युएससीआईएसमा उचित शुल्कविनाका आवेदन तुरुन्तै अस्वीकार, १४ दिने सच्चिने अवधि खारेज


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

डिसेम्बर २२ वा त्यो भन्दा अगाडिको पोष्टमार्कसहित प्राप्त आवेदनहरुका हकमा पूरानै दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको युएससीआईएसले स्पष्ट पारेको छ । डिसेम्बर २३ वा त्यो भन्दा पछिको पोष्टमार्क रहेका वा डिसेम्बर २३ मा फाइल गरिएका आवेदनहरुको हकमा बढाइएको नयाँ शुल्क लागु हुने युएससीआईएसले जनाएको छ ।

डिसेम्बर २३ वा त्यो भन्दा पछि आवेदन दिनेहरुलाई नयाँ शुल्कसहित आवेदन पठाउन युएससीआईएसले सचेत गराएको छ । यसअगाडि आवेदन शुल्क सच्याउनका लागि १४ दिनको सुविधा अवधि दिने गरिएको भएतापनि अब त्यस्तो अवधि नदिइने र तुरुन्तै आवेदन अस्वीकार गरिने युएससीआईएसको भनाई छ । उपयुक्त शुल्क सहित नआएका आवेदनहरु तुरुन्तै अस्वीकार गरिने र उपयुक्त बायोमेट्रिक सेवा शुल्क विना पठाइएका आवेदनका हकमा अध्यागमनको सुविधाको अनुरोध पनि अबदेखि होल्ड गरेर नराखी तुरुन्तै अस्वीकार गर्ने युएससीआईएसको भनाई छ । बायोमेट्रिक शुल्कविना पठाइएका आवेदनहरु तुरुन्तै अस्वीकार गरिने पनि युएससीआईएसको भनाई छ ।

युएससिआईएसले डिसेम्बर २३ देखि लागु हुनेगरी अधिकांश आवेदनहरुको दर्ता शुल्क बढाएको हो । जस अन्तरगत अब अमेरिकी ग्रिनकार्डका लागि आवश्यक फारम आई ४८५ का लागि अमेरिकी सरकारको युएससीआईएसलाई दर्ता शुल्कबापत ११४० अमेरिकी डलर बुझाउनु पर्नेछ । यसअघि यसका लागि ९८५ अमेरिकी डलर बुझाउनुपर्ने थियो । युएससीआईएसले ग्रिनकार्ड फारम सहित ४६ वटा फारमको दर्ता शुल्क बढाएको छ । अध्यागमनसम्बन्धि आवेदनहरुबाट उठ्ने शुल्कबाट लगभग सम्पूर्ण रुपमा नै पालिदै आएको युएससिआईएसले हरेक दुईबर्षमा शुल्कबारे पुनविचार गर्न सकिने कानुन अन्तरगत शुल्कहरु बढाएको हो । तर यसपटक भने युएससिआईएसले ६ बर्षमा पहिलोपटक शुल्कहरु बढाएको हो ।

औषतमा प्राय आवेदनमा २१ प्रतिशतले शुल्कबृद्धि गरिएको जनाइएपनि केही आवेदनको शुल्कभने दोब्बर वा त्यो भन्दा पनि धेरै बढाइएको छ । युएससिआईएसले दिने सेवा धान्नका लागि शुल्क बढाउनुपरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com