जीवाको ‘सरसर्ती संसार’ डिसेम्बर १० मा


प्रकाशित मिति : मंसिर १४, २०७३ मंगलबार

चर्चित एनआरएन एवं व्यवसायी जीवा लामिछानेको पहिलो पुस्तक सरसर्ती संसार आगामी डिसेम्बर १० मा सार्वजनिक हुने भएको छ ।

नेपालयले प्रकाशन गर्न लागेको यो पुस्तक काठमाडौंमा रहेको रसियन कल्चर सेन्टरमा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको छ ।

५० हजारभन्दा धेरै शब्दहरु रहेको यो पुस्तकमा जीवा लामिछानेले भ्रमण गरेका विभिन्न स्थानको यात्रा अनुभव र संस्मरण २९ वटा च्याप्टरमा समेटिने जनाइएको छ ।

जापान, कोरिया, दुबई, इजिप्ट, अष्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न देशहरुको यात्रा अनुभव समेटिने यो पुस्तकबारे जीवा लामिछानेले खसोखाससँग भने – ‘पुस्तकमा पाँचवटै महादेशका २९ वटा स्थानको यात्रा अनुभव र संस्मरण समावेश गरिने छ ।
पुस्तकमा मैले यात्रा गर्ने क्रममा देखेका जीवनशैली, मेरो अनुभव र ठाउको बारेमा पुस्तकमा बर्णन गरिएको छ । ती स्थानमा नगएका मान्छेले पनि पुस्तकमार्फत त्यहाँको यात्रा गर्न पाउने मेरो अपेक्षा छ ।’

एनआरएन आईसीसीका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीवा लामिछाने अध्ययनका लागि सोभियत संघ गएर अध्ययनपछि उतै व्यवसाय सुरु गरेका थिए ।

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर लामिछानेले सोभियत संघको विघटनपछि रुसले आर्थिक सुधार गर्ने क्रममा मस्कोमा व्यवसाय सुरु गरेका हुन् ।

नेपालमा सानिमा बैंक, कान्तिपुर टेलिभिजन, विभिन्न जलविद्युत, अस्पताल र कलेजका क्षेत्रमा लगानी गरिरहेका उनले जर्मनीको फ्रयांकफर्टमा पनि होटल व्यवसाय गरिरहेका छन् ।

जीवा लामिछाने । तस्विर श्रोत : ट्वीटर
जीवा लामिछाने । तस्विर श्रोत : ट्वीटर

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com