कुलमानविरूद्ध षडयन्त्र गर्नेलाई कारवाहीको निर्देशन


प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार

उर्जामन्त्री जनार्दन शर्माले सरकारले अघि बढाएको लोडसेडिङमुक्त अभियानलाई अवरोध गर्न खोज्ने तीन सञ्चालक समिति सदस्य विरूद्व कारवाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री शर्माले शुक्रवार नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उर्जासचिव अनुपकुमार उपाध्यायलाई मुलुकको उर्जा विकासमा अवरोध पु-याउन खोज्ने सञ्चालक समितिका तीन सदस्यहरूलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका हुन् ।

प्राधिकरणका सञ्चालक समितिका सदस्यत्रय लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई तुरुन्त स्पष्टीकरण सोधी कारवाही प्रत्रिया अघि बढाउन मन्त्री शर्माले निर्देशन दिएका हुन् ।

प्राधिकरण सुधारका लागि कार्यकारी निर्देशक कुलमान घिसिङले ल्याएका विभिन्न कार्ययोजनामा ती सदस्यहरूले अवरोध गर्न खोजेपछि मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

‘सञ्चालक समितिका तीनै जना सदस्यविरूद्व स्पष्टीकरण सोधी कारवाही अघि बढाउन सचिवलाई निर्देशन दिएको छु,’ मन्त्री शर्माले  भने ।

ती सञ्चालक समिति सदस्यहरूको गतिविधि विद्युत प्राधिकरण ऐन प्रतिकुल रहेको भन्दै कारवाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

तीनै जना सञ्चालक समिति सदस्यले प्राधिकरण सुधारका लागि कार्यकारी प्रमुख घिसिङले अघि बढाएको कम्पनी ऐनअनुसार जलविद्युत आयोजना सम्पन्न गर्ने, जलविद्युत र इन्जिनियरिङ कम्पनी स्थापना गर्ने लगायतका योजनामा अवरोध गर्ने प्रयास गरेपछि मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com