अमेरिकाले थप्यो टीपीएसको अवधि, ६० दिनभित्र पुन:आवेदनको आग्रह


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

 

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रबिहिन नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि थप गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि १८ महिना थप्ने घोषणा गरेको छ । सन् २०१६ को डिसेम्बर २५ बाट लागु हुनेगरी टीपीएसको अबधि अब सन् २०१८ को जुन २४ सम्मका लागि थपिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएसका लागि पुनदर्ता र वर्क परमिट रिन्युका लागि निश्चित मापदण्डहरु तोकेको छ । पहिले टीपीएसका लागि आफूलाई दर्ता गरेकाहरु र आवेदन स्वीकृत भएकाहरुलेमात्र पुनदर्ता गर्न र वर्क परमिट रिन्यु गर्न सक्ने जनाइएको छ ।

टीपीएसको अवधि थपिएकोबारे डिपार्टमेन्ट अफ होमल्याण्डको सुचना पढ्न यहाँ क्लिक गर्नुहोला ।

पहिले टीपीएसका लागि आवेदन नदिएका नेपाली वा अमेरिका आउनुअगाडि नेपालमा बसेकाहरुले पनि मापदण्डपूरा गरेर टीपीएसका लागि बिलम्ब दर्ता प्रकृया अनुशार आवेदन दिनसक्ने जनाइएको छ । तर त्यसका लागि बिलम्ब हुनुको कारणबारे कम्तीमा एउटा मापदण्ड पूरा गरेको र सन् २०१५ को जुन २४ देखि अमेरिकामा बस्दै आएको हुनुपर्ने जनाइएको छ ।

बिलम्ब फाइलका लागि स्वेच्छिक डिपोर्टका लागि अनुमति दिइएको वा डिपोर्टहुनबाट उन्मुक्ति दिइएको अवस्था वा स्टेटस परिवर्तन, एड्जस्टमेन्ट, शरणार्थीका लागि आवेदन दिएको वा पेरोलीका रुपमा रहेको वा रिपरोलको अनुरोध पेन्डिङ अवस्थामा रहेको वा दम्पत्ति टीपीएका लागि योग्य रहेको लगायतका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

त्यो बाहेकका अन्य मापदण्डका लागि यहाँ क्लिक गर्नुहोला ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१६ को डिसेम्बर २४ मा अवधि सकिएका वर्क परमिट ६ महिनाका लागि स्वत रिन्यु गर्ने र त्यसको अवधि सन् २०१७ को जुन २४ सम्म पुर्याइने जनाएको छ । अक्टोबर २६ को ६० दिनभित्रै टीपीएसका लागि आफूलाई पुन दर्ता गर्नुपर्ने जनाइएको छ । वर्क परमिटको अवधी समाप्त हुँदासम्म नकुरेर ६० दिनको अवधि भित्रै पुन दर्ता गराउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनुरोध समेत गरेको छ ।

टीपीएसपछि अमेरिकामा रहेका नेपाली

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका रहेका नेपालीहरु पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गरिरहेका छन् । टीपीएसप्राप्त गरिसकेपछि कैयन नेपालीहरु एड्भान्स परोल अर्थात् यात्राअनुमतिपत्र प्राप्त गरेर नेपाल पुगेर आफ्ना परिवारलाई भेटेर समेत फर्किसकेका छन् ।

विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गरिरहेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गरिरहेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्ने भएकाले त्यस्ता व्यक्तिले पनि टीपीएसबाट फाइदा लिइरहेका छन् । उनीहरुको टीपीएस स्वीकृत भएमा अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ ।

कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।

यो पनि पढ्नुहोस्

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com