खसोखाससँग कुराकानी गर्नुहोस् । अनि तपाईको आदेश अनुशारको समाचार पाउनुहोस् – मात्र एक क्लिकमा ।

प्रदूषणको अर्बौ रकम प्रयोगहीन

सरकारले ‘प्रदूषण नियन्त्रण गर्ने’ नाममा उठाएको अर्बौं रकम प्रयोगविहीन बनेको छ । वातावरण मन्त्रालय र मातहतका विभागलाई भने प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट अभाव छ ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले नेपाल आयल निगमले इन्धन बिक्री गर्दा करबापत सरकारलाई बुझाएको शीर्षकअनुसारको विस्तृत प्रतिवेदन र करबापत उठाइएको रकमको उपयोगितासम्बन्धी जानकारी उपलब्ध गराउन आपूर्ति मन्त्रालयलाई केही दिनअघि निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार आपूर्ति मन्त्रालयले मंगलबार उपसमितिलाई उपलब्ध गराएको प्रतिवेदनबाट यस्तो खुलेको हो । सरकारले आर्थिक ऐन २०६४ मार्फत काठमाडौं उपत्यकाको हकमा प्रदूषण शुल्कका नाममा पेट्रोल र डिजेल बिक्रीबाट प्रतिलिटर ५० पैसा लिने व्यवस्था गरेको थियो ।

लगत्तै २०६६ सालको आर्थिक ऐनमार्फत देशभर नै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । यसरी उठाइएको रकम छुट्टै कोष स्थापना गरी प्रदूषण नियन्त्रणमा खर्च गरिने आर्थिक ऐनमा उल्लेख छ । यही व्यवस्थाअनुसार हालसम्म उपभोक्ताले खरिद गर्ने प्रतिलिटर पेट्रोल र डिजलबापत सरकारलाई ५० पैसा प्रदूषण शुल्कका नाममा कर बुझाउँदै आएका छन् ।

कुल बिक्री हुने पेट्रोल र डिजलको परिमाणबाट ५०–५० पैसाका दरले जम्मा हुने उक्त रकम नेपाल आयल निगमले प्रदूषण शुल्क शीर्षकअन्तर्गत अर्थ मन्त्रालयमा जम्मा गर्दै आएको छ ।

प्रदूषण शुल्कका नाममा सरकारले उपभोक्ताबाट आर्थिक वर्ष २०६५/६६ देखि चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा करिब तीन अर्ब ६३ करोड आठ लाख २९ हजार रुपैयाँ असुल गरेको छ । सरकारले यो शीर्षकमा वार्षिक ५१ देखि ५३ करोडसम्म कर उठाउँदै आएको छ । २०६६ सालदेखि उपभोक्ताबाट उठाइएको रकम न प्रदूषण नियन्त्रणका लागि खर्च गरिएको छ, न त सरोकारवाला मन्त्रालयलाई नै उपलब्ध गराइएको छ ।

आठ वर्षदेखि उठाइएको उक्त रकम अर्थ मन्त्रालयकै खातामा थन्किएको छ । आपूर्ति मन्त्रालयले उपलब्ध गराएको प्रतिवेदनअनुसार २०६५/६६ देखि २०६९/७० सम्ममा उक्त शीर्षकमा एक अर्ब ७२ करोड ७७ लाख २९ हजार रुपैयाँ जम्मा भएको छ । यसैगरी २०७०/७१ मा ५३ करोड १० लाख, २०७१/७२ मा ५९ करोड १४ लाख, २०७२/७३ मा ५१ करोड ६६ लाख र २०७३/७४ को साउनदेखि मंसिर १५ सम्ममा २६ करोड ४१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

वातावरण मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले निगमले बर्सौंदेखि प्रदूषण शुल्क शीर्षकमा रकम जम्मा गरे पनि यो रकम वातावरण मन्त्रालयले प्राप्त नगरेको बताइन् ।

‘प्रदूषण शुल्कबापत निगमले जम्मा गरेको रकम उपलब्ध गराइदिन अर्थ मन्त्रालयलाई पटकपटक ताकेता गरिसक्यौं’, सहसचिव बस्नेतले भनिन्, ‘तर हालसम्म उक्त रकम प्राप्त भएको छैन । रकम माग गर्दा अर्थ मन्त्रालयले प्रदूषण शुल्कबापत जम्मा भएको रकम प्रदूषण नियन्त्रणकै काममा किन खर्च गर्नुपर्‍यो भन्दै जबाफ दिँदै आएको छ ।’ रकम खर्च गर्ने र कार्यविधि तयार गर्ने विषयमा सरोकारवाला मन्त्रालयले चासो नदेखाउँदा रकम सदुपयोग हुन नसकेको उनले बताइन् ।

वातावरण विभागले बजेट नहुँदा उपत्यकासहित देशभरमा करिब ७५ को संख्यामा प्रदूषण मापन गर्ने यन्त्र खरिद गर्न नसकेको जनाएको छ । यस्तै बजेट अभावमा विभागले रेडियो र टेलिभिजनमार्फत प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतनामूलक सन्देश प्रसारण र प्लास्टिकमुक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको छैन । प्रदूषणमापन गर्ने एउटा उपकरणलाई एक करोड ८० लाख रुपैयाँ पर्छ ।

‘जनचेतनामूलक सन्देश तयार गरेको महिनौं बितिसक्यो’, वातावरण विभागका महानिर्देशक डा. दुर्गाप्रसाद दबाडीले भने, ‘रेडियो र टेलिभिजनमार्फत प्रसारण गर्न आवश्यक बजेट नभएर जनचेतनामूलक सन्देश त्यत्तिकै थन्किएको छ ।’

बजेट अभाव हुँदा प्लास्टिकमुक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएको छैन भने राजधानीको थप स्थानमा प्रदूषण मापन गर्ने यन्त्र खरिद गरी जडान गर्न रकम अभाव छ । ‘बजेटको अभावमा प्रदूषण नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं’, दबाडीले मंगलबार अन्नपूर्णसँग भने ।

निगमका प्रबन्धनिर्देशक गोपाल खड्काले सरकारको नीतिअनुसार पेट्रोल र डिजलका कारण उत्पादन हुने प्रदूषण नियन्त्रणका लागि रकम छुट्ट्याइए पनि उक्त रकमको सदुपयोग नभएको जानकारी दिए । ‘इन्धनबाट उत्पादन हुने प्रदूषण नियन्त्रण गर्न अर्बौं रुपैयाँ संकलन गरी सरकारलाई बुझाइसक्यौं’, खड्काले भने, ‘तर उक्त रकम प्रदूषण नियन्त्रण गर्ने कार्यक्रममा हालसम्म खर्च भएको अवस्था छैन ।’

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले प्रदूषण शुल्कका नाममा उपभोक्ताबाट उठाइएको रकम सदुपयोग नभएको भन्दै सरकारको चर्को आलोचना गरेको छ । ‘प्रदूषण शुल्कका नाममा राज्यले उपभोक्तालाई शोषण गरेर थप आर्थिक भार मात्रै दियो’, उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले भने, ‘यसरी उठाइएको रकम न प्रदूषण नियन्त्रण गर्ने काममा खर्च गरियो, न त सरोकारवाला मन्त्रालयलाई उपलब्ध गराइयो ।’

उपसमितिले सदुपयोग हुन नसकेको उक्त व्यवस्था खारेज हुनुपर्ने निष्कर्ष निकाले पनि सरोकारवाला मन्त्रालयसँग थप छलफल गरी निर्णय गर्ने जनाएको छ ।

कलेज अफ अप्लाइड साइन्सेस नेपालका संस्थापक प्रिन्सिपल तथा वातावरणविज्ञ डा. भूपेन्द्र देवकोटाले उपत्यकामा सबैभन्दा बढी सवारीसाधनबाट निष्कासन हुने धुलो र धुवाँबाट प्रदूषण फैलिएको बताए । उनका अनुसार धुलो र धुवाँका कारण उपत्यकामा वायु प्रदूषणको मात्रा तोकिएको मापदण्डभन्दा बढी पाइएको छ ।

वायु प्रदूषणसम्बन्धी मापदण्डमा वायु प्रदूषण दुई सय ३० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने व्यवस्था छ । ‘तर पछिल्लो समयमा दुई सय ६७ माइक्रोग्राम प्रतिघनमिटर भेटिएको छ’, उनले भने, ‘धुलो र धुवाँका कारण उपत्यकामा मानवीय स्वास्थ्यसम्बन्धी ठूलो समस्या देखापरेको छ ।’ प्रदूषणका कारण छाला, श्वासप्रश्वास, आँखालगायत अंगमार्फत विभिन्न प्रकारका घातक रोग लागेको उनको भनाइ छ । अन्नपूर्ण पाेष्टबाट

बुधबार, पुस २०, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

ghare