आठ विदेशी सिनेमाको नेपालमा सुटिङ रद्द


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो ।

नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, बलिउड तथा चिनियाँ सिनेमा उद्योगलगायतका निर्माताहरूले योजना रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । ठूलो पर्दाका सिनेमाका अतिरिक्त डकुमेन्ट्री, टेलिभिजन सिरियल, छोटो फिल्म र रियालिटी शोका लागि नेपालमा सुटिङ योजना बनाइरहेका फिल्मकर्मीले पनि ड्रोनको प्रयोग झन्झटिलो भएको भन्दै नेपालमा सुटिङ रद्द गरेको उनीहरूले बताएका छन् ।

नेपालमा छायाकनको व्यवस्थापन गर्ने ४ एजेन्सीमार्फत आउन लागेका सिनेमा रद्द भएका हुन् । स्विडेन, बेलायत, अमेरिका, चीन, भारत र जर्मनीबाट नेपालमा सुटिङ योजना बनाएका फिल्मकर्मीले योजना रद्द गरेको व्यवसायीहरूले बताएका छन् । मेगा एडभेन्चर्स इन्टरनेसनल, धिमालजी सिने ट्रेक्स, बोन ट्राभल एन्ड टुर्स र आइसफ प्रोडक्सनमार्फत नेपाल आउन लागेका सिनेमाहरूको सुटिङ रद्द भएको व्यवसायीहरूले जानकारी दिए ।

भूकम्पपछि अनुमतिको व्यवस्था
१२ माघ ०७२ मा नेपालमा भूकम्प आएपछि नेपालमा ड्रोन उठाउन पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको हो । भूकम्पलगत्तै नेपालीहरूले अत्यधिक मात्रामा ड्रोन ल्याएर तस्बिर तथा भिडियो खिच्न थालेपछि २३ वैशाखमा सरकारले त्यस्तो निर्णय गरेको थियो । भूकम्पपछि नेपालको बहुमूल्य सम्पदाको तस्बिर लिने, निषेधित क्षेत्रको सूचना-तथ्यांक संकलन गर्ने र नेपालबारे गलत सन्देश प्रवाहित गरेको भन्दै सरकारले ड्रोन उडाउन अनुमति लिनुपर्ने नियम ल्याएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन नियमावली २०५८ को नियम ८० बमोजिम सूचना जारी गरी ड्रोन उडाउन अनुमति नलिए उड्डयन प्राधिकरण ऐन २०५३ को नियम दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने सूचना जारी गरेको थियो ।

पर्यटन व्यवसाय प्रभावित
सरकारले सुरक्षा संवेदनशीलताका लागि ड्रोन उडाउन गरेको कडाइले त्यसको प्रभाव पर्यटनमा परेको मेगा एड्भेन्चर्स इन्टरनेसनलका प्रबन्ध निर्देशक गणेश शर्माले बताए । ड्रोन क्यामेरा उडाउन रक्षा, गृह, पर्यटन र सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने उनले जानकारी दिए । ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर अनुमति प्राप्त गर्न निवेदन दिएको कम्तीमा एक महिना लाग्छ, प्रक्रिया अत्यन्त झन्झटिलो छ,’ उनले भने । ‘मेरै कम्पनीमार्फत अमेरिका र भारतबाट आउन लागेका सिनेमा पनि रद्द भए,’ उनले भने ।

ड्रोन क्यामेराको नियमनअघि नेपालमा सिनेमा सुटिङका लागि विभिन्न देशबाट नियमित टोलीहरू आउने गरेका थिए । तर, ड्रोनकै समस्याका कारण धेरै सिनेमा निर्माताले नेपाल आउन आनाकानी गर्न थालेको बोन ट्राभल एन्ड टुर्सका सञ्चालक विनोद पौडेल बताउँछन् । ‘ड्रोन नयाँ प्रविधि हो अहिले सिनेमामा यो अनिवार्यजस्तै भएको छ तर सुरक्षाका कारण भनेर नेपाल आउन चाहने सिनेमाका टोलीलाई समेत झन्झट थपिदिएको छ,’ उनले भने ।

गुगल म्यापले जमिनमाथिबाट खिचेको तस्बिरका आधारमा सबै ठाउँहरू देखाउने हुँदा ड्रोनले थप सुरक्षा संवेदनशीलता नथप्ने पौडेलले बताए । त्यसो हुँदा एउटा निकायबाट नियमन गरी ड्रोन उडाउन सहज बनाइदिनुपर्ने उनको तर्क छ । ‘५ निकायमा धाउनुपर्ने र प्रक्रिया पूरा गर्नै १ महिना लाग्ने भएपछि बजेट बढ्ने भएकै कारण सिनेमा टोली नेपाल आउन छाडेका छन्,’ उनले भने । पछिल्लोपटक आफ्नो कम्पनीबाट सुटिङका लागि आउन लागेका दुईवटा फिल्म रद्द भएको उनले जानकारी दिए । ‘गलत नियतले आउनेलाई रोक्नु ठीक हो, तर ठूलो समूहमा सिनेमा छायाकन गर्न स्वीकृति लिएर आउनेलाई सजिलो बनाइदिनुपर्छ,’ उनले भने ।

नियमनबारे सोध्छन्, बतायो आउँदैनन् : व्यवसायी
बोन ट्राभलको समन्वयमा एक वर्षअ नेपालमा हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज’को सुटिङ भएको थियो । सुटिङमा एरियल सटको आवश्यकता पर्ने भएपछि सिनेमा टोलीले ड्रोनको झन्झट नगरी हेलिकोप्टर प्रयोग गरेको थियो । हेलिकोप्टर प्रयोग गर्दा पनि पुरातत्व विभाग र गृह मन्त्रालयका कर्मचारीलाई पहिला हेलिकोप्टरमा राखेर लोकेसन देखाउ“दै क्यामेरा फ्रेमसमेत देखाएर पुनः अर्काे फ्लाइटमा प्राविधिक राखेर सुटिङ गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा सुटिङ गर्न आउन चाहने सिनेमा कम्पनीले पहिला नै नेपालको लोकेसन, नियम र अवस्थाका बारेमा जानकारी माग्ने र त्यो जानकारी दिँदा अहिले योजना नै रद्द गर्ने गरको व्यवसायीको भनाइ छ । ‘नियमन गर्ने निकायलाई लोकेसनदेखि ड्रोनको मोडल सबै दिनुपर्छ, एउटा ड्रोनको १ लाखदेखि २ लाख रुपैयाँ पर्छ, तर स्वीकृति लिन नै त्यति नै खर्च हुने गरेको छ,’ आइसफल प्रोडक्सनका सञ्चालक रामकृष्ण पोखरेलले बताए । ‘यस्तो जानकारी दिँदा विदेशीहरूले योजना नै रद्द गर्न थालेका छन्,’ उनले भने । आइसफलमार्फत आउन लागेको २ फिल्म पनि रद्द भएको कम्पनीले जनाएको छ । त्यस्तै धिमालजी सिने ट्रेक्समार्फत आउने तयारी भएका २ सिनेमाले पनि अन्तिम समयमा रद्द गरेको कम्पनीले जनाएको छ ।

सुरक्षा संवेदनशीलता छ : गृह मन्त्रालय
गृह मन्त्रालयका प्रवक्ता विष्णु पन्थीले सुरक्षाकै कारण ड्रोन उडाउन विभिन्न निकायमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘विभिन्न निकायमा पुग्दा समस्या भएको कुरा अहिलेसम्म छलफलमा आएको छैन, त्यस्तो समस्या देखियो भने सहजीकरणका लागि प्रयास गर्न सकिन्छ,’ उनले भने । अनुमति र प्रक्रिया लिन झन्झट मान्न नहुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान तालिका तथा अनुमति विभागका प्रबन्धक सुभास झाका अनुसार जहाजस“ग ड्रोन नजुधोस् भन्ने विषय मात्रै आफूहरूले गर्ने जानकारी दिए । ‘उडान स्वीकृति दिन हामीलाई समस्या छैन, तर सुरक्षा निकायले पनि अनुमति चाहिन्छ भन्छ,’ उनले भने । जमिनबाट २ सय फिटसम्म उडाउनका लागि प्राधिकरणको अनुमति लिनुनपर्ने उनले बताए ।

नेपालमा सुटिङ भएका सिनेमाहरू
सिनेमा छायांकनका लागि प्राकृतिक सेटका रूपमा लिँदै नेपालमा विदेशी सिनेमाको छायांकन बढ्दै गएको छ । पछिल्लो समय डकुमेन्ट्री होस् या फिचर फिल्म सुटिङका लागि नेपाल गन्तव्य बन्दै गएको छ । ड्रोन उडाउन समस्या नहुँदा र सुटिङको सहज वातावरण हुँदा धेरै डकुमेन्ट्री र सिनेमा नेपालमा सुटिङ भएका छन् ।

केही वर्षअघिको हलिउड सिनेमा अंग्रेजी सिनेमा ‘एभरेस्ट’, ‘हाइवे टु धम्पुस’ र चिनियाँ सिनेमा ‘अप इन द विन्ड’ नेपालमा सुटिङ भएका थिए । एक वर्षअघि मात्र हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज’को सुटिङ पनि नेपालमा भएको थियो । एरिक भ्यालीले क्याराभान सिनेमा डोल्पामा खिचेपछि नेपाल आउने सिनेमा बढ्दै गएका थिए । २२ वर्षअघि हिन्दी सिनेमा ‘खुदागवाह’ मुस्ताङमा सुटिङ भएको थियो । हलिउडको ‘लिटिल बुद्ध’, ‘द गोल्डेन चाइल्ड’, ‘द वाइन्ड हर्स’, ‘रेड कर्नर’लगायत सिनेमा नेपालमा सुटिङ भइसकेका छन् । यस्तै, भारतीय सिनेमा ‘हरे राम हरे कृष्ण’, ‘युद्ध’, ‘घरवाली बाहरवाली’, ‘महान’, ‘लब इन नेपाल’, ‘एक हसिना एक दिवाना’, ‘बेकाबु’लगायत पनि छायांकन भइसकेका छन् । त्यस्तै, हङकङको सिनेमा बोधी ड्रामा, क्यू वा, फ्रान्सको फियोर डेले मिली इ यूना नोट्टे, द कन्क्वेस्ट अफ एभरेस्ट, स्पेनी सिनेमा काठमाडौं मिरर इन द स्काई, हिन्दी सिनेमा बेबीलगायतले नेपालमा सुटिङ गरेका थिए । फिचर फिल्मबाहेक दर्जनौँ अन्तराष्ट्रिय सर्ट फिल्म, डकुमेन्ट्री र टेलिभिजन विज्ञापन पनि नेपालमा सुटिङ हुँदै आएका छन् ।

सित्तैमा नेपालको प्रवद्र्धन
मेगा एड्भेन्चर्स इन्टरनेसनलका प्रबन्ध निर्देशक गणेश शर्माले नेपालमा आएर सुटिङ हुने सिनेमाले नेपालको प्रवद्र्धन गरेको बताए । ‘उनीहरूले नेपालमा आएर पैसा तिरेर काम गर्छन् । तर, मुलुकको निःशुल्क विज्ञापन भइरहेको छ,’ उनले भने । सिनेमा पर्यटन बढाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने उनले बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले नेपालमा सुटिङ हुने अन्तर्राष्ट्रिय सिनेमालाई बढावा दिनुपर्ने बताए । ‘ड्रोनको विषयलाई लिएर झन्झट दिनु अनाश्यक हो,’ उनले भने । सिनेमा खिच्नका लागि ड्रोनको अनुमति पर्यटन बोर्डले मात्र दिए हुने गरी नियम बनाउनुपर्ने उनले बताए । ‘ड्रोनलाई अनुमति दिने विषय एकद्वार हुनैपर्छ,’ उनले बताए । सिंगापुर सरकार आफैँले पैसा तिरेर हिन्दी सिनेमा क्रिस ३ को सुटिङ सिंगापुरमा गराएको जानकारी उनले दिए । ‘हामीकहा“ उनीहरू आए भने त निःशुल्क विज्ञापन हुन्छ,’ उनले भने । हामीले राजस्व छुटसमेत दिनुपर्छ यसले नेपालको पर्यटन द्रुतगतिमा जाने उनले बताए ।

विदेशीले सिनेमा सुटिङको अनुमति यसरी लिनुपर्छ
कुनै पनि विदेशी सिनेमा सुटिङको अनुमति लिनुपर्दा आवश्यक कागजपत्रका साथ सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिनुपर्छ । यदि एरियल सुटिङ गर्नुपर्ने छैन र ड्रोनको प्रयोग पनि हुँदैन भने जहाँ सुटिङ गर्ने भनिएको छ, तीसँग सम्बन्धित निकायको राय लिएर अनुमति दिन्छ । उदाहरणका लागि पूरातात्विक सम्पदाको सुटिङ गर्नुपर्ने भए पूरातत्व विभाग, राष्ट्रिय निकुञ्जमा गर्नूपर्ने भए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राय मागिन्छ । यदि एरियल दृश्य लिनुपर्ने र ड्रोन प्रयोग गर्नुपर्ने भए गृह, रक्षा र पर्यटन मन्त्रालयलाई सञ्चारले पत्र लेख्छ । गृहले प्रहरी प्रधान कार्यालय र रक्षाले जंगी अड्डालाई पत्र लेख्छ । पर्यटनले नागरिक उड्डयन प्राधिकरणको राय लिन्छ । ती सबै निकायबाट स्वीकृति आएपछि मात्र सूचना तथा सञ्चार मन्त्रालयले अनुमति दिन्छ । यो सबै प्रक्रिया पूरा गर्न १ महीना लाग्ने व्यवसायीहरु बताउँछन् । तर, स्वीकृतिका लागि कुनै शुल्क भने लाग्दैन । नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com