घर बनाउने ५० हजार घरखर्च चाडपर्वमा सकियो


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

काभ्रे गैरीगाउँकी ४३ वर्षीया मुना शिवभक्ति जस्ताको टहरो नजिकै थुपारिएको झिक्रा संगाल्दै थिइन् । आकाशबाट पानी छिट्याउन थाल्यो । झिक्रा मुठा पारिन् । छाप्रोभित्र हुलिन् र अँगेनाछेउ राखेर आगो सल्काउन थालिन् । उनी भन्दै थिइन्, ‘पानी पर्न थाल्यो । मुटु छुने जाडो छ  । ओढ्ने–ओछ्याउने छैन । आगो नबाली रात कटाउन सकिन्न । यही झिक्राको भर छ । अब त यो पनि रित्तिन लाग्यो ।’

भूकम्पमा ढलेको घर उस्तै
दुई वर्षको जाडो र बर्खा उनले यसैगरी कटाइन् । भूकम्पमा ढलेको घर उस्तै छ । घर बनाऊ भनी सरकारले वितरण गरेको ५० हजार रुपैयाँ उनले दसंैअघि नै पाइन् । तर, घर बनाउन अझै सकेकी छैनन् । ‘घर बनाउन ५० हजार रुपैयाँ त पाइयो । तर, नपुग्ने देखियो । गाउँमा ज्यामी पाइन्न । पाइए पनि एक दिनको ज्याला एक हजार रुपैयाँभन्दा धेरै भन्छन् । ५० हजारले त जग खार्न पनि पुग्दैन । कसरी बनाउने घर ?’ उनी भन्छिन् ।

जग्गाधनी पुर्जा बुझाउँदा पनि ५० हजार अनुदान पाएनन्
गैरीगाउँकै ६० वर्षीय माधव खत्री जस्ताको टहरोछेउबाट फुत्त बाहिर निस्किए । पानीमा रुझ्दै आँगनमा पुगे । दाउरा अँगालोभरि उठाएर टहरोभित्र छिरे । ‘थामी नसक्नु जाडो छ । आगो नबाली रात कटाउनै मुस्किल छ । झन् पानी पर्‍यो । अब त जाडो झन् बढ्ने भयो,’ उनले भने ।

भूकम्पमा ढलेको उनको घर अझै ठडिन सकेको छैन । घर बनाउन सरकारले दिएको ५० हजार पनि पाएका छैनन् । राहत रकम पाउन उनले धेरैपटक स्थानीय प्रशासन धाए, तर केही सीप लागेन । प्रशासनले जग्गाधनी पुर्जा माग्यो । त्यो बुझाए । नागरिकता माग्यो । त्यो पनि बुझाए । तर, अनुदानबापतको रकम पाउन सकेनन् । अनुदान रकम लिन स्थानीय प्रशासन धाउँदा धाउँदै थकित बनेका उनले भने, ‘अनुदान रकम पाउन धेरैपटक प्रशासन पुगेँ । मागेको कागजपत्र बुझाएँ । तर, रकम पाउने सूचीमा नाम नै परेन । कहिले कम्प्युटरमा नाम मिलेन भन्छ, कहिले धनीपुर्जा भएन भन्छ । दिक्क भइसकेँ ।’

यूएसएडको सहयोगमा  निर्मित आवास नाम मात्रैका
खन्यूको रुख छेउमा जस्ताले छाएको सानो टहरो टाढैबाट देखियो । टहरोलाई चारैतिर पालले बारिएको छ । पाल थोत्रिसकेको छ । चारैतिर प्वाल नै प्वाल छन् । छाप्रोभित्र छिर्न साँघुरो ढोका छ । ढोकामाथि एउटा स्टिकर टाँसिएको छ । स्टिकरमा ठूल्ठूला अक्षरले लेखिएको छ, ‘भूकम्पपीडितका लागि यूएसएडको सहयोगमा  निर्माण गरिएको आवास ।’ टहरोको स्थितिले पुष्टि गर्छ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडितलाई अवास बनाइदिने भन्दै हल्ला धेरै गरे । तर, काम भने झारा टार्नेबाहेक केही हुन सकेन ।

यूएसएडको सहयोगमा बनेको छाप्राका धनी ५० वर्षीय शिव पौडेल हुन् । महिना दिनकी सुत्केरी श्रीमतीसँगै उनको परिवार यही छाप्रोमा बस्दै आएको छ । छाप्रो निक्कै साँघुरो छ । अँगेनासम्म अट्ने ठाउँ छैन । त्यसैले पुसको ठिहीबाट सुत्केरी श्रीमतीलाई बचाउन उनलाई निक्कै मुस्किल परेको छ । ‘सहयोगमा बनेको घर हो यो । तर के गर्नु अँगेनासम्म अट्ने ठाउँ छैन । श्रीमती सुत्केरी छिन् । तातो लुगा छैन । छाप्रोभित्रै अँगेनो अट्ने ठाउँ भए दाउरा बालेर भए पनि बच्चा र श्रीमती सेक्न हुन्थ्यो,’ उनी भन्छन् ।

भूकम्पमा ढलेको घर उनको पनि ठडिन सकेको छैन । अनुदानस्वरूप उनले पनि ५० हजार रुपैयाँ पाए । तर त्यो रकम सुत्केरी श्रीमती स्याहार्दै सकियो । उनी भन्छन्, ‘घर बनाउन भनी पैसा त पाइयो । तर त्यो पैसा सुत्केरी स्याहार्दै सकियो । अब  केले घर बनाउने हो । जग नखारी थप रकम पाइन्न भन्छन् । साह्रै समस्या परेको छ ।’

बाह्रै महिना खुला आकाशमुनि चुलो

बाह्रै महिना खुला आकाशमुनि चुलो

आँगनमै चुलो, छाउने जस्ता छैन
झमझम परेको पानीमा रुझ्दै गैरीगाउँकै ३३ वर्षीय बलराम खत्री आगो बाल्दै गरेको भेटिए । चुलो खुल्ला आकासमुनि छ । ओताउन केही छैन । झमझम परेको पानीले अँगेना भिजाइरहेको थियो । तर, पनि उनी आगो बाल्ने निरन्तर कोसिसमा भेटिए । उनले भने, ‘छाप्रो साँघुरो छ । आगो बाल्ने ठाउँ छैन । आँगनमै चुलो बनाएको । छाउने जस्ता छैन । पानी परे पनि घाम लागे पनि भात यहीँ पकाउनुपर्छ । घाम लाग्दा त केही हुँदैन, पानी पर्दा भने साह्रो बिजोग हुन्छ ।’

सरकारले घर बनाउन दिएको अनुदान रकम उनले पनि लिए, तर भूकम्पमा ढलेको घर अझै ठडिन सकेको छैन । रकमले नपुग्ने भएपछि नयाँ घर बनाउने हो कि छाप्रोमै जीवन बिताउने दोधारमा छन् उनी । उनले भने, ‘अनुदान रकम त पाइयो । तर त्यति पैसाले जग खार्नै पुग्दैन । ज्यामी पनि पाइँदैन । पाइए पनि  ज्याला महँगो छ । त्यसैले घर बनाउने कि नबनाउने भनेरे अझै निर्णंय लिन सकिएको छैन ।’नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com