिका संयोजक शर्माले बताए ।

अनसन छैटौं दिन पुग्दा अनसनकर्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर देखा परेको र स्वास्थ्यस्थिति कमजोर बन्दै गएको आन्दोलनको व्यवस्थापन तथा अनसनकर्ताको सहयोगीको रुपमा खट्दै आएकी अभियन्ता इन्दु शर्माले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com