दैनिक दुर्दिन

बिहान चार–पाँच बजेदेखि राति दश–एघार बजेसम्म कडा काममा जोतिने बाजुरा, हुम्ला र मुगुका महिला नमरेसम्म कामले नछाड्ने बताउँछन्।

मीना शर्मा

काखमा दूधे बालक, पिठ्यूँमा मलले भरिएको डोको। सकी–नसकी हिंडिरहेकी मुगुको ह्याङ्गलु–६ की कल्पना सञ्जालले सुत्केरी भएको १०औं दिनबाट काम गर्न थालेको बताउँदै भनिन्, “अहिले त बच्चा पनि ६ महीनाको भइहाल्यो।”

१४ कात्तिकको त्यो दिउँसो २५ वर्षीय कल्पनालाई तिहारको रमझ्मले छोएको थिएन। बिहानै जंगलबाट घाँस ल्याएर भान्साको काम सकेकी उनी खेतमा मल पुर्‍याउने हतारोमा थिइन्। भाइटीका नमनाउने? भनेर सोध्दा उनले भनिन्, “गहुँ छर्ने बेलामा माइती गएपछि के खाउँली!”

बिहान भालेको डाँकसँगै शुरू हुने कल्पनाको दैनिकी पँधेरोबाट पानी ल्याउने, बस्तुभाउको गोबर सोहोर्ने, जंगल गएर घाँस ल्याउने, बिहानको खाना तयार पार्ने, परिवारजनलाई खुवाएर भाँडाकुँडा माझ्ने, बस्तुभाउलाई घाँसपानी गरेर खेततिर निस्कने अनि राति १०–११ बजे जूठाभाँडा माझेपछि सकिन्छ।

त्यो बेलासम्म बच्चा उनको काख वा पिठ्यूँमै हुन्छ। खेतबाट फर्किंदा घाँस ल्याउने उनले कम्मरमा हँसिया बोकेकी थिइन्। “काम नगरी खान पाइन्या होइन” उनी भन्छिन्, “हामीले पोइलीघर, माइतीघर जहाँ पनि कामै गर्नुपर्छ।”

सधैं कडा परिश्रम
मुगुका धेरैजसो महिलाको दैनिकी कल्पना सञ्जालको जस्तै कठोर छ। घरभित्रको होस् या बाहिरको; मुगुमा पुरुषले महिलालाई काममा सघाएको देखिंदैन। दश वर्षअघि बिहे भएकी कल्पनासँग पनि पतिले सघाएको अनुभव छैन।

“लोग्या मान्छे पोस्रो (मल) बोक्ने, छाछोरी हेर्ने, दाउरा खोज्ने, घाँस काट्ने काम गर्दैनन्”, उनी भन्छिन्, “रक्सी खान्या, तास खेल्न्या त हुन नि!!”  चौतारो, चियापसलमा गफ चुटिरहेका पुरुषहरू गाउँ–गाउँमा धेरै भेटिए।कति ठाउँमा त तास खेलिरहेको, रक्सीले मातेर हल्लिरहेको पनि देखिए। कल्पनाका पतिको पनि रक्सीबाट शुरू हुने दैनिकी रक्सीसँगै सकिन्छ। सबै काम पत्नी एक्लैले भ्याउनुपर्छ। “मेरो मात्रै हो र!” कल्पनाले भनिन्, “सबैका बैकान (लोग्ने) उस्तै हुन्।”

कल्पनासँगै मलको डोको बोकेर खेततिर हिंडेकी लक्ष्मी सञ्जाल (३१) बिहे भएर ह्याङ्गलु–६ आएको १६ वर्ष भएछ। उनको पनि दैनिकी र दुःख उस्तै छ। उनले चाहिं माइती जाँदा आराम गर्न पाइने बताइन्। “पोइको घरमा त साँझ् बिरामी भएर सुते पनि बिहानै उठ्नुपर्छ” लक्ष्मी भन्छिन्, “छिट्टै नउठे पानीको पालो नपाउँला, जंगल जाँदा एक्लै परुँला भन्ने चिन्ता हुन्छ।”

यहाँका कोही लोग्नेमान्छेले केही काम नगर्ने उनले बताइन्। उनका अनुसार, यहाँका खेतबारी महिलाहरूले नै पर्म लगाएर उठाउँछन्। र पनि, कतिका बैकानले रक्सी खाएर पिट्ने गरेको उनले बताइन्। “कहाँ सुख छ र!” लक्ष्मी भन्छिन्, “रक्सी खाएका बैकानले खाना नमीठो भया’नि कुट्दा हुन्, नून कम भया’नि कुट्दा हुन्, खुर्सानी नलागे’नि कुट्दा हुन्।”

दिनभरि काम गरेर राति भोकै सुत्नुपर्दा सबैभन्दा नराम्रो लाग्ने उनले बताइन्। भोकै सुते पनि बिहान ४ बजेदेखि फेरि काममा जोतिनु परिहाल्छ। ठूलो डोकोमा मल बोकेकी श्रीकोट–३ की पार्वता टमटा (४०) ले शहरका बैकानहरू काम गर्छन् भन्ने कुरामा पत्यार गरिनन्। उनीसँगै रहेका झुपा लोहार, डोइली टमटा, अहिदी टमटा, अनिता टमटा र शर्मिला टमटाले पनि पत्याएनन्। “हामी त पढ्या नाई, लोग्ने पनि पढ्या नाई” अनिताले भनिन्, “शहरका कुरा पनि थाह नाई।”

मुगुमा जस्तै किशोरकालमै बिहे भएका हुम्लाका पनि अधिकांश महिला काममा जोतिएका छन्। हुम्लाको मदेनाबाट चारघण्टा हिंडेर आलु बेच्न बाजुराको क्वाडी आएकी २३ वर्षीया विजना बुढाले घर फर्कंदा वनबाट घाँस लिएर जानुपर्ने बताइन्। “बिहान काटेर छोडेको घाँसले पुग्दैन”, उनले भनिन्, “घर पुगेर पानी पनि आफैंले ल्याउनुपर्छ।”

भनिरहनु परेन, साँझ परिवारलाई खाना पकाई खुवाएर जूठाभाँडा नमाझेसम्म उनको दैनिकी सकिंदैन। खासमा, सुदूरपश्चिम पहाडमा यस्तो दुःख गरिरहेका महिलाहरू बैंस नआई नै बूढा हुन्छन्।

किशोरकालमै विवाह भएर आमा हुन थाल्ने उनीहरू बुढ्यौलीमा पनि काममा जोतिन अभिशप्त छन्। पानीको गाग्रो बोकेर घर फर्कंदै गरेकी रुगिन–७ बाजुराकी ६५ वर्षीया जुना बुढथापाले पति वा छोराहरूले पानी बोक्न सघाएको सम्झ्ना सुनाउन सकिनन्। उनलाई पाठेघर खस्ने समस्याले सताएको वर्षौं भएको रहेछ। तर, काम गर्दा दुखाइ कम भएजस्तो लाग्ने उनले बताइन्।

एक घण्टा परको कुवाबाट दुइटा जर्किनमा पानी लिएर आएकी बाजुरा पाण्डुसैनकी धना सिंहले यसरी भारी बोक्दाबोक्दै जवानी गएको बताइन्। पानी बोक्ने, घाँस काट्ने, पोस्रो (मल) बोक्ने, खाना पकाउने, भाँडा माझनेलगायतका काम मरेपछि सकिने उनको बुझाइ छ।

ढाड दुख्ने, झमझमाउने समस्याले सताउन थालेको उनलाई आफ्नो उमेर पनि थाहा छैन। पानी बोकेर सँगै आएकी ४५ वर्षीया राजु गिरीलाई उनले सोधिन्, “तमि कति भयौ? म पनि त्यही होला।”

पुरुषको काम ‘श्रीमती ल्याउने’
रुगिन–१ बोर्ताका नरदेव भण्डारी (६०) ले काम गर्नकै लागि श्रीमती ल्याइने बताए। माछा मार्ने जाल बुन्दै गरेका उनको बुझाइमा, घाँस काट्ने, पानी बोक्ने, दाउरा काट्ने, गोठाला जानेलगायतका सबै काम श्रीमतीले गर्ने हो। उनले निर्धक्क भने, “आइमाईको काम कसरी लोग्नेले गर्नु?”

खाने पानी बोकेकी ६५ वर्षीया जुना थापा 

मुगुको सेरी–२ स्थित घरमा सुल्फा तान्दै गरेका ७० वर्षीय अमरसिंह बुढाले पनि आइमाईले गर्ने काम लोग्नेमान्छेले गर्न नहुने बताए। भारतमा भाँडा माझने काम गर्नुपरे पनि घरमा त्यसो गर्न नहुने उनको भनाइ छ। “घरको सबै काम आइमाईले गर्ने हो” उनी भन्छन्, “लोग्नेमान्छेले बाहिरबाट कमाएर ल्याउने हो।”

बाजुराको बाँधु गाविसकी महिला स्वास्थ्य स्वयम्सेविका रामुदेवी मल्ल मेलापात र घरको काम पुरुषले गरे इज्जत जान्छ भन्ने सामाजिक सोच ठूलो बाधाको रूपमा रहेको बताउँछिन्।

“बिहे गरेर श्रीमती ल्याउने मात्र यहाँका पुरुषको काम भएको छ। पढे–लेखेका पुरुषहरूमा पनि घरको सबै काम श्रीमतीले गर्नुपर्छ भन्ने सोच छ” उनी भन्छिन्, “दिनभरि दलिएकी श्रीमतीलाई ‘खाना पनि गतिलो बनाइनस्’ भन्दै पिट्ने पुरुषहरू बहादुर कहलिन्छन्।”

बिजुली, तेल र मोबिल नहुँदा मेसिन पनि चल्दैन, तर यसभेगका महिला विना इन्धन काम गर्ने रोबोटजस्ता भएका छन्। स्वास्थ्य स्वयम्सेविका रामुदेवीका अनुसार, यताका महिलालाई पोषणको ठूलो कमी छ। दिनभर कडा परिश्रम गरेर भोकै सुत्नेहरू धेरै छन्।

कामको बोझ् र पोषणको कमीका कारण कुपोषण हुने, पाठेघर खस्ने, सेतोपानी बग्ने, ढाड–कम्मर दुख्ने, हड्डी खिइने, टाउको दुख्ने समस्या व्यापक छ।

“बिरामी पर्दा धामीझाँक्री लगाइन्छ, निको नभए उपचार गराउँदैनन्”, रामुदेवी भन्छिन्, “पुरुषहरू बरु अर्की श्रीमती ल्याउने सोच्छन्।”

सित्तैंका श्रमिक
सरसफाइ, खाना पकाउने, लुगा धुने, घाँस–दाउरा ल्याउने, बालबालिका तथा वृद्धवृद्धाको स्याहारसुसार गर्ने, खेतीपाती गर्ने लगायतका पारिश्रमिक नपाउने घरायसी काममा पुरुषभन्दा महिला बढी खटिने चलन संसारभरमै छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार, विकसित देशहरूमा पनि प्रत्येक दिन महिलाले ४ घण्टा २० मिनेट र पुरुषले २ घण्टा १६ मिनेट काम गर्छन्।

त्यस्तै, विकासोन्मुख देशहरूमा महिलाले ४ घण्टा ३० मिनेट र पुरुषले १ घण्टा २० मिनेट काम गर्छन्। नेपालमा भने महिलाले ४ घण्टा र पुरुषले ५६ मिनेट मात्रै दैनिक घरायसी काम गर्ने गरेको आईएलओको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१३ मा एक्सन एडले गरेको अर्को अध्ययन अनुसार, नेपाली महिलाहरूले दैनिक ४ घण्टा २८ मिनेट घरायसी काम गर्छन् भने पुरुषले ५६ मिनेट मात्र।

घर बाहिरको सामाजिक क्रियाकलापमा नेपाली महिलाको दैनिक सहभागिता २४ मिनेट मात्र रहेको एक्सन एडको अध्ययन बताउँछ। त्यसअनुसार, पुरुषहरू भने दैनिक १०१ मिनेट सामाजिक क्रियाकलापमा सहभागी हुन्छन्। यो अध्ययनमा मध्य र सुदूरपश्चिम नेपालका दुर्गम पहाडी गाउँहरूका महिलाले गर्ने काम समेटिएको छैन।

शनिबार, पुस २३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!