दासतापछिको छलाङ

चार पूर्वकमलरीको जीवनकथाले भन्छ– मौका पाए काम गरेर देखाउन तत्पर छन् थारू समुदायका छोरी ।
दुर्गालाल केसी
अनिशा थारू आठ वर्षकी थिइन् । घरमा २५ गाई र १५ सुंगुर थिए । बर्दियाको गुलरिया– १० थपुवामा एउटा सानो घर र पाँच कट्ठा जग्गा थियो । अनिशा गाई चराउन जान्थिन्, सुंगुरको हेरदेख गर्थिन् । उनी पढ्न चाहन्थिन्, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव थिएन ।
सम्पत्ति थोरै भएको र आर्थिक अभाव भएको भन्दै आमाबुबाले अनिशालाई पढाउन मानेनन् । त्यति नै बेला गाउँकै एक जमिनदारले पढाइदिने आश्वासन दिँदै कमलरी बस्न अनुरोध गरे । पढ्ने रहर पूरा गर्न उनी नौ वर्षकै उमेरमा कमलरी बस्न बाध्य भइन् । ‘अनि सुरु भए दुःखका दिन,’ अनिशाले बाल्यकाल सम्झिएर भनिन्, ‘काम गर्न बसेको घर आफ्नोजस्तो थिएन । बिहान चार बजे उठेर राति ११ बजेसम्म काम गर्नुपथ्र्यो ।’
काम गर्दै पढ्दै गरेर सात कक्षासम्म पुगिन् । एक रात मालिकको छोराले यौन दुव्र्यवहारको प्रयास गरेपछि उनी रातारात घर पुगिन् । ६ वर्षपछि ०५८ मा कमलरी जीवनबाट मुक्त भएर उनी आठ कक्षामा भर्ना भइन् । यहीँबाट सुरु भयो उनको जीवनको
अर्को मोड ।

घरमा आएपछि उनलाई आर्थिक अभावका कारण कमलरी बस्नुपरेको सम्झना भयो । दिदीहरू फूलबासनी र चन्द्रानीसँग आयआर्जनका उपायबारे सल्लाह गरिन् । अन्ततः जग्गा अधियाँ लगाएर त्यसैमा मिहिनेत गर्ने योजना बन्यो । बुबा प्रसाद थारूको अनिशा चार कक्षा पढ्ने बेलामा नै मृत्यु भइसकेको थियो । आमा जिरियालाई घर–व्यवहार भ्याइनभ्याई थियो ।

एक मात्र दाजुका मुटुका दुवै भल्भ खराब भएर फेर्नुपर्ने भएको थियो । घरमा काम गर्न सक्ने कोही थिएन, खेतीपातीका लागि पनि कठिन थियो । ‘जोत्ने मान्छे थिएन, कामदार लगाउँदा पैसा थिएन,’ अनिशाले भनिन्, ‘केही उपाय नलागेपछि हामी तीन बहिनी नै कस्सियौँ । साहिँली दिदीले जोत्न थाल्नुभयो, हामी खन्ने र रोप्ने ।’

अनिशा दिनरात खेतमा काम गर्थिन् । हतारहतार खाना पकाई खाएर पढ्न जान्थिन् । ‘पढाइलाई निरन्तरता दिँदै खेतीपातीमा रातदिन लाग्यौँ । खेत कहिलै पनि खाली राखेनौँ, हरेक सिजनमा केही न केही बाली लगायौँ,’ उनले भनिन्, ‘धान, तोरी, मकै, मेन्था, सागपात लगाएर बाह्रैमहिना खेतको सदुपयोग ग-यौँ ।’ एक–दुई वर्षपछि उनीहरू घरमा खाएर पनि अनाज बेच्ने हैसियतमा पुगे । ‘साहिँली दिदी राँगाले तान्ने ठेला गाडा हाँक्नुहुन्थ्यो, म पछाडि बसेर गुलरिया बजारमा धान, गहुँ, मुसुरो बेच्न लैजान्थेँ,’ उनले भनिन्, ‘बजारमा व्यापारीहरू हामीले गाडा चलाएर अन्न बेचेको देखेर अचम्म मान्थे, बाटोमा लाइन लागेर हेर्थे ।’

बिस्तारै पैसा बचत हुन थाल्यो । यसबीचमा ऋणसमेत लिएर चार लाख रुपैयाँ खर्चमा दाइको मुटुका भल्भ फेरिन् । अहिले दाइको उपचारमा लागेको ऋण तिरेर पाँच लाख रुपैयाँ बचत गरेकी छिन् । यसबाट उनले गाउँमा साढे तीन बिघा र गुलरिया बजारमै १५ धुर जग्गा किनेकी छिन् । अब बजारमै घर बनाउने योजना रहेको उनले बताइन् । यसै वर्षदेखि उनले अर्काको अधिया गर्न छोडेर आफ्नै खेत जोत्न थालेकी छिन् ।

अहिले अनिशा शिक्षाशास्त्रमा अङ्ग्रेजी विषय लिएर १२ कक्षा पढिरहेकी छिन् । १९ वर्षीया अनिशाले मुक्त कमलरी विकास मञ्चमा मुक्त कमलरीलाई काउन्सिलिङ गर्ने काममा रोजगार पनि पाएकी छिन् । ‘गाउँ–गाउँ पुगेर मुक्त कमलरी साथीहरूको समूह बनाउँछु । पूर्वकमलरीका केही समस्या भए छलफल गर्ने र सफल काम गर्न प्रेरणा दिने काम गर्छु,’ अनिशाले भनिन्, ‘कमलरी बस्दा भएका दुव्र्यवहारको त्रासबाट कसरी मुक्त हुने भन्ने विषयमा साथीहरूलाई सल्लाह दिने गरेकी छु ।’ अहिले थारू महिला सङ्घको बर्दिया जिल्ला
अध्यक्ष भएर उनले नेतृत्वको जिम्मेवारीसमेत सम्हालिरहेकी छिन् ।

दासतापछिको जीवनमा अचम्मलाग्दो परिवर्तन भोग्ने अर्की कमलरी हुन्– नारायणपुर– ६ बेलुवा कैलालीकी २० वर्षीया सीता चौधरी । उनी बिहानै उठेर टीकापुर बजार पुग्छिन् र साइकलमा ३०/३५ वटा ब्रोइलर कुखुरा बोकेर घर फर्कन्छिन् । गाउँमा खोजेर बंगुर काट्छिन् अनि भारतीय सीमाक्षेत्रबाट माछा ल्याउँछिन् । उज्यालो हुने बेला उनले मासु बेच्न सुरु गरिसकेकी हुन्छिन् । हाफपाइन्ट र हाफ टिसर्टमा निकै फुर्तिली देखिने सीताले दिनमा ३५ कुखुरा, २५ किलो बंगुरको मासु र १४ किलो माछा बिक्री गर्छिन् । ‘खर्च कटाएर दैनिक तीन हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ,’ उनले भनिन्, ‘दिनहुँ विभिन्न समूहमा बचत गर्ने गरेकी छु ।’

सीता नेपालगञ्जमा १० वर्ष कमलरी बसेर तीन वर्षअघि मात्र मुक्त भएकी थिइन् । मुक्त भएलगत्तै १० हजार रुपैयाँ ऋण लिएर व्यवसाय थालेकी सीता अहिले निकै व्यस्त मासु–व्यवसायी भएकी छिन् । मुक्त कमलरीले गठन गरेको सहकारीबाट ऋण पाइन्छ भन्ने थाहा पाएपछि एक सय २५ रुपैयाँ तिरेर उनी सदस्य भएकी थिइन् । अहिले उनी सहकारीको कोषाध्यक्ष छन् । उनी व्यवसायमा व्यस्त भएकाले विद्यालय गएर नियमित पढ्न पाउँदैनिन्, तर ऐच्छिक विषय अङ्ग्रेजी लिएर १२ कक्षाको परीक्षा दिने तयारीमा छन् । कक्षा
नलिएर पनि ११ कक्षा उत्तीर्ण भएकोमा उनी आफैँ दङ्ग छिन् ।

उनले मासु बेचेर तीन वर्षमा कमाएको रकमले भर्खरै दुई बिघा जग्गा किनेकी छिन् । दुई कक्षा पढ्दै गरेकी छोरीलाई कमलरी पठाएको दिन सम्झँदा बुबा गंगाराम अहिले पश्चात्ताप गर्छन् । ‘पाँच कट्ठा मात्र जग्गा थियो । त्यतिबेला खान पुग्दैनथ्यो, त्यही भएर कमलरी पठाइयो,’ उनले भने, ‘तर, अहिले छोरीले तीन वर्ष काम गरेर हामीलाई जग्गाधनी बनाई । पढाइमा पनि राम्रै गरेकी छ । कमलरी पठाएकोमा पश्चात्ताप हुन्छ ।’

आर्थिक अभावकै कारण कमलरी बस्नुपरेको बुझेपछि सीता आयआर्जनको काममा रातदिन खटिएकी हुन् । ‘कमलरी बस्दा कतिखेर घरबाहिर निस्कन पाइएला भन्ने छटपटी हुन्थ्यो । चाडपर्वमा समेत आफ्नो घरमा जान पाइँदैनथ्यो । त्यही पीडा सम्झेर दुःख गरियो । आफ्नै मिहिनेतले जीवन परिवर्तन गर्न सकिँदोरहेछ,’ उनले भनिन्, ‘कमलरी राख्ने अभिभावकले यो कुरा बुझ्न जरुरी छ । म अन्य बहिनीलाई पनि आयआर्जनका काममा लाग्न प्रेरित गरिरहेकी छु । छोरीलाई दासताबाट मुक्त गर्नैपर्छ ।’ उनका दुई दिदी पनि सिलाइकटाइ व्यवसाय सञ्चालन गरिरहेका छन् । सीताको श्रम देखेर गाउँघरका अन्य थारू परिवार पनि यस्तै आयमूलक काममा प्रेरित भएका छन् ।

गुलरिया– ५ बेचइपुर बर्दियाकी २१ वर्षीया अस्मिता चौधरी पनि गाउँमै पाँच वर्ष कमलरी बसिन् । मालिकको घरबाटै विद्यालय जान पाएपछि उनले नौ कक्षासम्म पढिन् । चार वर्षअघि मुक्त भएपछि घरबाटै एसएलसी उत्तीर्ण गरिन् । ११ र १२ कक्षा पढ्ने खर्च नभएपछि आमा माघीले ४० हजार रुपैयाँमा दुहुनो भैंसी बेचिन् । ‘फेरि पनि छोरीलाई कमलरी पठाएर उनको भविष्य बर्बाद पार्न मन लागेन,’ माघीले भनिन्, ‘पढाइ नै ठूलो सम्पत्ति हो भन्ने सोचेर पढ्नमा जोड दिएँ ।’ १२ कक्षा पढेर जागिर पाइने अवस्था नदेखेपछि उनले असहाय नानीहरूको साथी (एफएनसी) संस्थाको सहयोगमा चितवन गएर १५ महिने जेटीए पढिन् ।

अहिले उनले स्वरोजगारमूलक काम थालेकी छिन् । घरमै फलफूलका बिरुवा तयार पारेर बिक्री गर्छिन् । तरकारी खेती गर्छिन् । पुरानो घर बाढीले भत्काइदिएपछि अहिले आफ्नै कमाइले नयाँ घर बनाएकी छिन् । बुबा शमशेर जलबिन्दुका कारण १७ वर्षदेखि दृष्टिविहीन छन् । एकजना उनको हेरचाह गर्न बस्नुपर्छ । ‘पहिले खान पनि पुग्दैनथ्यो । भोकभोकै बस्थ्यौँ,’ शमशेरले भने, ‘अहिले छोरीको कमाइले खान पुगेको छ ।’ अस्मिताकै कमाइले दिदी तेजकुमारी पनि १२ कक्षा पढिरहेकी छिन् । भाइ र बहिनी पनि पढिरहेका छन् ।

सात वर्षकै उमेरमा कमलरी बस्न भारतको पञ्जाव पुगेकी लालबोझी– १ खिमतपुर कैलालीकी मान्ती चौधरीले त्यतिबेला घर फर्कुंला भन्ने पनि सोचेकी थिइनन् । समय सधैँ एकनासको हुँदोरहेनछ । तीन वर्षअघि मुक्त भएकी उनी अहिले गाउँमै विद्युत् वायरिङ र सौन्दर्य सामग्रीको व्यवसाय गर्छिन् । ‘व्यवसायबाट मासिक १६ हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ,’ उनले भनिन्, ‘आफ्नै कमाइमा बाँच्न सक्यो भने गर्व हुँदोरहेछ ।’

तीनमहिने वायरिङको तालिम लिएपछि उनले नौ महिनाअघि व्यवसाय थालेकी हुन् । मुक्त कमलरीले गठन गरेको सहकारीबाट ६० हजार ऋण लिएर पसल सुरु गरेकी थिइन् । ६ कक्षासम्म पढेकी मान्तीले सबै हिसाब आफैँ हेर्छिन् । श्रीमान् मीनकुमार रोजगारको सिलसिलामा भारत जान्छन् । एक छोरीलाई निजी विद्यालयमा पढाइरहेकी छिन् । उनी वायरिङको काम पनि गर्छिन् । ‘अहिले ब्युटिसियनको तालिम पनि लिइरहेकी छु,’ उनले भनिन्, ‘वायरिङ र ब्युटिसियनको व्यवसाय बढाउने योजना छ ।’

यी चार कमलरी प्रतिनिधिमूलक पात्र हुन् जसले दासतापूर्ण जीवनबाट मुक्ति पाएर समाजमा आफ्नो पहिचान कायम गर्न सफल भएका छन् । अन्य कमलरी र उनीहरूका परिवारलाई आयआर्जनमा लगाउन एक परिवार एक सहकारी सदस्य, एक घर एक व्यापारी र एक घर एक रोजगारीको योजना बनाएको मुक्त कमलरी विकास मञ्चकी पूर्वकेन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले बताइन् । मुक्त कमलरीले अहिले सङ्गठित भएर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा एक हजार ६ सय ५० सदस्य रहेको ३१ सहकारी गठन गरेको र त्यसबाट दुई सय ५० जनाले आयआर्जन गरिरहेको चौधरीले बताइन् ।

पाँच जिल्लामा १२ हजार सात सय ७६ कमलरी मुक्त भइसकेको र त्यसमध्ये पाँच हजार चार सय ५७ कमलरी एक कक्षादेखि स्नातक तहसम्म अध्ययन गरिरहेको उनले बताइन् । ०५६ माघदेखि दाङको गोबरडिहाबाट कमलरी मुक्ति अभियान थालिएको थियो । मुक्ति अभियानका १३ वर्षमा सात सय ४९ ले व्यावसायिक तालिम लिएको र ६० जनाले प्राविधिक शिक्षा लिएको चौधरीले जानकारी दिएकी छिन् । उनका अनुसार अझै पनि पाँच सय १२ कमलरी मुक्त हुन बाँकी छन् । (सञ्चारिका फिचर सेवा)(दुर्गालाल दाङबाट कान्तिपुर दैनिकमा कार्यरत छन्)
 

सोमवार, पुस २५, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री




Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.