विमानस्थल सुरक्षा भगवान् भरोसा

थरिथरिका भिआइपी, तिनलाई भेट्नेको थामिनसक्नु भीड। न त भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने। नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी समालेका सई पे्रमबहादुर भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती यही हो। उनको विचारमा सुरक्षामामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ।

 मध्य तथा सुदूरपश्चिमको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलमा सई थापाले भनेझैं भिआइपी व्यवस्थापन ठूलो चुनौती बनेको छ। दैनिक करिब पाँच सय यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा यात्रुमाथि सुरक्षा निगरानी गर्न जति सहज छ, दैनिक सरदर दुई–तीनजनाको संख्यामा आउने भिआइपीका कारण उत्पन्न सुरक्षा चुनौती चिर्न भने उत्तिकै कठिन छ। ‘मन्त्री वा नेता आउनेबित्तिकै अनेकखालका मान्छे ह्वारह्वार्ती भिआइपी कक्षभित्र पस्छन्, रोक्न खोज्यो भने उल्टै पुलिसलाई धकेल्छन्,’ भण्डारीले भने, ‘यस्तो अवस्थामा हामीसँग निरीह भएर हेर्नुको विकल्प हुँदैन।’ कहिलेकाहीं त कार्यकर्ता यति धेरै आउँछन् कि भिआइपीलाई बस्ने सोफासमेत हुँदैन। बसेका मान्छेलाई ‘उठ्’ भन्न नसक्दा अर्को कुर्सी ल्याएर राख्नुपर्छ।

विशिष्ट व्यक्ति सुरक्षा निर्देशिका, २०७१ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा विभिन्न पदाधिकारीलाई भिआइपी सुविधा दिएको हुन्छ। यसबाहेक स्थानीयस्तरमा सम्बन्धित विमानस्थलले विमानस्थल सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भिआइपीलाई सुरक्षा सुविधा दिन्छन्। नेपालगन्ज विमानस्थलमा भने यी मापदण्ड लागू भएको देखिँदैन। ‘भिआइपी भनेर नतोकिएका व्यक्तिमात्र होइन, उनीहरूका श्रीमती–छोराछोरीसमेत जबरजस्ती भिआइपीकक्ष प्रयोग गर्छन्,’ विमानस्थलमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘यस्तो बेला भिआइपी रुपमा बसेका भन्दा हामी हेर्नेलाई लाज लाग्छ।’

भिआइपी सुविधा दुरुपयोग र भिआइपी भेट्ने बहानामा हुने भीड नियन्त्रणका लागि विमानस्थलमा बलियो सुरक्षा व्यवस्था आवश्यक पर्छ। तर, सईको कमान्डमा परिचालित प्रहरी जनशक्ति अत्यन्तै न्यून छ। अहिले त्यहाँ ३४ प्रहरी कार्यरत छन्। ‘एकातिर जनशक्ति कम, अर्कोतिर भिआइपीसँग जोडिएका व्यक्तिको बलजफ्ती प्रवेश,’ सई भण्डारीले भने, ‘सुरक्षा कायम गर्न निकै कठिन छ, धन्न अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन।’

दक्ष सुरक्षाकर्मी अभाव र अनुभवी प्रहरी फेरबदल भइरहने समस्या पनि अर्को चुनौती हो। विमानस्थलमा खटिने प्रहरीका लागि एकसाताको अभिमुखीकरणसँगै प्रिबोर्ड प्यासेन्जर स्त्रि्कनिङ (पिपिएस) ट्रेनिङ, एयरपोर्ट सेक्युरिटी ट्रेनिङ, एयरपोर्ट सेक्युरिटी म्यानेजमेन्ट टे्रेनिङ, एयरपोर्ट सेक्युरिटी लेबल–४, एयरपोर्ट सेक्युरिटी पिपिएस, फेक डकुमेन्ट आइडेन्टिफिकेसन ट्रेनिङ, सेक्युरिटी थे्रट म्यानेजमेन्टलगायत तालिम लिनुपर्ने हुन्छ।

तर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै तालिमप्राप्त प्रहरी जनशक्ति अभाव भइरहेको अवस्थामा नेपालगन्जमा तालिमप्राप्त प्रहरीको संख्या ‘छैन’ भन्दा पनि हुन्छ। मध्यपश्चिम क्षेत्रीय प्रहरीप्रमुख डिआइजी माधव नेपाल तालिम दिने जिम्मेवार निकाय नागरिक उड्डयन प्राधिकरणलाई तालिमको व्यवस्था गर्न अनुरोध गरिएको बताउँछन्। ‘तालिमप्राप्त जनशक्ति अभावमा आठ घन्टा ड्युटी गर्नुपर्ने प्रहरीले २४ घन्टासम्म खटिनुपरेको अवस्था छ,’ उनले भने, ‘प्राधिकरणले जति धेरै र छिटो तालिम व्यवस्था गर्छ, त्यत्तिकै मात्रामा विमानस्थल सुरक्षा मजबुत हुन्छ।’ तालिम अभावमा समेत प्रहरीले स्थानीय विमानस्थलमा प्रभावकारी सुरक्षा प्रदान गरेको उनले बताए।

विमानस्थल सुरक्षासँग जानकारका अनुसार तालिम लिइसकेका प्रहरीलाई कम्तीमा पाँच वर्षसम्म सोही ठाउँमा खटाउनुपर्छ। नेपालगन्ज विमानस्थलमा भने दुई वर्षभन्दा बढी समय प्रहरी टिक्दैनन्। तालिमबिना गएका प्रहरीको त विमानस्थलबारे राम्ररी नबुझ्दै सरुवा भइसक्छ। ‘यसले पनि एयरपोर्ट सेक्युरिटीलाई फितलो बनाइरहेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘एयरपोर्ट सेक्युरिटी बलियो बनाउने हो भने सीप–सुविधा र प्रविधियुक्त छुट्टै प्रहरी दस्ता बनाएर परिचालन गर्नुपर्छ।’

प्रविधि प्रयोग नहुनु नेपालगन्ज विमानस्थलको अर्को सुरक्षा चुनौती हो। विमानस्थलमा यात्रुको हातेझोला जाँच गर्ने ह्यान्ड व्यागेज एक्स–रे मेसिन नभएको होइन। तर, उक्त मेसिन चलाउने तालिमप्राप्त प्रहरी नहुँदा आठ महिनादेखि त्यत्तिकै थन्किएको छ। करिब दुई करोड रुपैयाँ मूल्यको उक्त मेसिन प्रयोगमा नआउँदा प्रहरीले विमानभित्र प्रवेश गर्ने यात्रुको झोला सामान्य छामछुम गरेरै पठाउँछ। झोला जाँच गर्ने क्रममा यात्रुले पाउने सास्ती झन् उदेकलाग्दो छ।

‘नेपालगन्जमात्र होइन, मध्यपश्चिमका विभिन्न एयरपोर्टमा कसैले बदमासी गर्न खोज्यो भने सहजै सक्ने अवस्था छ,’ निजी एयरलाइन्स कम्पनीमा दुई दशकदेखि कार्यरत कमल गौतम भन्छन्, ‘विमानस्थल सुरक्षा त भगवान् भरोसामा भइरहेको छ भन्दा पनि फरक पर्दैन।’ तालिमप्राप्त प्रहरी र प्रविधि अभाव, भिआइपी सुविधाको दुरुपयोग, रनवेसम्मै व्यक्तिको पहुँच पुग्नुजस्ता कारणले विमानस्थल सुरक्षालाई जटिल बनाएको उनले बताए।

नेपालगन्ज विमानस्थल प्रशासन सुरक्षा चुनौती र कमजोरीबारे जानकार नभएको होइन। तर, मौनता साँधेर बसिरहेको छ। प्राधिकरणले तालिम व्यवस्था नगरेकै कारण आठ महिनादेखि ह्यान्ड व्यागेज एक्स–रे मेसिन थन्किएर बसेको छ। तालिमका लागि प्रहरीको नाम गए पनि प्रक्रिया अझै सुरु भएको छैन। भिआइपी सुविधा व्यवस्थापनका लागि पनि प्रभावकारी कदम चालिएको छैन। ‘नागरिक उड्डयन प्राधिकरणले चाह्यो भने यी सम्पूर्ण काम एक महिनाभित्रै हुन्छन्,’ एक प्रहरी अधिकृतले भने, ‘तर हामीले जति अनुरोध गरे पनि जिम्मेवारी अधिकारीले मतलबै गर्दैनन्।

प्राधिकरणका नेपालगन्ज प्रमुख प्रतापबाबु तिवारी भने सुरक्षा प्रणालीमा देखिएका कमजोरी पहिचान गरी सुधार प्रयास भइरहेको बताउँछन्। उनका अनुसार भिआइपी कक्षबाट हुने सुरक्षा जोखिम न्यूनीकरणका लागि स्थानीय राजनीतिक दल र जिल्ला प्रशासन कार्यालयसँग बसेर मापदन्ड बनाउने काम भइरहेको छ। ‘भिआइपी मापदन्ड कार्यान्वयनमा दलका कार्यकर्ता इमानदार भइदिने हो भने धेरै समस्या हल हुन्छन्,’ उनले भने, ‘हामीले त्यही भएर दलका जिल्लास्तरीय नेतृत्वसँग बसेर छलफल गरिरहेका छौं।’ भिआइपी सुविधा दुरुपयोग र भिआइपी भेट्न आउनेको भीड विमानस्थल सुरक्षामा एक प्रमुख चुनौती देखिएको उनले बताए। कलेन्द्र सेजुवा/ नगारिक दैनिक

शनिबार, पुस २३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!