आफ्नै विवाह सम्झदैं राष्ट्रपति सुपुत्रीको विवाहमा ज्ञानेन्द्र (भिडियो)


प्रकाशित मिति : माघ ३, २०७३ सोमबार

विशिष्ट परिवारको वैवाहिक या अन्य कुनै समारोह त्यसै पनि चर्चाको विषय बन्ने गर्दछ । राष्ट्रपति विद्यादेबी भण्डारीकी कान्छी छोरी, निशाकुसुम भण्डारीको विवाह एक फरक प्रसंगले चर्चाको विषय बन्न पुग्यो । निशाकुसुमको विवाहमा, पूर्वराजा ज्ञानेन्द्र पनि आर्शिवाद दिन पुगेका थिए । यो विषय अहिले चर्चामा छ ।

२०६२/६३ को जनआन्दोलनको बलमा तत्कालिन श्री ५ महाराजधीराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव २ सय ४० वर्ष पुरानो सत्ता लिगेसी त्याग्न बाध्य भए  । जनआन्दोलनपछि २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भयो । गणतन्त्र घोषणासँगै ज्ञानेन्द्र शाह पूर्वराजामा मात्रै सीमित भएनन्, नारायणहीटी नै छोडेर नार्गाजुन सर्न बाध्य भए ।

आम नागरिकको रुपमा नार्गाजुन सरेका ज्ञानेन्द्र बेला–बेला पुरानै शैलीमा अभिव्यक्तिहरु दिएर चर्चामा भने आइरहने गरेका छन् । तर, उनी नार्गाजुन सरेको करिव ९ वर्षसम्म कुनै पनि सरकारी स्तरका समारोहमा सहभागी भएनन् । यतिसम्म कि आम नागरिककै हैसियतामा रहे पनि कुनै सरकारी कार्यालय या निवास पुगेका थिएनन् । तर, सोमबार यस्तो एउटा संयोग जुर्यो, पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गरे ।

पूर्वराजा शाह, राष्ट्रपति बिद्यादेवी भण्डारीकी कान्छी सुपुत्री निशाकुसुम भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवका भतिजा तथा सांसद किरण यादवका सुपुत्र अभिषेक यादवको विवाह भोज खान शितल निवास पुगेका हुन । यो एउटा ऐतिहासिक संयोग बन्न पुगेको छ । गणतन्त्र अघिको राजा र गणतन्त्र पछिको राष्ट्रपति समान अहोदा हो । तर, अर्थमा फरक छ । राष्ट्रपति जनताका प्रतिनिधि हुन भने, राजा पारिवारिक पद हो । शितल निवासमा राष्ट्रपति भण्डारी र पूर्वराजा शाहबीच केही समय कुराकानीसमेत भएको थियो ।

पछिल्लो समय पूर्वराजा शाह आक्रामक अभिव्यक्तिहरु दिइरहेका छन् । शाहका पछिल्ला अभिव्यक्तिहरुले पुरानै शैलीमा देश आफुले नै हाँकिरहेझै आभास गराउँछ । यस्तो अवस्थामा पूर्वराजाको शितल निवास प्रवेशको संकेत के हुन सक्ला ? संयोग या कुनै प्रपन्चको तयारी ? होइन, यसरी नसोच्ने हो भने उनी, आम नागरिककै रुपमा विवाह भोज खान मात्रै शितल निवास पुगेका हुन् ? सामान्य नागरिकमा परिणत भएको करिव ९ वर्षपछि ज्ञानेन्द्र शितल निवास प्रवेश गरेको विषय सर्वत्र चर्चाको विषय बन्नु अस्वभाविक होइन, चर्चा अवश्य हुन्छ ।

अर्को एउटा संयोग भनौ, आज भन्दा ५० वर्ष अगाडी पूर्वराजा शाहले कोमलसँग यही भवनमा लगनगाँठो कसेका थिए । संयोग पनि कस्तो, उस्तै लगनगाँठो हेर्न पूर्वराजा ज्ञानेन्द्र शितल निवास पुगे । सायद, पूर्वराजा ज्ञानेन्द्र विगत सम्झन अवश्य बाध्य भए । सम्झे होलान, आफु दुलाह र कोमल दुलही भएको त्यो पल ।

पूर्व राजा भएछि ज्ञानेन्द्र शाहलाई विशिष्ट परिवारको विवाह या अन्य थुप्रै समारोहमा अवश्य निम्तो भएकै थियो । तर, सायदै निम्तोहरुमा मात्र उनी सरिक भए । तर, राष्ट्रपति पुत्रीको विवाहको निम्तो भने उनले सहजै स्वीकारे र विवाह भोज खाएर फर्किए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com