नेपालबाट आप्रवासी भिसामा अमेरिका आउनेले तिर्ने शुल्क बढ्यो


प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार

अमेरिका आउनका लागि नेपालको दूतावासबाट आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले युएससीआईएसको शुल्क बापत तिर्न रकममा ५५ डलर बृद्धि भएको छ । यसअगाडि डिभी लोटरी, पारिवारिक पिटिसन वा अन्य तरिकाले आप्रवासी भिसामा अमेरिका आउनेहरुले युएससीआईएसको शुल्क बापत १६५ अमेरिकी डलर तिर्नुपर्ने नियम रहेको थियो । तर डिसेम्बर २३ देखि भने २२० अमेरिकी डलर तिर्नुपर्नेछ ।

विदेशबाट भिसा लगाएर अमेरिकामा स्थायी बसोबासका लागि आउनेहरुले यो शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने नियम रहेको छ । युएससिआईएसले अध्यागमनबारेको भिसा प्याकेट अगाडि बढाउन र ग्रिनकार्डको प्रकृयाका लागि यो शुल्क लिदै आएको जनाएको छ । अमेरिका आउनका लागि भिसा प्राप्त गरिसकेपछि र अमेरिका आउनुभन्दा अगाडि अनिवार्यरुपमा यो शुल्क तिर्न युएससीआईएसले सुझाव दिएको छ । आवेदकले यो शुल्क तिर्न नसक्ने अवस्था भएमा उसका आफन्त, रोजगारदाता, साथीभाई, कानुन व्यवसायी वा प्रतिनिधिले समेत यो शुल्क तिर्न सक्नेछन् ।

अरु कसैले यो शुल्क तिर्न चाहेको खण्डमा एलिएन नम्बर र डिपार्टमेन्ट अफ स्टेटको केस आईडी भने आवश्यक पर्नेछ । यो शुल्क अमेरिका आइसकेपछि पनि तिर्न सकिने भएपनि युएससीआईएसले अमेरिका आउनु अगाडि नै तिर्न सुझाव दिएको छ ।

यो शुल्कबारे विस्तृतमा जान्न यहाँ क्लिक गर्नुहोला । 

कोही व्यक्ति अमेरिका आइसकेको छ तर शुल्क तिरेको छैन भने युएससीआईएसले शुल्क तिर्नका लागि सुचना पठाउँछ । तर शुल्क नतिरेसम्म ग्रिनकार्ड प्राप्त नहुने भएकाले भिसा प्राप्त गरिसकेपछि र अमेरिका नआउँदै शुल्क नतिर्नेहरुको ग्रिनकार्ड प्राप्त हुनमा ढिलाई हुने जनाइएको छ । यो शुल्क क्रेडिट कार्ड, डेविट कार्ड, गिफ्ट कार्ड, प्रिपेड कार्ड, अमेरिकी बैंक एकाउन्टबाट सिधा अनलाइनमार्फत तिर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com