रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित, अन्तिम १६ को स्थान पक्का


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

आयोजक रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल उपहार दिए । अग्रता बनाएपछि रसियाले खेलमा दबाब बढायो ।

उसका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो ।

३ गोलको अग्रतासँगै रसियाले खेलमा पकड बनाएका बेला ७३ औँ मिनेटमा इजिप्टले पेनाल्टी पायो । पेनाल्टीलाई प्रहार गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे ।

तर रसियाले २ गोलको अग्रता बनाइसकेकाले इजिप्ट खेलमा फर्किनै सकेन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com