डोनाल्डको हार्ने डर, हाइट चुम्दै हिलारी


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

किशोर पन्थी

अब नोभेम्बर ८ मंगलबार हुने अमेरिकी राष्ट्रपतीय चुनावको ‘यति दिन बाँकी’ भन्दै उल्टो दिनगन्ती सुरु भएको छ । चुनाव नजिकिदै गर्दा राष्ट्रपतिका उम्मेदवारहरुले एकले अर्कालाई नंग्याउने र खुइल्याउने क्रमपनि लगभग अन्तिम चरणमा पुगेको छ । अन्तिम चुनावी बहस पनि सकिएको छ । अब मतदाताहरु आफ्नो उम्मेदवार अमेरिकाको राष्ट्रपति भएको देख्न आतुर छन् । र, नोभेम्बर ८ को प्रतिक्षामा छन् ।

डोनाल्डको डर

राष्ट्रपतीय चुनावका लागि सानातिना पार्टीहरुबाट अन्य कैयन उम्मेदवारहरु रहेपनि मुख्य प्रतिपस्र्धी भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प नै हुन् । चुनाव आउन तीनहप्ता पनि बाँकी नरहँदै भएको चुनावी बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू यदि पराजित भएमा त्यसको नजिता स्वीकार्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन् । चुनाव कस्लाई जिताउने र कस्लाई हराउने भन्ने पूर्व तयारी भइसकेको आरोप लगाउँदै आएका ट्रम्पले आफू पराजित भएमा चुनावी नतिजा स्वीकार्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका हुन् । यसबाट चुनाव नजित्ने डरले डोनाल्ड ट्रम्पभित्र घर गरिसकेको प्रष्ट भएको छ ।

चुनावी सर्वेक्षणहरुले हिलारी क्लिन्टनको जीत सुनिश्चित गरिरहँदा डोनाल्ड ट्रम्पले आफूले जीत्ने ‘कन्फिडेन्ट’ गुमाएका छन् । अन्तिम चुनावी बहस पनि आरोप प्रत्यारोपमा नै केन्द्रीत रह्यो । बहसका क्रममा दुबै प्रतिस्पर्धीहरुले हातमिलाउन समेत अस्वीकार गरेका छन् ।

बहसमा डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका कागजपत्रबिहिनहरुलाई देशनिकाला गर्ने र सिमामा कडाई गर्ने प्रतिबद्धता जनाएका छन् भने हिलारीले मध्यमबर्ग लागि अगाडि बढाउने, महिलाको समान ज्याला, गर्भपतनको अधिकारको रक्षा, समलिंगी र तेश्रोलिंगीको अधिकारका पक्षमा उभिने बताएकी छिन् ।

अमेरिकी चुनावको परिणाम जस्तो आएपनि स्वीकार्ने परम्परा विपरित डोनाल्ड ट्रम्पले दुईपटकसम्म चुनावी परिणाम स्वीकार्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेपछि हिलारीले भनिन् –‘यो भयानक कुरा हो । उनले हाम्रो डेमोक्रेसी कै अबमूल्यन गरिरहेका छन् ।’

बहसका क्रममा हिलारीले पुटिनले अमेरिकामा आफ्नो कठपुतली चाहने भएकाले डोनाल्ड ट्रम्प राष्ट्रपति भएको देख्न चाहेको बताइन् भने ट्रम्पले सिमाक्षेत्रमा पर्खाल लगाउने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने बताए । त्यस्तै क्लिन्टनले दोश्रो विश्वयुद्धपछिकै ठूलो रोजगारमुलक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन् भने ट्म्पले आफनो र्यालीले हिलारीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग मिलेर हिंशा मच्याएको आरोप लगाए ।

के भन्छन् अमेरिकी संचारमाध्यमहरु ?

बीबीसीले अन्तिम चुनावी बहसको रात डोनाल्ड ट्रम्पका लागि अशुभ भएको बताएको छ । डोनाल्ड ट्रम्पले आफूलाई सर्बोच्च प्रमाणित गर्ने प्रयास गरेको बीबीसीले बताएको छ ।

बहसमा ट्रम्पको अहिलेसम्मकै शशक्त प्रस्तुती भएको बताउने दक्षिणपन्थी धारको फक्स न्युजले समेत चुनावी परिणाम स्वीकार गर्ने प्रतिबद्धता जनाउन नसक्दा ट्रम्पले अहिलेसम्मको हासिल गर्ने चुनावी प्रगति पहिलेकै अवस्थामा फर्कने बताएको छ ।

त्यस्तै ट्रम्पको समर्थक ब्रेइटबार्ट समाचारले समेत डोनाल्ड ट्रम्पले चिजलाई आफ्नो पक्षमा पार्न नसकेको बताएको छ । १ लाख ७२ हजार ५ सय ५० जनाले मतदानको गरेको पाठक सर्वेक्षणमा हिलारीले ५८ प्रतिशत र डोनाल्ड ट्रम्पले ४१ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै वासिंटन पोष्टले ट्रम्पले बहसको सुरुवात राम्रो गरेपनि अन्त्यतिर खराब बनेको टिप्पणी गरेको छ । त्यस्तै न्युयोर्क टाइम्सले हिलारी क्लिन्टको प्रस्तुतीको प्रशंसा गर्दै ट्रम्पको प्रस्तुतीको कडा आलोचना गरेको छ ।

ओबामाले गरे आलोचना

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले आफूले जित हासिल गरे मात्रै चुनावको परिणाम स्वीकार गर्ने बताएपछि राष्ट्रपति बराक ओबामाले त्यसको चर्को आलोचना गरेका छन् । ओबामाले पनि हिलारीले जस्तै ट्रम्पको अभिव्यक्ति प्रजातन्त्रका लागि खतरनाक भएको टिप्पणी गरेका छन् ।

उनले चुनावमा धाँधली भएको एउटै पनि प्रमाण नदिइ राष्ट्रपति पदका रिपलिब्कन उम्मेदवार ट्रम्पले चुनावको वैधतामाथि आशंका उत्पन्न गराउन खोजेको आरोप लगाएका छन् । हिलारी क्लिन्टनसँगको अन्तिम टेलिभिजन बहसमा ट्रम्पले मतदानमा पराजित भए नतिजा स्विकार गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ ।

यसैबीच ओहायोमा बोल्दै ट्रम्पले चुनावी परिणाम स्पष्ट आए त्यसलाई स्वीकार गर्ने तर कुनै पनि प्रश्न उठ्ने नतिजालाई चुनौती दिने बताएका छन् । तर मायमीमा हिलारीको चुनावी अभियानमा बोल्दै ओबामाले ट्रम्पका पछिल्ला भनाइ प्रजातन्त्रमा अस्वीकार्य रहेको धारणा राखेका हुन् । चुनावमा पराजित भएपनि हार नस्वीकार्ने संकेत गरेका ट्रम्प अमेरिकी इतिहासमै यस्तो धारणा राख्ने प्रमुख पार्टीका पहिलो उम्मेदवार भएको भन्दै ओबामाले यो ठट्टाको विषय नभएको बरु खतरनाक बिषय रहेको बताएका छन् ।

अमेरिकी चुनावमा धाँधली हुन्छ ?

अमेरिकी चुनावमा धाँधली गर्ने तयारी भइरहेको डोनाल्ट ट्रम्पले आरोप लगाउँदै आएका छन् । भोटर फ्रड गर्ने तयारी भइरहेको रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भविश्यवाणी गरेका छन् । अमेरिकामा अत्यन्तै सामान्य स्तरमा भोटर फ्रड हुने भएपनि ट्रम्पले भनेजस्तो ठूलो परिणाममा भोटर फ्रड हुने गरेको छैन ।

सन् २००० देखि २०१४ सम्म हालिएका १ बिलियन भोटहरुमा ३१ जनाले अर्कैको नाममा नक्कली मतदान गरेको लोयला ल स्कुलका प्रोफेसर जस्टिन लेभिटको अनुसन्धानले देखाएको थियो । सन् २०१२ मा न्युज २१ ले भोटर फ्रड भएका २०६८ वटा चुनावको छानविन गर्दा सन् २००० देखि यता १० जनाले अर्कैको नाममा नक्कली मतदान गरेको भेटाएको थियो । अति समान्य रुपमा यसरी भोटर फ्रड हुने भएपनि ट्रम्पले भनेजस्तो ठूलो मात्रामा भोटर फ्रड भने अमेरिकी चुनावमा हुने गरेको छैन ।

डोनाल्ट ट्रम्पका सल्लाहकार रुडी गिलानीले मरेका मान्छेहरुका नाममा मतदान हुने गरेको बताएका छन् । सन् १९८२ मा शिकागोमा भएको चुनावको स्मरण गर्दै उनले त्यतीबेला ७ सय २० जना मरेका व्यक्तिका नाममा मतदान भएको र मरेका व्यक्तिले रिपब्लिकनको साटो डेमोक्र्याटलाई मतदान गर्ने गरेको उनले दावी गरेका छन् । अमेरिकी चुनावमा मरेका व्यक्तिका नाममा मदतान हुने गरेपनि त्यो संख्या अत्यन्तै न्यून रहेको युनिभर्सिटी अफ नोट्रे डेमका प्रोफेशर ल्योयड हितोसीले बताएका छन् ।

चुनावी सर्वेक्षणहरुमा को अगाडि ?

राष्ट्रपतिको चुनाव अगाडि भइरहेका प्राय सर्वेक्षणहरुमा हिलारी क्लिन्टन नै अगाडि देखिएकी छिन् । बीबीसीले गरेको सर्वेक्षणमा २१ अक्टोबरसम्मको अवस्था हेर्दा हिलारीका पक्षमा ४७ प्रतिशत र ट्रम्पका पक्षमा ४३ प्रतिशत मत प्राप्त भएको छ । बीबीसीको सर्वेक्षण अनुशार मुख्य प्रतिस्पर्धा हुने राज्यहरुमध्ये एरिजोनामा हिलारी र ट्रम्पले बराबर अर्थात् दुबैको पक्षमा ४१ प्रतिशत रहेको छ । कोलोराडोको सर्वेक्षणमा हिलारी ९ प्रतिशतले अगाडि छिन् भने फ्लोरिडामा हिलारी ३ प्रतिशतले अगाडि छिन् । जर्जियामा भने डोनाल्ड ट्रम्प ५ प्रतिशतले अगाडि छन् । आयोवामा पनि ट्रम्प ४ प्रतिशतले अगाडि छन् । मिसिगनमा भने हिलारी ११ प्रतिशतले अगाडि छिन् । नेभाडामा हिलारी ४ प्रतिशतले र न्यु ह्याम्पशायरमा ३ प्रतिशतले अगाडि छिन् । ओहियोमा ट्रम्प १ प्रतिशले अगाडि छन् भने नर्थ क्यारोलिना, पेन्सिलभेनिया, भर्जिनिया र विसकन्सिनमा हिलारी अगाडि देखिएकी छिन् ।

त्यस्तै न्युयोर्क टाइम्सले गरेको मत सर्वेक्षणमा हिलारीका पक्षमा ४५ दशमलव ८ प्रतिशत मतदाता रहेका छन् भने ट्रम्पका पक्षमा ३९ दशमलव ५ प्रतिशत मतदाता रहेका छन् । न्युयोर्क टाइम्सको सर्वेक्षण अनुशार जर्जिया, आयोवा, मिजौरी लगायतका राज्यमा ट्रम्प अगाडि छन् भने एरिजोना, ओहियो, फ्लोरिडा, नर्थ क्यारोलिना, विसकन्सिन, न्यु ह्याम्पशायर, मिनेसोटा, पेन्सिलभेनिया, मिसिगन र भर्जिनियामा हिलारी अगाडि छिन् ।

दक्षिणपन्थी धारको फक्स न्युजको मत सर्वेक्षणमा पनि हिलारी ६ प्रतिशतले अगाडि रहेकी छिन् । फक्स न्युजको सर्वेक्षणमा हिलारीले ४५ प्रतिशत र ट्रम्पले ३९ प्रतिशत मत प्राप्त गरेका छन् । फक्स न्युजले विभिन्न इस्युमा गरेको सर्वेक्षण अनुशार अमेरिकालाई राम्रो बनाउनेमा हिलारीले ४७ प्रतिशतल र ट्रम्पले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै विदेश नीति राम्रो बनाउनेमा हिलारीले ५५ प्रतिशत र ट्रम्पले ३७ प्रतिशत मत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय समस्या समाधान, अध्यागमनमा सुधार, न्युक्लियर हतियारबारे निर्णय, सोसल सेक्युरिटी र मेडिकेयर, आतंकवाद र राष्ट्रिय सुरक्षा लगायतका सबै विषयमा ट्रम्पलाई हिलारीले उछिनेकी छिन् भने अर्थतन्त्रमा सुधार ल्याउने विषयमा भने हिलारीलाई ट्रम्पले उछिनेका छन् ।

नोभेम्बर ८ को प्रतिक्षा

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ८ तारिख बिहिबार चुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा हजारौं नेपाली अमेरिकनहरु पनि सहभागी हुनेछन् । अमेरिकामा रहेका नेपालीहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् । अधिकांश नेपालीहरु हिलारी क्लिन्टनका पक्षमा देखिएका छन् भने केही नेपालीहरु रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा पनि देखिएका छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।

सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।

सन् २०१५ मा अमेरिकाभरबाट ७ लाख २९ हजार ९ सय ९५ जना विश्वभरका आप्रवासीहरुले अमेरिकी नागरिकता लिएका थिए जसमध्ये नेपालीहरुको संख्या ३ हजारको हाराहारीमा रहेको थियो । चालु आर्थिक बर्ष २०१६ को अहिलेसम्म झण्डै २ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् , जो अमेरिकी राष्ट्रपति छान्न अधिकारप्राप्त छन् ।

५० प्रतिशत भन्दा धेरैले मतदान गर्ने अनुमान

अमेरिकामा यो वर्ष हुने राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य अमेरिकी नागरिकाप्राप्त व्यक्तिको संख्या झण्डै २५ करोड रहेको छ । जसमध्ये ५० प्रतिशत भन्दा धेरैले राष्ट्रपतीय चुनावमा मतदान गर्ने अनुमान गरिएको छ । किनभने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न योग्यमध्येबाट ५० प्रतिशतको हाराहारीमा मात्र मतदानमा सहभागी हुने गरेका छन् ।

यसअगाडि सन् २०१२ मा सम्पन्न राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य मतदाताहरु २३ करोड ५२ लाख ४८ हजार रहेका थिए तर उनीहरुमध्ये १२ करोड ९२ लाख ३५ हजारलेमात्र मतदान गरे । त्यसबाट ६ करोड ५९ लाख १५ हजार ७ सय ९६ मत बराक ओबामाले प्राप्त गरेका थिए भने ६ करोड ९ लाख ३३ हजार ५ सय मत मिट रोम्नीले प्राप्त गरेका थिए । सन् २०१२ को चुनावमा कुल मतदाताको ५४ दशमलव ९ प्रतिशतमात्र मतदानमा सहभागी भएका थिए ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com