घेराबन्दीमा मोदी , २८ नोभेम्बरमा भारत बन्द


प्रकाशित मिति : मंसिर ९, २०७३ बिहीबार

पाँच सय र एक हजारका नोटमा प्रधानमन्त्री नरेन्द‍्र मोदीले प्रतिबन्ध लगाएको विरोधमा विपक्षी दलहरुले २८ नोभेम्बरमा भारत बन्दको आह्वान गरेका छन् । नोटमा प्रतिबन्धलाई लिएर मोदीमाथि निरन्तर हमला गरिरहेका प्रतिपक्षी दलले भारत बन्दको आह्वान गरेका हुन् । बुधवार नयाँ दिल्लीको जन्तर मन्तरमा पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले धर्ना पनि सुरु गरेकी छन् ।

बनर्जीको नेतृत्वमा सरकारविरुद्ध जन्तर मन्तरमा प्रदर्शन गर्दै बनर्जीको टोलीले यो निर्णय फिर्ता लिन माग गरेको छ । नोटमा प्रतिबन्धविरुद्ध विपक्षले २८ नोभेम्बरमा भारत बन्दको घोषणा गरेका हुन् । यसैबीच सरकारले नोटमा प्रतिबन्धको मामिलामा जारी गतिरोध समाप्त गर्नका लागि विपक्षीसँग वार्ताको पहल गरेको छ । गृहमन्त्री राजनाथ सिंहले बिहीवार बिहान १० बजेका लागि सबै दलको बैठक बोलाएका छन् ।

बीएसपीकी प्रमुख मायावतीले प्रधानन्मत्री नरेन्द्र मोदीमाथि नोटमा प्रतिबन्धलाई लिएर बुधवार सदन बाहिर हमला गरिन् । उनले प्रधानमन्त्रीले यति राम्रो काम गरेको भए सदनमा बोल्न किन डराएको भन्दै आक्रोश पोखिन् ।

उनले अब राष्ट‍्रपतिलाई गुहार लगाउने बताउँदै प्रधानमन्त्रीलाई स्पष्टिकरण लिन लगाउने पनि जिकिर गरिन् । नोटमा प्रतिबन्धपछि जनतालाई भएको कठिनाईको समाधान निकाल्न उनले राष्ट्रपतिलाई आग्रह गर्ने बताएकी हुन् । नोटमा प्रतिबन्धबारे छलफलका क्रममा हङ्गामा भएपछि लोकसभा बिहीवारसम्मलाई स्थगित गरिएको कारोबारमा खबर छ ।

मायावतीले प्रधानमन्त्री मोदी संसदमा आएर विपक्षको कुरा सुन्न नसक्नुमा नोटमा प्रतिबन्धमा ठूलै जालझेल रहेको दाबी गरिन् । उनले भनिन्, ‘हामी पनि कालो धनविरुद्ध सरकारको साथमा छौँ । तर बिना तयारी चालिएको यो कदम सोचेर लिएको भए हामी सरकारलाई सघाउँथ्यौँ ।’

कांग्रेस उपाध्यक्ष राहुल गान्धीले नोटमा प्रतिबन्धलाई लिएर प्रधानमन्त्री मोदीमाथि निशाना साँधे। हमलाकारीको शैलीमा उनले भने, ‘विपक्षले केवल मोदीलाई संसदमा आएर जबाफ दिन भनेका छन् । तर उनलाई डर लागेको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com