ट्रम्पको आदेश नमान्ने कार्यकारी महान्यायाधिवक्ता बर्खास्त


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी कार्यकारी महान्यायाधिवक्ता शेली एट्सलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पदबाटै बर्खास्त गरेका छन् । शेलीले सोमबार शरणार्थी अमेरिकाको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी थिइन् ।

ह्वाइट हाउसले एक वक्तब्य जारी गर्दै शेलीले ट्रम्प प्रशासनलाई धोका दिएकाले बर्खास्त गरिएको जनाएको छ । ट्रम्पले डाना जे बोएन्टलाई कार्यकारी महान्याधिवक्ताका रुपमा नियुक्त गरेका छन् । शेलीले ट्रम्पको कार्यकारी आदेशको अमेरिकाको न्याय मन्त्रालयले कुनै प्रतिरक्षा नगर्ने र अमेरिकाको न्याय क्षेत्र सत्य र न्यायको पक्षमा उभिने बताएकी थिइन् ।

शेलीले ओबामा प्रशासनले नियुक्त गरेको थियो । साथै उनले ट्रम्पको कार्यकारी आदेश कानुनी रहेकोमा आफू आश्वस्त नरहेको भन्दै अमेरिकी न्याय मन्त्रालय अन्तरगतका वकिलहरुलाई पत्राचार गरेकी थिइन् ।

ह्वाइट हाउसको वक्तब्यमा भनिएको छ – ‘कार्यकारी महान्यायाधिवक्ता शेली एट्सले अमेरिकी नागरिकको रक्षाका लागि तयार पारिएको कानुनी आदेश कार्यान्वयनका लागि अस्वीकार गरेर डिपार्टमेन्ट अफ जस्टिसलाई धोका दिएकी छिन् । एट्स ओबामा प्रशासनबाट नियुक्त भएकी थिइन् र उनी सिमाको सन्दर्भमा कमजोर र गैरकानुनी अध्यागमनको सन्दर्भमा असाध्यै कमजोर छिन् । यो समय हाम्रो देशको रक्षाको बारेमा असाध्यै गम्भीर हुने समय हो । सात देशमाथिको भिसा प्रतिबन्ध हाम्रो देशको रक्षाका लागि आवश्यक र तार्किक छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com