केटो मभन्दा बढी उमेरकै राम्रो


प्रकाशित मिति : माघ ५, २०७३ बुधबार

हास्यकलाकारिता क्षेत्रमा चर्चित दीपाश्री निरौला ४२ वर्ष पुगिन् । उनले २५ वर्ष कलाकारिता क्षेत्रमा बिताइसकिन् । अभिनयबाट नाम र दाम कमाइसकेकी उनले घर बसाउन अझै बाँकी नै छ । उनको रोजाइमा कस्ता केटा पर्छन् त ? उनले गज्जबका महेश तिमल्सिनासँग आफ्नो रोजाइ यसरी सुनाइन्ः

मेरो करिअरलाई माया गर्ने हुनुपर्छ
पहिला–पहिला त हेर्दा चिटिक्क परेको हेन्डसम अनि मलाई माया गर्ने केटा भए हुन्थ्यो भन्ने सोच्थे । तर, अहिले मलाई मात्र होइन, मेरो करिअरलाई पनि माया गर्ने केटा होस् भन्ने चाहन्छु । १० वर्षकै उमेरदेखि करिअर नै मेरो पूजा हो भनेर लागिरहेकी छु । त्यसैले मेरो करिअरलाई माया नगर्ने केटा मलाई स्विटेबल हुँदैन ।

गहुँगोरो केटा मनपर्छ
जोकोहीलाई पनि पहिलोपटक झट्ट हेर्दा आकर्षित गर्ने भनेको उसको अनुहारले नै हो । तर, मान्छेको अनुहार हेर्दैमा सबै कुरा थाहा हुँदैन । ऊसँग संगत गरेपछि मात्र उसको भित्री कुरा थाहा हुन्छ । त्यसैले व्यावहारिक, अनि नारीलाई सम्मान गर्ने केटा हुनुपर्‍यो । अनुहारचाहिँ गहुँगोरो वर्णको मनपर्छ ।

पेसा जुनसुकै भए पनि ठीक
डाक्टर, इन्जिनियर, कलाकार अथवा कुनै व्यवसायी होस् भन्ने मेरो अपेक्षा छैन । जुनसुकै पेसामा संलग्न भए पनि मैले गरेको काममा हौसला थप्ने, सहयोग गर्ने र मेरो कामलाई सम्मान गर्ने हुनुपर्छ ।

पैसा होइन खुबी हुनुपर्छ
म त्यति धेरै खर्चालु छैन । त्यस्तो खर्चै नगर्ने पनि होइन । मेरो आवश्यकता पूर्ति त गर्नु परिहाल्यो नि । तर, त्यस्तो धेरै पैसा भएको केटा होस् भन्ने मेरो चाहना छैन । अलिअलि पैसा भए हुन्छ । फेरि म अरूको आसमा बस्ने मान्छे होइन । मुख्य कुरा मान्छेसँग पैसाभन्दा सिर्जनात्मक काम गर्न सक्ने खुबी चाहिन्छ ।

मेरै बराबरको उचाइ हुनुपर्‍यो
मलाई मभन्दा अग्लो केटा मन पर्दैन र होचो पनि । म सरहको उचाइ भएको केटा मनपर्छ । अरूले हेर्दा पनि ओहो ! कति सुहाउँदो जोडी भनेर लोभ गरून् न ।

उमेर मेरोभन्दा बढी भए राम्रो
हुन त मेरो पनि उमेर त बढी नै भइसक्यो । अब पनि आफ्नोभन्दा बढी उमेरको केटा चाहिन्छ भन्दा बूढो केटो पो रोजी भन्लान् । तर, धेरै सम्बन्ध उमेरकै कारणले त्यति राम्रो हुन सकेका छैनन् । सम्बन्धविच्छेदको एउटा कारक उमेर पनि हो जस्तो लाग्छ । मलाई आफूभन्दा कम उमेरको केटा भाइजस्तो लाग्छ, त्यसैले मभन्दा बढी उमेरको केटा नै रुचाउँछु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com