आवेदनको चाङपछि रिसिप्टलाई नै १८ महिने ग्रिनकार्डको मान्यता


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

अमेरिकी सरकारको युएससीआईएसमा आवेदनको चाङका कारण ब्याकलग बढेपछि शर्तसहितको ग्रिनकार्डका शर्त हटाउन दिइने आवेदनको रिसिप्टलाई नै १८ महिने ग्रिनकार्डको मान्यता दिइने भएको छ । गत सोमबारदेखि लागु हुने गरी शर्तसहितका ग्रिनकार्डको शर्त हटाउन दिइएका आवेदनपछि प्राप्त आई ७९७ रिसिप्टलाई १८ महिनासम्मका लागि स्टेटस अद्यावधिक रहेको प्रमाणका रुपमा मानिने भएको छ ।

तर त्यस्तो रिसिप्ट आफ्नो एक्सपायर भएको ग्रिनकार्डसँगै राख्नुपर्नेछ । ग्रिनकार्ड एक्सपाएर भएको मितिले १८ महिनासम्म रिसिप्टले काम गर्ने भएपनि यदि १८ महिनासम्म पनि नयाँ ग्रिनकार्ड प्राप्त नभएमा के गर्ने भन्नेबारे भने युएससीआईएसले खुलाएको छैन ।

आई ७५१ र आई ८२९ को प्रोसेसिङ अवधि बढेपछि युएससीआईएसले नयाँ नियम ल्याएको हो । आई ७५१ अस्थायी ग्रिनकार्डको शर्त हटाउन आवेदकबाट फाइल गरिन्छ भने आई ८२९ अस्थायी ग्रिनकार्डको शर्त हटाउन व्यवसायीबाट फाइल गरिन्छ । जुन ११ सम्म पनि पेन्डिङ रहेका केसहरुको सन्दर्भमा युएससीआईएसले नयाँ रिसिप्ट जारी गर्नेछ जसमा अवधि सकिएको ग्रिनकार्डले पनि १८ महिनासम्म काम गर्ने उल्लेख हुनेछ ।

अमेरिकाको शर्तसहितको अस्थायी ग्रिनकार्ड लिएकाहरुले अमेरिकाबाहिर १ बर्ष वा त्यो भन्दा बढी यात्रा गर्नुपरेमा भने रिइन्ट्री परमिट लिनुपर्ने हुन्छ । ट्राभल डकुमेन्ट आवेदन आई १३१ फाइल गरेर त्यस्तो अनुमति लिन सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com