भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न एक लाख रुपैयाँ अनुदान थप्ने सरकारी निर्णय कार्यान्वयन नगराउन दातृ निकायले दबाब दिएका छन् । पैसा मात्रै बढाउँदा सुरक्षित आवास निर्माण सुनिश्चित नहुने भन्दै दातृ निकायले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दबाब दिएको हो ।

भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न सरकारले सुरुमा दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर, यो रकमले घर नबन्ने भन्दै सरकारले थप एक लाख दिने निर्णय गरेको छ । घर बनाउन भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पपीडितको आवास निर्माणका लागि बढाइएको अनुदान रकममा दाताले चासो राखेको बताए । ‘थप गरिएको एक लाख रुपैयाँमा उहाँहरूको चासो छ,’ उनले भने, ‘सुरक्षित आवास निर्माणका लागि मापदण्ड तयार छ, प्राविधिकको सिफारिसमा मात्रै अनुदान दिने भएकाले दातालाई आश्वस्त पार्न खोजेका छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com