गर्दनको हाड खिइए फिजियोथेरापी


प्रकाशित मिति : माघ १९, २०७३ बुधबार

 

 

गोमा थापा/ फिजियोथेरापिस्ट, अर्थोपेडिक अस्पताल, जोरपाटी
खानपिन, रहनसहन, चालचलन, आसनलगायत विषयमा ध्यान नदिँदा धेरैलाई शारीरिक समस्याले सताउन थालेको छ । आजकाल धेरै नेपालीलाई गर्दनको हाड खिइने समस्याले सताउन थालेको छ । मानिसले विलासी जीवन जिउने, नियमित रूपमा व्यायाम नगर्ने, स्वास्थ्यको विषयमा ख्याल नगर्ने, समयमा नखाने, हेलचेक्र्याइँ गर्ने, टाउकोलाई तनाव लिने, गहकिलो भारी बोक्ने जस्ता कारणले गर्दनको हाड खिइने समस्या निम्तिन्छ ।

गर्दनको हाड खिइनुलाई शरीरमा देखिएको ठूलो समस्याको रूपमा लिइने गरिन्छ । यस्तो समस्या देखिएमा फिजियोथेरापी नै सबैभन्दा उपयुक्त उपचार विधिका रूपमा लिइने गरिन्छ । गर्दनको हाड खिइने समस्या र समाधानका उपायसम्बन्धी फिजियोथेरापिस्ट गोमा थापाका सुझाब यस्ता छन्ः

गर्दनको हाड खिइँदा देखिने लक्षण
गर्दनमा अत्यधिक पीडा हुन्छ । गर्दनको हाडभित्र, घाँटीको साइडको नसा, गर्दनवरिपरिको मांसपेशी र नसा दुख्ने तथा अत्यधिक पीडा महसुस हुन्छ । नसा तन्किएको जस्तो अररो पनि हुन सक्छ ।

यस्तो भएमा टाउको यताउति चलाउन र मोड्न गाह्रो हुन्छ । यस्तो अवस्थामा दुखेजस्तो, पोलेजस्तो र गर्दन तथा टाउकोमा सियोले घोचेको जस्तो महसुस हुन्छ ।

दुखाइ पिठ्युँसम्म पनि हुने गर्छ । त्यस्तै, पिठ्युँमा पोल्ने र झमझमाउने हुन्छ । गर्दन र काँधको वरिपरि, गर्दनको जोर्नीदेखि हत्केला र औँलाको जोर्नीसम्म पोल्ने, दुख्ने र झमझमाउने समस्या देखापर्छ ।

सामान टिप्न खोज्दा गाह्रो हुन्छ । कलम समाउँदासमाउँदै फुत्कन खोज्ने र हातमा क्रमशः बल हराउँदै जाने हुन्छ । हात उठाउन, तल झार्न र पछाडि लानसमेत समस्या हुन्छ ।

रिंगटा लाग्ने, टाउको भारी हुने, टाउको उचाल्न गाह्रो हुने, टाउको सहनैनसक्ने गरी दुख्ने र चक्कर लाग्ने हुन्छ । यस्तो अवस्थामा मस्तिष्कमा रक्तसञ्चार हुने रक्तनलीमा अनावश्यक दबाबसमेत सिर्जना हुन्छ । गर्दनको हाड बढी खिइएमा त्यसको असर ढाड र खुट्टामा समेत पर्ने देखिन्छ ।

उपचार एवं सतर्कता
गर्दनको हाड खिइने समस्यालाई नियन्त्रण गर्न फिजियोथेरापी उपचार विधि अवलम्बन गर्नुपर्छ । गर्दनको हाड खिइन नदिन अग्लो सिरानी नलगाउने, गहकिलो भारी नबोक्ने, गर्दन बढी झुकाएर काम नगर्ने, ढाडलाई सकेसम्म सीधा पार्ने र गर्दनलाई अनावश्यक दख्खल पुग्ने किसिमका काम गर्नु हुँदैन ।

गर्दनको हाड खिइने समस्यालाई जटिल समस्याको रूपमा लिइन्छ । विशेषज्ञ चिकित्सकसँग आवश्यक सल्लाह लिने र समस्याको समयमै निदान गर्ने गर्नुपर्छ ।

गर्दनको हाड खिइने समस्याले बढी मात्रामा दुखाइ भयो भने तातो वस्तुले सेक्ने, विद्युतीय उपकरण र तापको प्रयोग गरेर सेक्ने तथा पूर्ण रूपले आराम गर्नुपर्ने हुन्छ ।

गर्दनको हाड खिइने समस्या भएका बिरामीले फिजियोथेरापिस्ट र चिकित्सकको सल्लाहबमोजिम गर्दन र टाउकोमा सहज हुने गरी आवश्यक व्यायाम गर्नुपर्छ । तर, त्यस्तो व्यायाम अति सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । गर्दनमा अनावश्यक दख्खल पुग्ने क्रियाकलाप गर्नु हुँदैन । हाड बलियो पार्न शरीरलाई आवश्यक पर्ने पोषण तत्व र रक्षक तत्व भएको खानेकुरामा जोड दिनुपर्छ ।

घाउ, चोटपटक, दुर्घटना, संक्रमण र हर्मोनमा हुने गडबडीबाट जोगिन नियममा बस्ने र त्यस्तो विषयबाट सकेसम्म जोगिने गर्नुपर्छ ।

गर्दनको हाड खिइने कारण
अग्लो सिरानी राखेर सुत्नाले गर्दनको हाड खिइने समस्याले सताउन सक्छ । टिभी हेर्दा, सुत्दा, बस्दालगायतका घरायसी क्रियाकलाप गर्दा कुहिनाले टेकेर टाउको माथि धेरै बेर दख्खल दिँदा पनि गर्दनको हाड खिइने समस्या हुन्छ । हाड बलियो पार्ने पोषण र रक्षक तत्वको शरीरमा कमी भयो भने गर्दनको हाड खिइने समस्या देखापर्छ ।

घाउ, चोटपटक, संक्रमण, दुर्घटना, हर्मोनको गडबडीले गर्दनमा असर पार्दा पनि गर्दनको हाड खिइन्छ । गर्दनमा अनावश्यक भार प¥यो भने पनि गर्दनको हाड खिइने समस्या देखापर्छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com