फरबरी २१ पछि युएससीआईएसले पूराना फर्मका आवेदन ‘रिजेक्ट’ गर्ने


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अधिकांश अध्यागमन सुविधाका फर्मको शुल्क बढाएसँगै फर्ममा पनि फेरबदल गरेको छ । युएससीआईएसले नयाँ शुल्कसहित नयाँ फर्म पठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।

डिसेम्बर २३ देखि नयाँ शुल्क लागुहुने भएपनि आगामी फरबरी २१ सम्म भने पूरानै फर्महरु पनि स्वीकार गरिने युएससीआईएसले जनाएको छ । अमेरिकी नागरिकताको लागि आवेदन दिन प्रयोग गरिने फर्म एन ४०० भने पूरानो स्वीकार नगरिने जनाइएको छ ।

अपडेट गरिएका नयाँ फर्महरु छापिएका प्रतिका रुपमा तत्काल उपलब्ध नभएको पनि युएससीआईएसले जनाएको छ । फर्म आवश्यक पर्नेहरुले युएससीआईएसको आधिकारिक वेवसाइटमा गएर डाउनलोड गरेर प्रिन्ट गर्न सक्नेछन् ।

युएससीआईएसले दर्ता शुल्क बृद्धि गरेका ४६ वटा फारममध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका नेपालीहरुलाई सरोकारको विषय ग्रिनकार्ड र नागरिकताको फारमको दर्ता शुल्क हो । त्यो बाहेक ग्रिनकार्ड हराएमा वा ड्यामेज भएमा अर्को ग्रिनकार्ड चाहिएमा आई ९० आवेदन दर्ता गराउँदा अब ४५५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि यो आवेदनका लागि ३६५ अमेरिकी डलर तिर्नुपथ्र्यो । गैरआप्रवासीहरुले अमेरिकामा प्रवेश र प्रस्थानको कागजातका लागि वा पुरानो कागजात प्रतिस्थापनका लागि आवेदन दिनुपरेमा ३३० डलरमात्र तिरे पुग्थ्यो । तर अब भने यसका लागि ४४५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

नयाँ फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । 

कुनै व्यक्तिको मंगेतरलाई अमेरिकामा ल्याउनुपरेमा दिइने आवेदनका लागि यसअगाडि दर्ता शुल्क ३४० डलर लाग्दै आएको थियो । आई १२९ एफ नामको यो आवेदनका लागि अब दर्ता शुल्क ५३५ डलर लाग्ने भएको छ । त्यस्तै आफन्तका लागि दिइने आवेदन आई १३० का लागि अब दर्ता शुल्क ४२० बाट बढेर ५३५ पुगेको छ । त्यस्तै ट्राभल डकुमेन्टका लागि आवेदन दिनु परेमा आई १३१ वा आई १३१ ए नाममा फारम भर्दा दर्ता शुल्क ३६० डलर लाग्दै आएकोमा अबदेखि भने ५७५ डलर तिनुृपर्ने भएको छ । ईबी क्याटेगोरीका लागि आवेदन दिन आवश्यक पर्ने फारम आई १४० का लागि अब दर्ता शुल्क ५८० बाट बढेर ७०० डलर पुगेको छ । अधिकांश नेपालीहरुले असाधारण योग्यताको ग्रिनकार्डका लागि ईबी वान अन्तरगत यो फारम भर्दै आएका छन् ।

अमेरिकामा गैरआप्रवासी भिसाको अवधि बढाउनुपरेमा यसअगाडि आई ५३९ को दर्ता शुल्क जम्मा २९० अमेरिकी डलर लाग्दै आएकोमा अब यो शुल्क बढेर ३७० अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकामा रहेका ठूलो संख्याका नेपालीहरुले वर्क परमिटका लागि आवेदन दिदै आएकोमा अबदेखि यो फर्मको दर्ता शुल्क ४१० अमेरिकी डलर पुगेको छ । यसअगाडि वर्क परमिटका लागि आवेदन दिंदा ३८० अमेरिकी डलर तिर्नुपर्ने थियो । कसैको अमेरिकी नागरिकतासम्बन्धि कागजात हराएमा त्यसको प्रतिस्थापनका लागि ३४५ अमेरिकी डलर शुल्क रहेकोमा अबदेखि यो शुल्क बढेर ३५५ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै नागरिकताको प्रमाणपत्रका लागि आवश्यक फारम एन ६०० वा एन ६०० केका लागि यसअगाडि ६ सय र ५ सय ५० अमेरिकी डलर शुल्क तोकिएकोमा अब यो शुल्क बढेर ११७० पुगेको छ । त्यस्तै अमेरिकामा आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले यसअगाडि युएससीआईएसको शुल्क बापत १६५ अमेरिकी डलर तिर पुग्नेमा अबदेखि भने २२० अमेरिकी डलर तिर्नुपर्नेछ । युएससीआईएसले औंठाछाप लिनका लागि लिदै आएको ८५ डलरमा भने बृद्धि गरेको छैन ।

नयाँ शुल्कबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com