पुरुषको नाम, भरिया महिला !

विवाह, ब्रतबन्धलगायतका कार्यक्रममा गरिने औपचारिक निमन्त्रणामा महिलाको नामै हुँदैन । तर पनि ‘सपरिवार’ लेखेको भरमा पुरुषको भरिया भएर कार्यक्रममा पुग्न बाध्य छन् महिला ।
 कुमार लुइटेल

आँगनको एकापट्टि मण्डप थियो । अर्कोपट्टि खाना खुवाउने क्याटरिङ सेवा । ब्यान्ड बाजाका मुख्य गायक नयाँ र पुराना हिन्दी–नेपाली गीत गाउँदै थिए । विवाहको तामझाम निकै भव्य देखिन्थ्यो । खाना खाने, गाना सुन्ने र दुलाहा–दुलहीलाई आशीर्वाद दिनेहरूको बराम भीड । छेवैको टेबुलमा खाता लिएका लेखनदास व्यस्त देखिन्थे । धमाधम खाम समाउँदै बहीमा नाम लेख्न र पैसाले भरिएको खाम झोलामा हाल्न भ्याई–नभ्याई थियो उनलाई । झोला समाउने एकजना सहयोगी पनि थिए उनका ।

मोरङ कटहरीकी पारोदेवी साहले टेबुलछेउमा आएर खुसुक्क भनिन्, ‘रामविनोद साहको नाममा दुई सय ५१ रुपैयाँ लेखाइदिनुस् त ।’ अलिपरकी नातामा भतिजी पर्ने बेहुलीलाई दिएको उपहारमा पारोदेवीको आफ्नै नामचाहिँ थिएन । श्रीमानको नाम लेखाएको खाम बुझाएर उनी बेहुलाबेहुली हेर्न मण्डपतिर लागिन् । विवाहमा उपस्थित नै नभएका उनका श्रीमानको उपहार लिखतकै रूपमा बेहुलीकहाँ रहन गयो । तर, पारोदेवी भने सहभागीका रूपमा मात्र विवाह समारोहमा पुगिन् ।

किन श्रीमानसँगै आफ्नो नाम पनि नलेखाउनुभएको ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘आमै ! कहाँ आफ्नो नाम लेखाउने ? घरमूली श्रीमान् नै भएपछि उहाँकै लेखाउनुपरेन । अझ हाम्रो आदिवासी समुदायमा त श्रीमान्को नाम उच्चारण गर्नु पनि पाप ठानिन्छ ।’ विराटनगरको हाटखोलामा गत असारमा भएको त्यो विवाह समारोहमा साह आफ्ना छोरासहित सहभागी भएकी थिइन् । विवाहमा खाम र उपहार बुझ्न खटिएका रामविनोद यादवले भने, ‘उपहार र खाम दिने दुई सय १५ मध्ये सातवटामा मात्र महिलाको नाम थियो ।’

श्रीमान् विदेश गएका कारण आफैँले घरव्यवहार स्याहारिरहेको अवस्थामा पनि महिलाका नाममा कुनै पनि निमन्त्रणा आउँदैनन् । आएका चिठी, निमन्त्रणापत्र सबै पुरुषकै नाममा हुन्छन् । अझ कतिपय ठाउँमा त नाबालक छोराका नाममा निमन्त्रणापत्र आउँछन् । ‘बुढा पाँच वर्षदेखि कतारमा छन्,’ मोरङ पथरीकी एक महिला भन्छिन्, ‘तर पनि छरछिमेकी, सामाजिक संस्था सबैले उनकै नाममा निम्तो पठाउँछन् । त्यस्ता ठाउँमा सहभागी हुनचाहिँ मै जानुपर्छ ।’

पार्टी प्यालेसमा भएको एउटा तामझामपूर्ण विवाहमा सहभागी हुन गएकी विराटनगर १० की नीता कोइरालाले झिलझिले कागजले बेरेको उपहार बेहुलीको हातमा राखिदिइन् । बेहुलीलाई अलग्गै टीका लगाएर खाम पनि हातमै दिइन् । उपहारको माथिल्लो भागमा नाम लेख्न मिल्ने ‘स्टिकर’ टाँसिएको थियो । त्यसमा राम्रा राता अक्षरमा उपहार दिनेको नाम पनि लेखिएको थियो । त्यो उपहारको पोकोमा लेखिएको नाम नीताको थिएन उनका श्रीमान्को थियो । उनी उपहार बुझाउन जाने भरिया मात्र थिइन् । नीताजस्तै अरू धेरै महिलाले बेहुलीलाई दिएको उपहारमा श्रीमानकै मात्र नाम उल्लेख थियो । नीताले भनिन्, ‘घरको प्रतिनिधित्व गर्दै विवाहमा सहभागी भएकीले श्रीमान्कै नाम लेखेर दिएकी हुँ । यता यस्तै चलन छ । श्रीमानको ठाउँमा महिलाको नाम लेखिँदैन ।’

विराटनगर र आसपासका क्षेत्रमा विवाह, ब्रतबन्ध र पार्टीहरूमा समेत दिइने उपहारमा महिलाको स्वामित्व देखिँदैनन् । महिला यस्ता कार्यक्रममा सहभागी त हुन्छन्, तर श्रीमानको भरियाका रूपमा मात्रै । उपहार लैजाँदा र दिँदा मात्र होइन उनीहरू निमन्त्रणापत्र पठाइँदादेखि नै विभेदको सिकार हुन्छन् । विवाह, ब्रतबन्ध, गुन्युचोली, भोज र अन्य उत्सवमा सहभागी हुन आग्रह गर्दै पठाइने निमन्त्रणापत्रमा समेत महिलाको नाम उल्लेख गरिँदैन । त्यस्ता पत्रमा श्रीमानलाई उद्धृत गर्दै सहभागिताका लागि आग्रह गरिन्छ । महिला भने परिवार अथवा श्रीमानको भरियाको रूपमा मात्र प्रयोग हुन्छन् । उनीहरू घरपरिवार अथवा श्रीमानको निमित्तको रूपमा यस्ता अवसरहरूमा सहभागी हुनुपर्ने बाध्यता छ ।

विराटनगर–२ की सुमी खतिवडा पनि यस्तै विभेदको सिकार भइन् । छिमेकीको घरमा सप्ताह भागवत पुराण लाग्ने भयो । बहालमा बस्नेहरूलाई पनि निम्तो गरियो । तर, बहालमा बस्नेको नाम थाहा नपाएका छिमेकीले सुमीसँग सोधे, ‘नानी तिम्रा श्रीमानको नाम के हो ? निमन्त्रणा पठाउनु छ ।’ उनी पनि छक्क परिन् । सुमीले भनिन्, ‘मेरै नाम सोधेर त्यही उल्लेख गर्दै निमन्त्रणा पठाएको भए हुन्थ्यो नि, तर पत्र श्रीमानकै नाममा सपरिवार लेखेर आयो ।’ सात दिनसम्म चलेको त्यो पुराणमा आरती गर्ने, कथा सुन्ने र साङ्गेका दिन प्रसाद ग्रहण गर्न सुमी मात्र गइन् । श्रीमान् सहभागी नै भएनन् ।

ग्रामीण क्षेत्रमा मात्र नभएर सहरका उच्च संभ्रान्त परिवारले आयोजना गर्ने सांस्कृतिक तथा अन्य अवसरहरूमा पनि महिला विभेदको सिकार भइरहेका छन् । निमन्त्रणा गर्दादेखि नै हुने यस्तो विभेद हटाउन सामाजिक चेतना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । विराटनगरकी महिला अधिकारीकर्मी मञ्जिता उपाध्याय भन्छिन्, ‘महिला गर्भदेखि नै विभेदको सिकार भइरहेका छन् । खासगरी सामाजिक कुरीतिका कारण पनि विभेद गर्ने क्रम बढ्दो छ । यसको नियन्त्रणमा सचेतना बढाउन महिला नै सक्रिय हुनुपर्छ ।’ महिलालाई परिवार सञ्चालन गर्ने र पुरुषको साख बचाइदिने भरियाको रूपमा मात्रै प्रयोग हुने चलनले गर्दा नै विवाह तथा उत्सवमा समेत विभेद हुने गरेको उनले बताइन् ।

सुन्दा सामान्यझैँ लागे पनि विवाह, गुन्युचोली, ब्रतबन्ध, उत्सव, भोज आदिमा गरिने निमन्त्रणादेखि नै महिलामाथि विभेद गर्ने परिपाटीले समाजमा जरो गाडेको छ । यसलाई हटाउन आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन् । आदिवासी महिला अधिकारका लागि विराटनगरमा सक्रिय सञ्जु साह आफ्नो समुदायका महिलामाथि विभेदको चाङ नै रहेको बताउँछिन् । साह भन्छिन्, ‘जन्मदेखि मृत्युसम्म विभेद छ । अझ संस्कारका नाममा हुने विभेद त कति छन् कति ।

‘पितृसत्तात्मक नेपालजस्तो देशमा महिलाई हेर्ने दृष्टिकोण अझै परम्परागत छ,’ उनले भनिन्, ‘विवाह तथा अन्य कार्यमा पनि महिला पुरुषको निमित्त भएर जानुपर्ने बाध्यता छ ।’ उपहार दिन जाने महिलाले श्रीमानसँगै आफ्नो नाम उल्लेख गर्ने चलन बसाल्नुपर्ने र निमन्त्रणा पठाइँदा पनि महिला–पुरुष दुवैको नाम उल्लेख गरिनुपर्ने साहको सुझाव छ । महिला अधिकारवादी विष्णु शर्मा भन्छिन्, ‘विभेद घटाउन सचेतना आवश्यक छ, त्यसमा महिला पनि थप जागरुक हुनु जरुरी छ ।’ (सञ्चारिका फिचर सेवा)(कुमार, अन्नपूर्ण पोस्ट दैनिकका विराटनगर  “संवाददाता हुन्)
 

आइतवार, पुस २४, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री