श्रीमानले मट्टितेल छर्केर आगो लगाईदिएपछि पत्नी अनिशाको अवस्था गम्भीर


प्रकाशित मिति : माघ ७, २०७३ शुक्रबार

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज (१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक सोनखरले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

मदिरा सेवन गरेका राजेन्द्रले पत्नीसँग झगडा गर्दै टुक्कीमा रहेको मट्टितेल शरीरमा छर्केर आगो लगाई फरार भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राजेन्द्र गौतमद्धारा जानकारी दिइएको छ । घटनालगत्तै प्रहरी पुगेर घाइतेलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको बताईएको छ ।

घाइतेलाई भेरी अञ्चल अस्पतालको वर्न वार्डमा भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले अन्यत्रै लैजान अस्पतालले सुझाव दिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण परिवारका सदस्यहरु अन्यौलमा छन्।

घटनालगत्तै फरार भएका राजेन्द्रको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घाइतेको करिब ५० प्रतिशत शरीर जलेको भेरी अञ्चल अस्पतालका डाक्टर रुपानन्द अधिकारीले जानकारी दिएका छन्। घाइते अनिशाको काखमा डेढ वर्षकी छोरी छन्। पति राजेन्द्र ६ महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्केर घर आएको पारिवारिक स्रोतले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com