अमेरिकाबाटै आईजीपीको निर्देशन : तिमीहरू जाऊ, मन्त्रीसँग मै कुरा गर्छु


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा तानिएका दुई प्रहरी उपरीक्षक (एसपी) प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको आदेशमा कार्यक्षेत्र फिर्ता भएका छन् । आफ्नो आदेशअनुसार अभियुक्त नछाड्ने भन्दै गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई आईजीपी अर्यालले बुधबारै कार्यक्षेत्रमा फिर्ता पठाएका हुन् ।

आईजीपीको अधिकारलाई चुनौती दिँदै गृहमन्त्री निधिले पर्सामा पक्राउ परेका हुन्डी कारोबारी र सिरहामा अपहरणकारीलाई कारबाही नगर्न दिएको आदेश पालना नगर्दा आईजीपी विदेशमा रहेका बेला पर्साका श्रेष्ठ र सिरहाका ज्ञवालीलाई कारबाहीस्वरूप तानिएको थियो ।

‘गृहमन्त्रीको आदेशमा उनीहरूलाई प्रधान कार्यालय तानिएको थाहा पाएपछि आईजीपी अर्यालले अमेरिकाबाटै एसपीलाई फोन गर्दै कार्यक्षेत्र जान निर्देशन दिएका हुन् । ‘तिमीहरू कार्यक्षेत्र जाऊ, गृहमन्त्रीसँग म आएर कुरा गर्छु,’ आईजीपी अर्यालको निर्देशन उद्धृत गर्दै प्रधान कार्यालयका एक अधिकारीले भने । प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ ।

आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेको ती अधिकारीको भनाइ छ । काममा राम्रो छवि बनाएका दुवै एसपीलाई आईजीपी अर्यालले मधेस आन्दोलनकै बेला जिल्ला प्रमुख बनाएर पठाएका थिए ।

आइतबार उनीहरूलाई ब्रिफिङका लागि भन्दै प्रधान कार्यालय बोलाइएको थियो । तर, उनीहरूलाई न त ब्रिफिङ लिइयो न त गृहमन्त्रीले नै भेट दिए । गृहमन्त्रीलाई भेट्न निमित्त आईजीपी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मासँगै पुगेका दुवै एसपीले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेर फर्केका थिए । राजनीतिक हस्तक्षेप नगर्ने भन्दै आएका निधिले धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेरै छाडेका थिए । पहिलोपटकको हस्तक्षेप सफल भएपछि मन्त्रीले दोस्रोपटक आईजीपी काठमाडौंमा हुँदै सरुवा गर्न निर्देशन दिएका थिए ।

एसपी श्रेष्ठ र ज्ञवालीले आफूले भनेको नमानेकै कारण सरुवा गर्न दबाब दिए पनि आईजीपी अर्यालले असम्भव भन्दै अमेरिका गएपछि निमित्त प्रमुख शर्मालाई दबाब दिएर प्रधान कार्यालय झिकाइएको थियो । उनीहरू काठमाडौं आएलगत्तै व्यापक विरोध भएको थियो । ‘राजनीतिक दलको भ्रातृ संगठन जसरी चल्ने यो २०५० सालतिरको प्रहरी संगठन होइन, अहिले ०७३ सालको प्रहरी संगठन हो, आईजीपीको अडान सही छ सरुवा भए पनि उनीहरूको नियमित सरुवा हुन्छ, आकस्मिक हुँदैन,’ प्रधान कार्यालयका अर्का अधिकृतले भने ।

एसपी श्रेष्ठसहितको टोलीले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो रकमसहित हुन्डी कारोबारी सन्तोष जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेको थियो ।

अवैध हुन्डी कारोबारी पक्राउ परेलगत्तै गृहमन्त्री निधिले छोड्न आदेश दिएका थिए । वीरगन्जका व्यवसायी तथा पूर्वसांसद ओमप्रकाश शर्माको दबाबमा गृहमन्त्रीले हुन्डी कारोबारीलाई छाड्न र कुनै मुद्दा नचलाउन आदेश दिएका थिए । तर, एसपी श्रेष्ठले जागिर गए पनि छाडिन्नँ भन्दै मुद्दा चलाउने बताएपछि उनको सरुवाका लागि गृहमन्त्री निधिले आईजीपीलाई आदेश दिएका राजधानीमा खबर  छ । आईजीपीले नमानेपछि अमेरिका रहेका बेला निमित्त आईजीपी शर्मालाई धम्की दिएर दुवै एसपीलाई आइतबार प्रधान कार्यालयमा हाजिर हुन लगाइएको थियो ।

त्यस्तै, सिरहाका प्रहरी प्रमुख ज्ञवालीले इन्जिनियर देवानन्द मण्डलको अपहरणमा संलग्न रहेको पाइएपछि माओवादी नेता तथा पूर्वमन्त्री विश्वनाथ साहलाई पक्राउ गर्ने टोली खटाएका थिए । पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्द मुद्दा दर्ता भएको थियो । सोही कारण उनलाई पनि कारबाहीस्वरूप तानिएको थियो । तर, आईजीपीले तत्कालै कार्यक्षेत्र जान निर्देशन दिएर फिर्ता पठाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com