‘नदीको नाममा गाईको निबन्ध !’


प्रकाशित मिति : पुस २३, २०७३ शनिबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले राज्य संरचनाको सवालमा दलहरुमा आ-आफ्नो स्वार्थअनुसार जे मन लाग्यो त्यहि गर्ने प्रवृति हाबी भएको बताउनु भयो ।

राष्ट्रिय युवा अभियानले उदरपुरमा गरेको मुलुकको समृद्धि र स्थीर सरकारका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले अहिलेको आवश्यकता के हो भन्दा पनि आफ्नो स्वार्थ अनुसार र आफूलाई जे लाग्छ त्यही गर्ने गरिएको भन्दै उहाँले एउटा कथा समेत सुनाउनु भयो ।

कथा यस्तो थियो ‘नेपालीको परीक्षामा निबन्ध आउँथ्यो, केही उदाहरणका रुपमा घोक्ने चलन थियो । एकजनाले गाईको सम्भावना छ भनेर निबन्ध घोकेर गए, तर आयो नदीको । अनि उनले सुरु गरे – नदी हिमालबाट सुरु हुन्छ, पहाडका खोंच हुँदै मैदानमा पुग्छ । मैदानमा नदीका दुबै किनारामा राम्रो घाँस पलाउँछ । घाँस खान गाई आउँछ । गाईको चार खुट्टा हुन्छ, दुई कान हुन्छ …इत्यादी इत्यादी ।’

राज्य पुनस्संरचनाको संघीयता र शासकीय स्वरुप गरी दुई पक्ष रहेको भन्दै उहाँले यी दुबै कुरामा आवश्यकता भन्दा भिन्न ढंगले नदीको नाममा गाईको निबन्ध लेखे जस्तो भएको बताउनुभयो ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानै पर्ने बताउँदै भन्नुभयो ‘विकासका लागि स्थिरता र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी हुने शासन प्रणाली हाम्रो आवश्यकता हो ।’

निरंकुश हुन्छ कि भन्ने केहीलाई लागेको छ, तर त्यसको लागि पनि सन्तुलन गर्ने प्रावधान राख्न सकिने बताउँदै भन्नुभयो  ‘यहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो सरकारमा सक्षम, विज्ञ, समावेशी मन्त्रीहरु राख्न सक्छ । संसदीय प्रणालीमा त्यो स्वतन्त्रता प्रधानमन्त्रीलाई हुँदैन, सत्ता गठबन्धनको ख्याल गर्नुपर्ने वाध्यता हुन्छ ।’

संयोजक भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भोट मागेर चुनाव जितेको एमाले र प्रचण्डजीले खुट्टा छोडिदिएपछि संविधानमा छुट्न गएको बताउँदै भन्नुभयो ‘एमाले र प्रचण्डले नछोडेको भए काँग्रेस समेत दवावमा पर्दथ्यो तर उहाँहरुको कारण हामी टुलुटुलु हेर्न वाध्य भयौं ।’

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com