‘ग्रिनकार्ड विनै अमेरिकी नागरिकता कार्यक्रम’ ट्रम्पले निरन्तरता दिने आशा


प्रकाशित मिति : मंसिर २०, २०७३ सोमबार

 

– किशोर पन्थी

निश्चित मापदण्डहरु पूरा गरेका गैरआप्रवासीहरु र कागजपत्रबिहिनहरुले समेत ग्रिनकार्डसमेत लिनु नपर्नेगरी सिधा अमेरिकी नागरिकता प्राप्त गर्ने अमेरिकी सरकारको कार्यक्रम माभ्नीको थपिएको अवधि गत सेप्टेम्बरमा समाप्त भएपछि माभ्नी कुरेर बसेकाहरु निराश भएका छन् । सेप्टेम्बरपछि माभ्नीको अवधि थपिनेमा आशावादी रहेकाहरु यो कार्यक्रम आर्थिक बर्ष २०१७ का लागि नथपिएपछि निराश भएका हुन् । बराक ओबामाको कार्यकाल सुरुताका प्रारम्भ भएको यो कार्यक्रम ओबामाको कार्यकाल पूरा हुनै लाग्दा समाप्त भएपछि कार्यक्रमबाट लाभ लिने आशामा बसेकाहरुको सपना तुहिएको हो । टीपीएस प्राप्त गरेका व्यक्तिले पनि माभ्नी कार्यक्रममार्फत ग्रिनकार्ड विना नै सिधा अमेरिकी नागरिकता लिनसक्ने प्रावधान रहेकोमा यो कार्यक्रम बन्द हुँदा तत्कालका लागि टीपीएस प्राप्त नेपालीहरु पनि यो सुविधा लिनबाट बञ्चित भएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा क्यालिफोर्नियाबाट सदस्य जेफ डेनहमले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि निश्चित मापदण्ड पूरा गरेका कागजपत्रबिहिनहरुले समेत ग्रिनकार्ड बिना नै सिधा अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने कार्यक्रम जारी हुने विश्वास व्यक्त गरेका छन् । डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनावमा इन्डोर्स गरेका डेनहमले निश्चित मापदण्ड पूरा गरेका कागजपत्रबिहिनहरुले समेत ग्रिनकार्ड बिना नै सिधा अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने विधयेक पारित गराउनमा ट्रम्पले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उदार रिपब्लिकनका रुपमा परिचित डेनहमले इन्लिष्ट नामको कानुन संसदमा पेश गरेका छन्, जुन कानुन अन्तरगत निश्चित मापदण्ड पूरा गरेका कागजपत्रबिहिनले अमेरिकी सेनामा सेवा गर्न पाउनेछन् भने ग्रिनकार्ड बिना नै सिधा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । यो विधयेक पारित भएमा सन् २०११ को डिसेम्बर ३१ भन्दा अमेरिका छिरेका र अमेरिका छिर्नेबखत १५ बर्षभन्दा कम उमेर भएकाहरु सबैभन्दा धेरै लाभान्वित हुनेछन् । यो विधयेकलाई कैयन रिपब्लिकन र डेमोक्रेटिक प्रतिनिधिहरुको समर्थन रहेको छ ।

बुधबार क्यालिफोर्निया रिपोर्टसँगको रेडियो अन्तरवार्ताका क्रममा कँग्रेसम्यान डेनहमले ट्रम्पबाट इन्लिष्ट ऐन पारित स्वीकृत हुने र त्यसका लागि आफूले ट्रम्पलाई कन्भिन्स गर्ने बताएका छन् । अमेरिकी सपना बोकेकाहरुलाई अमेरिकी सेनामा सेवा गर्न दिने कुरामा डोनाल्ड ट्रम्पले छलफल गरिरहेको बताउँदै यसबाट इन्लिष्ट ऐन पारित हुने आशा जागेको उनले बताएका छन् । गत सेप्टेम्बरमा ट्रम्पले अमेरिकी सेनामा सेवा गर्न चाहने ड्रिमरहरुलाई कानुनी हैसियत प्रदान गर्नेमा आफू सकारात्मक भएको बताएका थिए । तर यी उदार रिपब्लिकन डेनहमले इन्लिष्ट ऐन पारित गराउन सक्लान् वा माभ्नी कार्यक्रमलाई पुन सुचारु गराउन सक्लान् ? त्यो थाहा पाउन भने अझै केही समय कुर्नैपर्छ । यदि माभ्नी कार्यक्रम सुचारु भएमा वा इन्लिष्ट ऐन पारित भएमा भने टीपीएस प्राप्त कैयन नेपालीहरुले पनि त्यसबाट लाभ लिन सक्नेछन् ।

mavni-cover-piccover-photo

के हो यो विशेष कार्यक्रम ?

माभ्नी कार्यक्रमको पूरा नाम मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट हो । यो कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुँदै आएका थिए ।

सन् २००८ मा यो कार्यक्रम एकवर्षका लागि लागु गरिएको थियो । यो कार्यक्रम सन् २००९ को डिसेम्बरसम्मका लागि लागु गरिएको थियो । त्यतिबेला जम्मा १ हजार जनलाई भर्ती गर्ने लक्ष्य राखिएको थियो । त्यसपछि यो कार्यक्रम यत्तिकै थन्किएको थियो । पछि हरेक वर्ष १५ सय जनालाई भर्ति गर्ने गरी सन् २०१२ को मे १६ बाट यो कार्यक्रम पुन संचालन गरियो । जसको अवधि सन् २०१४ को सेप्टेम्बरको अन्त्यसम्म मात्र थियो । त्यसपछि यो कार्यक्रमको अवधि थपिनेमा आशंकाहरु थिए । तर सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्मका लागि यो कार्यक्रम थप्ने अनुमतिपत्रमा अण्डरसेक्रेटरी अफ डिफेन्स जेसिका राइटले हस्ताक्षर गरेपछि यो कार्यक्रम थपिएको थियो । अहिले भने कार्यक्रमको अवधि नथपिएकाले यो कार्यक्रमबाट लाभान्वित हुनबाट थप नेपालीहरु वञ्चित भएका छन् ।

कार्यक्रम थपिएमा को हुन्छ योग्य ?

एसाइली, रिफ्युजी वा अस्थायी रुपमा कानुनी हैसियत संरक्षण गरिएका व्यक्ति यो कार्यक्रमका लागि योग्य हुन्छन् । अमेरिकाले ब्यापार सन्धी गरेका देशबाट अमेरिकामा ब्यापारमा संलग्न हुनका लागि आएका ‘ई’ भिसा भएका व्यक्ति, अमेरिकामा पत्रकार र संचारमाध्यमका कर्मचारीका रुपमा आएका ‘आई’ भिसा भएका व्यक्ति, अमेरिकामा विद्यार्थी भिसा (एफ भिसा) मा आएकाहरु, कामदार भिसा (एच भिसा) मा आएकाहरु, एक्सचेन्ज भिजिटरका रुपमा ‘जे’ भिसामा आएकाहरु, ‘के’, ‘एल’, ‘एम’, ‘ओ’, ‘पी’, ‘क्यु’, ‘आर’, ‘एस’, ‘टी’, ‘यु’, ‘भी’ लगायतका भिसा भएकाहरु यो कार्यक्रमबाट लाभान्वित हुन सक्छन् । कलाकारका रुपमा आएकाहरुदेखि आपराधिक गतिविधिको शिकार भएकाहरु सम्मले यो कार्यक्रमबाट लाभ लिनसक्छन् ।

यो कार्यक्रम अन्तरगत स्वास्थ्य क्षेत्रका लागि भर्ती हुनेहरुले कम्तीमा ३ वर्ष सकृय रुपमा वा कम्तीमा ६ वर्ष रिजर्भका रुपमा काम गर्नुपर्छ । भाषाका क्षेत्रमा छनौट भएकाहरुले कम्तीमा ४ वर्ष सम्म सकृय रुपमा काम गर्नुपर्छ । नेपाली , हिन्दी, उर्दु लगायतका ४४ वटा भाषाहरुलाई यो कार्यक्रममा समावेश गरिएको छ । यो कार्यक्रमबाट फाइदा लिएर ग्रिनकार्ड समेत नभएका नेपालीहरु एकैपटक अमेरिकाको नागरिक बन्न सक्ने भएकाले यो कार्यक्रमप्रति अमेरिकामा रहेका तर ग्रिनकार्ड नभएका नेपाली युवाहरुको आकर्षण पनि बढ्दो रहेको छ ।

माभ्नी कार्यक्रमबाट तीनमहिनामै अमेरिकी नागरिकता प्राप्त गरेपछि नागरिकताको सपथग्रहण गर्दै आप्रवासी युवा ।

कसरी पाउने सिधा अमेरिकी नागरिकता ?

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले झण्डै तीनमहिनामा नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ ।

सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमसम्म सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको हुन्छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

नेपाली ‘सोल्जर अफ द इयर’

यो कार्यक्रमप्रति जति नेपालीहरुको आकर्षण थियो, विभागमा नेपालीहरुप्रतिको विश्वास पनि बढ्दो थियो । किनभने केहीसमय अगाडि यो कार्यक्रमबाट अमेरिकी सेनामा प्रवेश गरेका एकजना नेपालीले ‘सोल्जर अफ द इयर’ को सम्मान र उपाधी नै प्राप्त गर्न सफल भए । काठमाडौंमा जन्मिएका र काठमाडौंमा नै हुर्किएका सरल कुमार श्रेष्ठले यस्तो विशिष्ट उपाधी प्राप्त गरेका हुन् । १७ वर्षको उमेरमा अध्ययनको शिलशिलामा अमेरिकामा आएका श्रेष्ठ सुरुमा फिलाडेल्फिया आएका थिए भने पछि नेब्रास्कामा गए ।

यत्तिकैमा सन् २००९ मा अमेरिकी सरकारको रक्षा मन्त्रालयले अमेरिकी नागरिकता वा ग्रिनकार्ड विना पनि अमेरिकी सेनामा भर्ती हुन सकिने माभ्नी कार्यक्रम ल्यायो । श्रेष्ठ यो कार्यक्रम अन्तरगत भर्ती भए र सन् २००९ को सेप्टेम्बरमा आधारभूत तालिममा गए । तालिम सकिनासाथ उनले अमेरिकी नागरिकता पनि प्राप्त गरे । सन् २०११ मा अफगानिस्तानमा खटिएका श्रेष्ठले लगातार कडा मिहिनेत गरे । जब उनी अमेरिकामा फर्के एउटा प्रतियोगितामा भाग लिएर वर्षकै उत्कृष्ट सिपाहीबाट सम्मानित भए । यसरी सरलका लागि माभ्नी कार्यक्रम बरदान सावित भयो ।

माभ्नी कार्यक्रमबाट अमेरिकी सेनामा प्रवेश गरेका सरललाई वर्षको उत्कृष्ट सिपाही घोषणा गरिदै । तस्विर : युएससीआईएस

त्यस्तै नेपाली क्रिकेटमा सुनसरी टिमको कप्तानी गर्दा गर्दै अध्ययनको शिलशिलामा अमेरिकामा आएका थिए सुधाकर घले । उनी पनि माभ्नी कार्यक्रम अन्तरगत अमेरिकी सेनामा भर्ति भए । उनी भन्छन् –“ मेरो एमबीए सकिन लागेको थियो । ग्रयाजुएसनपछि के गर्ने भन्ने अन्यौल पनि थियो । रोजगारको त्यति राम्रो अवशर पनि थिएन । त्यसैले अमेरिकी सेनामा भर्ना भए“ ।” अस्थायी रुपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई स्थायी रुपमा बसोबासको सपना साकार गराउने भएकाले पनि सुधाकरको अमेरिकी सेनामा आकर्षण बढेको थियो । सुचिकृत भाषीका शिक्षित आप्रवासीहरुलाई अमेरिकी सेनामा भर्ना लिने सरकारी कार्यक्रम माभ्नी अन्तरगत सुधाकर जस्ता सयौं नेपाली युवाहरु अमेरिकी सेनामा भर्ना भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com