खातामा पैसा छ, झिकिदिने मान्छे छैनन्


प्रकाशित मिति : माघ २२, २०७३ शनिबार

पढाई लेखाई नहुँदा सिरहाका महिलालाई बैंकमा कारोबार गर्न समस्या भइरहेको छ ।

यमुना खनाल

सिरहा सोठियाईनकी अरुलिया देवी कामैतलाई विदेशमा भएका श्रीमानले हरेक महिना पैसा पठाउँछन् । तर, श्रीमानले विदेशमा दुःख गरि पठाएको पैसा पाउन उनलाई पनि त्यतिकै दुःख भोग्नुपर्छ । कारण, उनी पढेलेखेकी छैनन् । श्रीमानले कमाएको पैसा मनि ट्रा न्फरबाट अरुलियाको नाममा पठाउँछन्, उनी चाहिँ खाताबाट पैसा झिकिदिने मानिस खोज्न थाल्छिन् ।

आएको पैसा निकाल्न र बैंकमा जम्मा गर्न अरुलियालाई निकै मुश्किल पर्छ । आफ्नो नाम समेत लेख्न नजान्ने अरुलियालाई पैसा झिकिदिने मान्छे खोज्दा कहिले त दिन नै बित्छ । जिल्लास्थित राष्ट्रिय वाणिज्य बैंक परिसरमा भेटिएकी कामैत भन्छिन्, ‘बैंकमा आउने मानिसहरुसँग बैंकको चेक काट्न, भौंचर भरिमाग्नु पर्छ, कहिले त घन्टौं पर्खेपछि मात्रै काम गरिदिन्छन् ।’

आर्थिक कारोबार गोप्य रुपमा गर्नुपर्ने भएपनि पढ्न, लेख्न नजानेपछि अरुकै विश्वासमा काम गर्नुपरेको उनी बताउँछिन् । अरुले आफ्नो गोपनियता थाहा पाउँदा पैसा लिएर जाने डर पनि हुने उनको अनुभव छ ।

लहान नगरपालिकाकी नजमा खातुनको पनि यस्तै समस्या छ । छोराले पठाएको पैसा झिक्न र आफ्नो खातामा राख्न उनलाई बेला बेलामा बैंक आइरहनुपर्छ । बैंक परिसरमै भेटिएकी नजमा बैंकमा आएका सेवाग्राहीलाई भौचर भरिदिन आग्रह गरिरहेकी थिइन् । हातमा पैसा र हरियो रङको भौचर बोकेर यताउता गरिरहेकी उनी बैंकमा खाता भएपनि झिक्न नजानेकोमा दुःखी हुने गर्छिन् ।

‘भन्ने बित्तिकै आफ्नो काम छोडेर अरुको काम कसले गरिदिन्छ र ? नजमा भन्छिन्, ‘नजान्नेले त पर्खनै पर्यो, मेरो सकेर गरिदिन्छु भन्छन्, तर आफ्नो काम सकेपछि हिँडी हाल्छन् ।’

खातुन र कामैत लगायत गाँउका हजारौ अशिक्षित महिला बैंक कारोबार गर्न कठिन मान्दछन् । उनीहरुको बैंक खाता भएपनि कारोबारमा अरुकै भर पर्नुपर्ने बाध्यता छ । यहिकारण बैंकमा आधाजस्तो सेवाग्राही महिला भएपनि कारोबारमा धेरैजसो पुरुष नै देखिन्छन् ।

खाता खोलिदिने बैंकले लेखपढ गर्न नजान्नेका लागि सहयोग गर्ने भन्दा पनि नयाँ खाता खोल्ने, चेक बुक लिनेहरुकै काम गरिरहेका देखिन्छन् । पैसा जम्मा गर्ने र झिक्ने काम व्यक्तिगत भएकाले सहयोग माग्दा पनि कर्मचारीले चासो दिने गर्दैनन् ।

सीतापुरकी गीता शाहलाई पनि हरेक पटक बैंकमा आउँदा यस्तै समस्या हुन्छ । बैंकको ग्राहक सेवाबाट नयाँ खाता खोलेकी गीतालाई त्यहाँबाट अरु सेवा पाउन मुश्किल हुने गर्छ । पैसा भर्न बैंक भौचर भर्नुपर्छ भन्ने मात्र थाहा पाएकी गीता बैंक छिरेपछि कागज भरिदिने मानिस खोज्नमा व्यस्त हुन्छिन् ।

वैदेसिक रोजगारीमा धेरै युवा गएका जिल्लामध्ये सिरहा प्रमुख जिल्लामा पर्दछ । विदेशबाट महिलाको नाममा पैसा आउन थालेपछि महिलाहरुको आर्थिक क्रियाकलाप बढेको छ, तर अशिक्षाको कारण हिसाब किताब गर्न र आएको पैसा झिक्न र सुरक्षित राख्न कठिनाई हुने गरेको छ ।

गाउँमा घरैपिच्छे महिलाको बैंक खाता छ । बैंक कारोबारमा महिलाले अरुको सहयोगमा लिँदा निकै समस्या बेहोरिरहेको स्थानीय अगुवा महिला बिमला खत्री बताउँछिन् । उनका अनुसार वैदेशिक रोजगारीका कारण विदेशबाट पठाएको पैसा झिक्न र राख्न बैंक खाता खोल्नैपर्ने महिलाको बाध्यता छ, तर उनीहरुको अप्ठेरो कसैले बुझ्न सकेका छैनन् । सञ्चारिका फिचरसेवा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com