न्युयोर्कमा मस्किदै प्रियंका, भिडियो केहीदिनमा


प्रकाशित मिति : पुस २३, २०७३ शनिबार

 

सत्यराज आचार्य र स्वरुप राज आचार्यको स्वर रहेको गीत ‘मस्की मस्की’ को म्युजिक भिडियोमा चर्चित कलाकार प्रियंका कार्की मस्किएको हेर्न पाइने भएको छ । म्युजिक भिडियोमा प्रज्ववल गजुरेल र प्रवेश गजुरेलको अभिनय समेत हेर्न पाइने छ । न्युयोर्कका विभिन्न स्थानमा छायांकन गरिएको यो म्युजिक भिडियो शम्भु मोक्तान र ब्रान्डन हेम्र्यानले खिचेका छन् । टेलिभिजनकर्मी नवराज आचार्यको निर्देशन रहेको म्युजिक भिडियोका प्रोड्युसर विजय खड्का हुन् ।

म्युजिक भिडियोमा अमेरिकाका विभिन्न आकर्षक लोकेशनहरु रहेको निर्देशक नवराज आचार्यले जानकारी दिएका छन् । अबको केही हप्तामा नै म्युजिक भिडियोको सार्वजनिक गरिनेछ । न्युयोर्कको सेन्ट्रल पार्क र कोरोना पार्क लगायतका क्षेत्रका आकर्षक दृश्यहरु समेत भिडियोमा देख्न पाइने भएको छ ।

यसअगाडि गायक स्वरुपराज आचार्यको स्वरको रोमान्टिक मेलाडियस गीत ‘रुपकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको थियो । गायक आचार्य तथा गीतकार उत्तम भौकाजीको एल्बम ‘मनमोहिनी’ मा समावेश गरिएको यो गीतको भिडियोमा प्रज्वल गजुरेल र दिव्याले अभिनय गरेका थिए भने उक्त भिडियोको निर्देशन पनि टेलिभिजनकर्मी नवराज आचार्यले नै गरेका थिए ।

‘रुपकी रानी’ भिडियोबाट अभिनयमा डेब्यू गरेका प्रज्ववलले नेपाली अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रियंका कार्कीको अभिनयबाट प्रभावित रहेको बताएका थिए । अहिले नयाँ भिडियो ‘मस्की मस्की’ मा उनले प्रियंकासँगै अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायांकनका क्रममा जीम्यान फोटोग्राफीले खिचेका केही तस्विरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com