देख्न सकिने परिवर्तन

‘पहिला आफ्नो नाम भन्न डराउने हामी महिला अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’

गीता थापा

सुर्खेत । लेखफर्सा– ८ की टीका पौडेललाई कुनै बेला घरबाहिरको काम के हो र त्यो कसरी गर्छन् भन्ने थाहा थिएन । सानो काम गर्न पनि श्रीमान्को सहमति माग्नुपर्ने अवस्थामा थिइन् उनी । अहिलेचाहिँ उनी घरको चुलो र चौकोबाट बाहिर गएर जनचेतना सामुदायिक वनको अध्यक्ष भएर काम गरिरहेकी छिन् । टीका भन्छिन्, ‘पहिला त म घरबाहिर निस्कन डराउँथेँ, घरपरिवार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग्थ्यो । अहिले केही लाग्दैन ।’
महिलाका लागि महिला संस्था (वाम) ले लेखफर्सामा ‘मेरो अधिकार मेरो आवाज’ कार्यक्रम सञ्चालन गरेपछि टीकाजस्तै धेरै महिलाको जीवनमा परिवर्तन आयो । उनले थपिन्, ‘मेरो अधिकार मेरो आवाज कार्यक्रम सञ्चालन भएपछि लेखफर्साका महिलाको जीवनमा परिवर्तन आएको छ ।’ पहिला घरपरिवारको साइनो लगाएर चिनिने टीकालाई अहिले सबैले अध्यक्षको नामले बोलाउने गर्छन् । उनी भन्छिन्, ‘आफ्नै पहिचानले चिनाउन पाउँदा काम गर्ने जोस–जाँगर बढेर आउँदो रहेछ ।’
छलफल कक्षामा सहभागी भएपछि टीकालाई स्थानीय संरचना बुझ्नुपर्छ र महिलाले त्यसको हिसाबकिताब खोज्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले केही समय जनचेतना सामुदायिक वनको सचिवको पदमा रहेर काम गरिन् । अहिले उनी अध्यक्ष भएर काम गरिरहेकी छिन् । टीका भन्छिन्, ‘यही वन हो जहाँ पुरुष अध्यक्ष भएर काम गर्दाभन्दा महिला भएर काम गर्दा हिसाबकिताब थप पारदर्शी भएको छ ।’ वनबाट काठ निकासी गरेर आएको रकम बचत गर्ने गरेको उनको भनाइ छ ।
रामघाट– २ की बलिसरा खत्री पनि कुनै समय चुलोचौकोमा सीमित थिइन् । उनलाई महिलाले पनि स्थानीय संरचनामा भाग लिन पाउँछन् भन्ने थाहा थिएन । त्यसबेलाको कथा सुनाउँदै बलिसरा भन्छिन्, ‘हामी त सधैँ घरको काममा हुन्थ्यौँ, महिला भएर बाहिर निस्कनुहुँदैन भन्ने लाग्थ्यो । तर, छलफल कक्षामा सहभागी भएपछि महिला अधिकारका कुरादेखि स्थानीयस्तरमा हुने हरेक संरचनाका कामबारे थाहा पाइयो ।’ अहिले उनी चन्द्रोदय निम्नमाध्यमिक विद्यालयको अभिभावक सङ्घकी अध्यक्ष छन् ।
रामघाट छलफल कक्षाका महिला मिलेर अहिले रामघाट स्वास्थ्यचौकीका लागि जग्गा खरिद तथा भवन निर्माणको काम गरिरहेका छन् । कुनै बेला हुलाकीकी बुहारी भनेर उनलाई बोलाउने गाउँका मानिस अहिले अध्यक्षज्यू भनेर नमस्कार गर्छन् । बलिसरा भन्छिन्, ‘फलानाकी बुहारी भनेर चिन्ने समाजले अध्यक्षज्यू भन्दा खुसी नै लाग्छ नि ।’
चुलोचौकोमा सीमित धेरै महिला अहिले स्थानीय संरचनाको मुख्य पदमा बसेर काम गरिरहेका छन् । महिला के गर्न सक्छन् भन्ने पुरुषवादी सोचमा बिस्तारै परिवर्तन भइरहेको छलफल कक्षाका महिलाको भनाइ छ । महिला घरबाहिर निस्कन हुँदैन भन्ने पुरुषवादी सोच महिलाको कामबाटै बिस्तारै परिवर्तन भइरहेको छ ।
रामघाट छलफल कक्षाका सहभागी महिला, गाविसबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँ छुट्याउन सफल भए । महिलाकै सक्रियतामा सहरी डिभिजन कार्यालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि यसै वर्ष दुई करोड ३८ लाख रुपैयाँमा भवन निर्माणकार्य सुरु भएको छ । खत्रीले भनिन्, ‘यति मात्र होइन, हामी महिलाकै पहलमा गाउँमा बर्थिङ सेन्टरसमेत निर्माण गर्न सफल भएका छौँ ।’
पहिला पुरुषको नेतृत्व र निर्णयलाई स्वीकार गर्दै आएका महिला अहिले जुनसुकै कामको लागि पनि तयार हुन थालेका छन् । सभासमारोह र बैठकहरूमा निर्णय गर्न अग्रसर हुन थालेका छन् र त्यसअनुसार काम पनि गर्दै आएका छन् । स्थानीय संरचनामा सहभागी हुन थालेका महिलामा आत्मविश्वास बढ्दै गएको छ । आर्थिक रूपमा समेत उनीहरू सक्षम हुँदै गएका छन् ।
समूहका कतिपय महिला अहिले तरकारी खेती गरी आत्मनिर्भर बन्न अग्रसर छन् । रामघाट स्वास्थ्यचौकी इन्चार्ज मानसिं नेपालीले छलफल कक्षाका महिलाकै पहलमा स्वास्थ्यचौकीको लागि जग्गा खरिददेखि भवन निर्माण कार्यसमेत भइरहेको बताए । उनले भने, ‘महिलाको सहभागितामा रामघाट स्वास्थ्यचौकीसमेत अब व्यवस्थित हुँदै छ ।’ छलफल कक्षाले यस क्षेत्रका महिलामा साँच्चीकै धेरै परिवर्तन ल्याएको छ । कक्षामा सहभागी एक महिला भन्छिन्, ‘पहिला आफ्नो नाम भन्न डराउने हामी अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’  (सञ्चारिका फिचर सेवा) (गीता सुर्खेतकी पत्रकार हुन् ।)

मङ्लबार, पुस १९, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!