एसाइलम स्वीकृत गर्ने न्युयोर्कका टप ‘नौ नरम न्यायाधिस’


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

-किशोर पन्थी

सबैभन्दा धेरै नेपालीका एसाइलम स्वीकृत गर्ने न्यायाधिस मार्गारेट

विगत ६ बर्षको अवधिलाई विश्लेषण गर्दा अमेरिकामा शरणार्थी बनेर बस्नका लागि एसाइलम आवेदन दिनेमा नेपालीहरु सातौं नम्बरमा छन् । अर्थात् अमरिकामा विश्वका विभिन्न देशका व्यक्तिले शरणार्थीका लागि आवेदन दिने गरेकोमा त्यसमध्ये २ दशमलव २ प्रतिशत नेपालीहरु छन् ।

आर्थिक बर्ष २०११ देखि आर्थिक बर्ष २०१६ सम्मको अवधि हेर्दा अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुमा सबैभन्दा अगाडि चिनियाहरु छन् भने दोश्रोमा मेक्सिकनहरु छन् । तेश्रो एल साल्भाडोर, चौथोमा ग्वाटेमाला र पाँचौंमा होण्डुरसका नागरिकहरु छन् । छैठौंमा भारतीयहरु छन् भने त्यसपछि सातौंमा नेपालीहरु छन् ।

एसाइलम स्वीकृतिका हिसाबले भने नेपालीहरु आर्थिक बर्ष २०१५ को तथ्यांक अनुशार अदालतबाट एसाइलम स्वीकृत हुनेमा छैठौं नम्बरमा रहेका छन् । कुल एसाइलम स्वीकृत हुनेमा भने नेपालीहरु टपटेनबाट बाहिरिएका छन् ।

त्यस्तै अदालत नपुगी एसाइलम स्वीकृत हुनेमा पनि नेपालीहरु टप टेनबाट बाहिरिएका छन् । जबकी आर्थिक बर्ष २०१४ मा अदालतमा नपुगी एसाइलम स्वीकृत हुनेमा नेपालीहरु आठौं नम्बरमा थिए भने सोही बर्ष अदालतबाट स्वीकृत हुनेमा नेपालीहरु चौथो नम्बरमा थिए । सन् २०१३ सम्म भने नेपालीहरु अमेरिकामा कुल एसाइलम स्वीकृत हुनेमा नै चौथो नम्बरमा रहेका थिए ।

प्रस्तुत रिपोर्टमा न्युयोर्कमा नौ जना नरम न्यायाधिसको विवरण दिइएको छ, जसले विगत ६ बर्षमा सबैभन्दा धेरै एसाइलमका मुद्दाहरु स्वीकृत गरेका छन् । यो रिपोर्टमा १ सयभन्दा कम मुद्दा फैसला गर्ने न्यायाधिसलाई समावेश गरिएको छैन । रिपोर्टमा समावेश गरिएका ९ जना न्यायाधिसहरु अमेरिकामा नै सबैभन्दा धेरै प्रतिशत एसाइइलमका मुद्दा फैसला गर्ने नरम न्यायाधिसको सुचीमा टपटेनभित्र रहेका छन् ।
टेरी बेन

सन् १९९४ को फरबरीमा इमिग्रेशन न्यायाधिसका रुपमा नियुक्त भएकी टेरी बेनले सन् १९७३ मा जर्ज वासिंटन युनिभर्सिटीबाट आर्टमा स्नातक गरेकी थिइन् भन् सन् १९८० मा बु्रकलिन ल स्कुलबाट जुरिस डक्टरेट गरिन् । न्युयोर्कमा सन् १९८१ देखि १९८६ सम्म कानुन व्यवसायीका रुपमा काम गरेकी उनी न्युयोर्क बारकी सदस्य थिइन् ।

सन् २०११ देखि सन् २०१६ सम्म बेनले १८०२ वटा अध्यागमन सम्बन्धि मुद्दाको फैसला गरेकी थिइन् जसमध्ये १७१८ वटा मुद्दाहरुका पक्षमा उनले फैसला गरिन् भने ८४ वटा मुद्दा अस्वीकार गरिन् । उनले कुल मुद्दाहरुमध्ये ९५ दशमलव ३ प्रतिशत मुद्दाहरुका पक्षमा फैसला गरेकी थिइन् भने ४ दशमलव ७ प्रतिशत मुद्दाहरुका विपक्षमा फैसला गरेकी थिइन् ।

उनी अमेरिकामाभरमा नै एसाइलमका मुद्दाहरु सबैभन्दा धेरै स्वीकृत गर्नेहरुमा चौथो नम्बरमा परेकी छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २६४ नम्बरमा छिन् । जसको मतलव उनी सबैभन्दा धेरै एसाइलम स्वीकृत गर्ने न्यायाधिसको सुचीमा छिन् ।

उनले चिनियाहरुपछि सबैभन्दा धेरै नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ७६ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरेकी थिइन् ।

नोयल ब्रेनन

न्युयोर्कका न्यायाधिसहरुबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

सन् २००३ को अगस्तमा इमिग्रेशन न्यायाधिसका रुपमा नियुत्त, नोयल ब्रेननले सन् २००० को जुलाईदेखि बोर्ड अफ इमिग्रेशन अपिलमा काम गरेकी थिइन् । जर्ज वासिंटन युनिभर्सिटीबाटै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् १९९४ देखि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसमा काम गर्न थालेकी थिइन् ।

सन् २०११ देखि सन् २०१६ सम्म उनले २२४० वटा एसाइलमका मुद्दाहरु हेरेकी थिइन्, जसमध्ये उनले २११९ वटा मुद्दाका पक्षमा फैसला गरेकी थिइन् भने १२१ वटा मुद्दामात्र अस्वीकार गरिन् । उनले जम्मा ५ दशमलव ४ प्रतिशत मुद्दामात्र अस्वीकार गरिन् भने ९४ दशमलव ६ प्रतिशत मुद्दाहरु स्वीकार गरिन् । अमेरिकाभरमा एसाइलमका मुद्दा स्वीकार गर्ने न्यायाधिसमा उनी छैठौं नम्बरमा छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा उनी २६३ नम्बरमा छिन् ।

उनले चिनियाहरुपछि सबैभन्दा धेरै नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ८३ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरेकी थिइन् ।

जोअन्ना बक्सपान

सन् १९९५ को सेप्टेम्बरदेखि इमिग्रेशन जज नियुक्त जोअन्नाले सन् १९६३ बाट सिटी युनिभर्सिटी अफ न्युयोर्कबाट स्नातक गरेकी थिइन् भन् सन् १९७६ मा बु्रकलिन ल स्कुलबाट जुरिस डक्टरेट । सन् १९७६ देखि १९७८ सम्म कानुन व्यवसायीका रुपमा व्यक्तिगत अभ्यास गरेकी उनी न्युयोर्क बारकी सदस्य थिइन् ।

जोअन्नाले सन् २०११ देखि २०१६ सम्म ११९४ वटा एसाइलमका मुद्दा हेरेकी थिइन् जसमध्ये ११४० वटा मुद्दा स्वीकृत गरिन् । उनले जम्मा ५४ वटा मुद्दाका विपक्षमा फैसला गरिन् । उनले जम्मा ४ दशमलव ५ प्रतिशत मुद्दा अस्वीकार गरिन् भने ९५ दशमलव ५ प्रतिशत मुद्दा स्वीकार गरिन् । अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी चौथो नम्बरमा छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा उनी २६४ नम्बरमा छिन् ।

उनले पनि चिनियाहरुपछि सबैभन्दा धेरै नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ३३ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरेकी थिइन् ।

ओलिभिया क्यासिन

क्यासिनले सन् २०१५ को जुनदेखि एसाइलमका मुद्दामा फैसला गर्न थालेका हुन् । सन् १९८८ मा बु्रकलिन ल स्कुलबाट जुरिस डक्टरेट गरेका उनले न्युयोर्कमा नै कानुन व्यवसायीका रुपमा काम गरेका थिए ।

उनले सन् २०१५ को जुनदेखि सन् २०१६सम्म १५३ वटा एसाइलमका मुद्दाहरुमा फैसला गरेका थिए जसमध्ये उनले १४२ वटा मुद्दा स्वीकार गरेका थिए भने ११ वटा मुद्दाका विपक्षमा फैसला गरेका थिए । उनले ७ दशमलव २ प्रतिशत मुद्दा अस्वीकार गरेका थिए भने ९२ दशमलव ८ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेका थिए । अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी सातौं नम्बरमा छन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा उनी २६२ नम्बरमा छन् ।

अमेरिकाभरका न्यायाधिसहरुबारे थप जान्न यहाँ क्लिक गर्नुहोला । 

उनले चिनियाहरुपछि सबैभन्दा धेरै मालीका नागरिकका मुद्दाको फैसला गरेका थिए । तर नेपालीहरुका मुद्दाहरु भने उनले निकै कममात्र हेरे ।

भिभिने गोर्डन

सन् २००२ मा अध्यागमन न्यायाधिसमा नियुक्त गोर्डनले सन् १९८४ मा हावर्ड स्कुल अफ ल बाट जुरिस डक्टरेट गरेकी हुन् । सन् १९९६ देखि सरकारी सेवामा प्रवेश गरेकी उनी न्युयोर्क बारकी सदस्य हुन् ।

सन् २०११ देखि सन् २०१६ सम्म गोर्डनले १५१२ वटा एसाइलमका मुद्दा हेरेकी थिइन् । जसमध्ये उनले १३६८ वटा एसाइलमका मुद्दाका पक्षमा फैसला गरिन् । उनले यो अवधिमा जम्मा १ सय ४४ वटा मुद्दामात्र अस्वीकार गरेकी थिइन् । यो अवधिमा उनले प्रतिशतका हिसाबले उनले ९ दशमलव ५ प्रतिशत मुद्दाहरुका विपक्षमा फैसला गरेकी थिइन् भने ९० दशमलव ५ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेकी थिइन् ।

अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी नवौं नम्बरमा छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २६० नम्बरमा छिन् । उनले चिनियापछि शोभियत युनियन र त्यसपछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेकी थिइन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ५६ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरेकी थिइन् ।

एलिजाबेथ ल्याम्ब

सन् १९९५ को सेप्टेम्बरमा न्यायाधिसमा नियुक्त उनी सन् १९८३ देखि सन् १९९५ सम्म कानुन व्यवसायीका रुपमा न्युयोर्कमा निजी रुपमा सकृय थिइन् । म्यानहटन कम्युनिटी कलेजमा २ बर्ष काम गरेकी उनी न्युयोर्क बारकी सदस्य समेत हुन् ।

सन् २०११ देखि २०१६ सम्म उनले १६२५ वटा एसाइलमका मुद्दा हेरेकी थिइन् । जसमध्ये उनले १५६५ वटा मुद्दाहरु स्वीकृत गरेकी थिइन् भने ६० वटा मुद्दाहरु अस्वीकार गरिन् । उनले ९६ दशमलव ३ प्रतिशत मुद्दाहरु स्वीकार गरिन् भने जम्मा ३ दशमलव ७ प्रतिशतमात्र मुद्दा अस्वीकार गरिन् ।

अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी तेश्रो नम्बरमा छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २६६ नम्बरमा छिन् । उनले चिनियापछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेकी थिइन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ६३ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरेकी थिइन् ।

फ्रेडरिक लिड्स

सन् २००६ को मार्चमा अध्यागमन न्यायाधिसका रुपमा नियुक्त लिड्सले सन् १९८७ मा वासिंटन कलेज अफ ल बाट जुरिस डक्टरेट गरेका हुन् । न्युजर्सी, डिसी र न्युयोर्क बारका सदस्य समेत रहेका उनी अमेरिकामा नै सबैभन्दा धेरै एसाइलमका मुद्दा स्वीकार गर्ने न्यायाधिस हुन् ।

सन् २०११ देखि सन् २०१६ सम्म उनले ६६८ वटा एसाइलमका मुद्दा हेरेका थिए । जसमध्ये उनले ६५३ वटा मुद्दाका पक्षमा फैसला गरेका थिए । उनले ६ बर्षमा जम्मा १५ वटा मुद्दाका विपक्षमा फैसला गरे । उनले ९७ दशमलव ८ प्रतिशत मुद्दाका पक्षमा फैसला गरे भने २ दशमलव २ प्रतिशत मुद्दाका विपक्षमा फैसला गरे ।

अमेरिकाभरमा नै एसाइलमका मुद्दाका पक्षमा फैसला गर्नेमा उनी पहिलो नम्बरमा छन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २६८ नम्बरमा छन् । उनले चिनियापछि शोभियत युनियन र त्यसपछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेकी थिए । सन् २०११ देखि सन् २०१६ सम्म उनले २१ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेका थिए । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरे ।

मार्गारेट म्याकमनस

सन् १९९१ मा अध्यागमन न्यायाधिसमा नियुक्त मार्गारेट म्याकमनसले बु्रकलिन ल स्कुलबाट सन् १९८३ मा जुरिज डक्टरेट गरेकी थिइन् । सन् १९८७ देखि सन् १९९० सम्म उनले न्युयोर्कमा कानुन व्यवसायीका रुपमा निजी रुपमा काम गरेकी थिइन् । विभिन्न गैर नाफामुलक संस्थाहरुमा समेत काम गरेकी उनी न्युयोर्क बारकी सदस्य हुन् ।

सन् २०११ देखि सन् २०१६ सम्म उनले १८६० वटा मुद्दाको फैसला गरिन् । जसमध्ये उनले १७२१ वटा मुद्दाका पक्षमा फैसला गरिन् भने १३९ वटा मुद्दाको विपक्षमा । यो अवधिमा उनले ९२ दशमलव ५ प्रतिशत मुद्दाहरु स्वीकार गरेकी थिइन् भने ७ दशमलव ५ प्रतिशत मुद्दाहरु अस्वीकार गरेकी थिइन् ।

अमेरिकाभरमा नै एसाइलमका मुद्दाका पक्षमा फैसला गर्नेमा उनी आठौं नम्बरमा छिन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २६१ नम्बरमा छिन् । उनले चिनियापछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेकी छिन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ८७ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरिन् ।

डग्लस चपर्ट

सन् १९९७ को मेमा न्यायाधिसमा नियुक्त डग्लसले सन् १९८२ मा जुरिज डक्टरेट गरेका थिए । उनले भर्जिनियामा निजीरुपमा समेत कानुन व्यवसायीका रुपमा काम गरेका थिए । उनले सन् १९९४ मा क्वुवाको ग्वान्तानामे बेमा शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्च आयोगमा कन्सल्टेन्टका रुपमा समेत काम गरेका थिए । उनी भर्जिनिया र इलिनोयका बारका सदस्य समेत हुन् ।

डग्लसले सन् २०११ देखि सन् २०१६ सम्म १४७० वटा एसाइलमका मुद्दाहरु फैसला गरेका थिए । जसमध्ये उनले १३२४ वटा मुद्दाहरु स्वीकृत गरे । उनले आफूले फैसला गरेकामध्ये १४६ वटा मुद्दाका विपक्षमा फैसला गरे । उनले फैसला गरेका कुल मुद्दामध्ये ९० दशमलव १ प्रतिशत मुद्दाका पक्षमा र ९ दशमलव ९ प्रतिशत मुद्दाका विपक्षमा फैसला गरे ।

अमेरिकाभरमा नै एसाइलमका मुद्दाका पक्षमा फैसला गर्नेमा उनी दशौं नम्बरमा छन् । १ देखि २६८ सम्मको सुचीमा उनी एसाइलमका मुद्दा अस्वीकृत गर्नेमा २५९ नम्बरमा छन् । उनले चिनियापछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेकी छन् । सन् २०११ देखि सन् २०१६ सम्म उनले ५१ जना नेपालीहरुका एसाइलमका मुद्दाको फैसला गरे । तीमध्ये उनले अधिकांश मुद्दाहरु स्वीकृत गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com