अमेरिकामा कुनै लेखरचना, साहित्य, पुस्तक वा कागजात अँग्रेजीमा प्रोफेशनल अनुवाद गर्नुपरेमा वा लेख्नुपरेमा सम्पर्क गर्नुहोला । professionallytranslate@gmail.com

छोरीलाई गर्भमै थुनछेक

छोरीलाई ‘गर्भमै सफाया गर्न’ महिलामाथि यतिबिघ्न ज्यादती हुन्छ कि झापाकी एक महिलाले १८ वर्षमा २७ पटक गर्भपतन गराउनुपरेको छ ।
 अम्बिका भण्डारी
भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को दबाबमा उनले भ्रुणको लिङ्ग पहिचान गरेर यसपटक छोरो जन्माएकी हुन् । त्यसअघि उनले लिङ्ग पहिचानमार्फत दुईपटक गर्भपतन गराउनुपरेको थियो ।

अनारमनी–४, बिर्तामोडकी अर्की एक महिला रचना सहनीले बिहे भएको आठ वर्षपछि गत वर्ष मात्र पहिलो सन्तानको रूपमा छोरी जन्माएकी छिन् । छोरीप्रति निर्दयी पुरुषप्रधान सोच र परम्पराका कारण छोरो जन्माएर परिवारलाई खुसी पार्ने प्रयासका लागि उनले भोग्नुपरेको सास्ती मार्मिक छ । पहिलो सन्तानमै छोरो चाहिने परिवारको अड्डीले गर्दा उनले बिहे गरेको ६ महिनादेखि लगालग पाँच वर्षसम्ममा तीनपटक गर्भमा रहेको भ्रुणको लिङ्ग मात्र पहिचान गर्नुपरेन, छोरी भएको पत्तो लागेपछि गर्भपतनसमेत गर्न बाध्य हुनुप¥यो । बारम्बार गर्भपतनका कारण उनको पाठेघरमा समस्या देखिएको छ । उनको चौथो गर्भको लिङ्ग पहिचान गर्दा पनि छोरी नै देखियो । त्यसपछि उनले रोइकराइ गरेर गर्भपतन गर्न नमानेपछि पहिलो सन्तानकै रूपमा छोरी जन्मिएकी हुन् ।

‘वंश गुम्ने र सम्पत्तिको संरक्षक नहुने भन्दै पतिसहित परिवारका सदस्य मिलेर पटकपटक मानसिक यातना दिन्थे,’ रचनाले भनिन्, ‘परिवार नबिग्रियोस् भनेर पटकपटक गर्भपतन गराएँ ।’ उनले पहिलो र दोस्रो गर्भपतन भारतको गोरखपुरमा गरेको बताइन् । उनले भनिन् ‘भारु १० हजार तिरेपछि पहिचानसहित गर्भपतन गरिदिँदोरहेछ ।’ तर, तेस्रोपटकको पहिचान र गर्भपतन झापामै गरिएको थियो ।
देवीमाया र रचनाजस्तै हजारौँ महिलालाई आफ्नै पति र परिवारका सदस्यले छोराको आशमा छोरीलाई गर्भमै सफाया गर्न लगाइरहेका छन् । झापा जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ०६८ यता २२ हजार ६ सय ७१ जनाले जिल्लाका विभिन्न गर्भपतन केन्द्रमार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमध्ये ०६८ मा पाँच हजार आठ सय ७१ जनाले, ०६९ मा १४ हजार पाँच सय ३३ जनाले र ०७० को पुसमसान्तसम्ममा दुई हजार दुई सय ६७ जनाले यो सेवा लिएको देखिन्छ ।

झापामा मेरी स्टोप्स सेन्टर सुरक्षित गर्भपतन गराउने सबैभन्दा ठूलो गैरसरकारी संस्था हो । बिर्तामोडको मेरी स्टोप्स सेन्टरले मात्र ०६८ यता चार हजार नौ सय ११ जनालाई यो सेवा दिएको जनाएको छ । बिर्तामोडको केन्द्रबाट ०६८ मा एक हजार सात सय ५० जनाले, ०६९ मा एक हजार ६ सय ६५ जनाले र ०७० को फागुनमसान्तसम्ममा एक हजार चार सय ९६ जनाले सुरक्षित गर्भपतन सेवा लिएको केन्द्रका प्रमुख यज्ञराज प्रसाईंले जानकारी दिए ।

कानुनबमोजिम १२ सातासम्मका भ्रुणलाई मात्र गर्भपतन गराउन सकिने कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) झापाकी अधिवक्ता उमा कार्कीले बताइन् । उनले भनिन्, ‘भु्रणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन ।’ पहिचान गरी गर्भपतन गराउने चिकित्सक र महिला दुवैलाई कारबाही हुने उनले बताइन् । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान मात्र गराउनेलाई तीनदेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ देखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ । तर, जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा १८ हप्ता, महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा निजको शारीरिक, मानसिक अवस्थामा खतरा पुग्न सक्ने भएमा मान्यताप्राप्त तीनजना डाक्टरको रायमा जहिलेसुकै गर्भपतन गराउन सकिने कानुनमा उल्लेख रहेको अधिवक्ता कार्कीले बताइन् ।

कार्कीले आजसम्म अदालतमा गर्भपतन गराएर कुनै पनि मुद्दा दर्ता नभएको बताइन् । उनले भनिन्, ‘तीन वर्ष पहिला झापा चारआलीकी एक महिला पतिले दबाब लिएर गर्भपतन गराउन लगाए, के गरौँ भन्दै ल्याकमा आएकी थिइन् । तर, परामर्श लिएर गएपछि फर्किएर आइनन् ।’ अदालतमा मात्र होइन, यस्ता मुद्दा हालसम्म जिल्ला प्रहरी कार्यालय झापामा पनि नआएको मुद्दा फाँटका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल बताउँछन् । भ्रुणको पहिचान गरेर गरिने गर्भपतन प्रायः दबाबमा गरिने भएकाले घरपरिवार बिग्रेला भनेर प्रहरी वा अदालतमा कोही पनि उजुरी लिएर नआउने कार्कीको भनाइ छ ।

भ्रुणको लिङ्ग पहिचानपछि गर्भमै हत्या गर्ने विकृतिकै कारण महिलाको जन्मदरमा ह्रास आउन थालेको छ । झापाका तीन नगरपालिकामा विगत चार वर्षको जन्मदर्ता हेर्दा छोरीको भन्दा छोराको सङ्ख्या बढी रहेको देखिन्छ । मेचीनगर, दमक र भद्रपुर नगरपालिकामा ०६७ यता १५ हजार एक सय ६ जनाको जन्मदर्ता भएकोमा छोरीको सङ्ख्या सात हजार ६ सय ५६ मात्र छ । जब कि सोही अवधिमा जन्मदर्ता भएका छोराको सङ्ख्या आठ हजार चार सय ५० रहेको छ । यी नगरपालिकामा तीन वर्षमा छोरीभन्दा सात सय ९४ जना बढी छोराको जन्म भएको दर्ताले प्रमाणित गरेको छ ।

‘अंश खाने र वंश बढाउने’ परम्परावादी सोचकै कारण भ्रुणको लिङ्ग पहिचान गरेर गर्भमै छोरीलाई बाँच्न नदिने विकृति बढेको महिला अधिकारकर्मी तथा अधिवक्ता कमला आचार्य बताउँछिन् । उनले अनिच्छित गर्भको बहानामा महिला भ्रुणको हत्या रोक्न पहल गर्नुपर्ने बताएकी छन् । ‘लैङ्गिक विभेदको अन्त्य गर्नुपर्छ,’ आचार्यले भनिन् ‘जबसम्म लैङ्गिक हिंसाको अन्त्य हुँदैन तबसम्म भ्रुणको हत्या रोक्न सकिँदैन । सरकारले नयाँ नीति–नियम बनाएर लैङ्गिक विभेदको अन्त्य नगरे समस्या समाधान नहुने उनको राय छ । छोरालाई मात्र धार्मिक पुन्य प्राप्ति र अंश–वंशको हकदार ठान्ने गलत सोचले विकृति बढेको उल्लेख गर्दै अधिवक्ता आचार्यले भ्रुणको लिङ्ग पहिचानलाई कडाइका साथ बन्देज लगाउनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

विभिन्न सरकारी अस्पताल र मान्यताप्राप्त निजी क्लिनिकमा गर्भपतनको सुविधा छ । त्यहाँ दिनहँु सयौँ महिलाको गर्भपतन हुने गरे तापनि गर्भपतन गरिएका भ्रुणको लिङ्ग थाहा नहुने नेपाल परिवार नियोजन सङ्घ झापाले जनाएको छ ।
नेपाल परिवार नियोजन सङ्घ झापाका प्रमुख चन्द्रमणि पौडेल गर्भपतनका लागि जथाभावी अनुमति दिँदा विकृति बढेको हुनसक्ने चिन्ता व्यक्त गर्छन् । ‘झापामा पहिले परिवार नियोजन सङ्घ, मेरी स्टोप्स र सरकारी अस्पताललाई मात्र अनुमति दिइएको थियो,’ गर्भपतन गराउने संस्था च्याउसरी खुलेर विकृति बढेको बताउँदै सङ्घका प्रमुख पौडेल भन्छन्, ‘अहिले रक्सी र पान बेच्ने पसल खुलेसरी भइसक्यो ।’
झापामै भ्रुणको पहिचान हुने एक स्वास्थ्यकर्मीले दाबी गरे । ‘रेडियोलोजिस्टद्वारा गरिन्छ,’ उनले भने, ‘सरकारी अस्पतालबाहेक प्राइभेट क्लिनिक तथा अस्पतालमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्ममा काम हुन्छ ।’ उनले भ्रुणको पहिचान १२ हप्तापछि मात्र हुने हुँदा गर्भपतन मान्यताप्राप्त अस्पतालबाट नभई निजी क्लिनिक र प्राइभेट अस्पतालमा मात्र हुने गरेको दाबी गरे । यसरी भ्रुणको पहिचान गर्न पढेलेखेका शिक्षित र धनाढ्य घरानाका महिलादेखि मजदुरसम्म आउने गरेको उनले बताए ।

छोराको आशबाहेक अनिच्छित गर्भ रोक्नसमेत महिलाले स्वास्थ्यको जोखिम मोलेर बारम्बार गर्भपतन गराउँदै आएका छन् । मेचीनगर– १ की विनिता प्रधानले अनिच्छित गर्भ रोक्न विगत १८ वर्षमा २७ पटक गर्भपतन गराउनु परेको बताइन् । उनको धेरैपटक गर्भपतन गराएकै कारण स्वास्थ्य बिग्रिएको छ । ‘डाक्टरलाई पटकपटक देखाउँदै आएकी छु,’ उनी भन्छिन्, ‘पाठेघर बाहिर आएर समस्या भएको छ ।’ छोराप्रतिको मोह नघटेका कारण नेपाली समाजमा अझै पनि महिलालाई छोरी नजन्माउन मानसिक दबाब दिने कुप्रथा कायम रहेको वीरता लेडी जेसिजकी पूर्वअध्यक्ष मञ्जु पोखरेल बताउँछिन् । ‘महिला सासू, ससुरा र पतिको चर्को दबाबमा परेर भ्रुणको लिङ्ग पहिचान गराउन बाध्य भएका छन्,’ उनी भन्छिन्, ‘कुनै पनि महिलाको त्यस्तो रहर हुनै सक्दैन ।’

नेकपा एमालेकी राष्ट्रिय परिषद् सदस्य जसमाया गजमेरका भनाइमा छोरीलाई बिनाभेदभाव शिक्षा, रोजगारी, धर्मकर्म र पैतृक सम्पत्तिको समान अंशियार बनाउन सकेमा छोराकै आश गर्ने सामाजिक संस्कारमा परिवर्तन आउनेछ । सृष्टि चलाउन छोरी र छोरा दुवै अपरिहार्य छन् । त्यसैले पत्नी र पतिलाई ‘एक रथका दुई पाङ्ग्रा’ भनिएको हो । छोरा पनि जन्मनुपर्छ भन्ने धारणा सामान्यतया नराम्रो होइन । त्यसैगरी छोरी पनि जन्मनुपर्छ । तर, छोरीलाई चाहिँ जन्मनै नदिन गर्भमा समेत जसरी थुनछेक भइरहेको छ, यसलाई महिलामाथिको ज्यादतीको पराकाष्ठा भन्न सकिन्छ । उनले भनिन् ‘लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्न बाध्य बनाएका कोही पनि महिलाका मुद्दा आजसम्म बाहिर आएका छैनन् ।’ यस्ता मुद्दालाई बाहिर ल्याउन सक्ने बनाउन समाजमा महिलाको चेतनास्तर वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।  (सञ्चारिका फिचर सेवा)(अम्बिका राससकी झापा संवाददाता हुन्)

शुक्रबार, पुस २२, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री