अष्ट्रेलियामा तीस हजार नेपाली विद्यार्थी


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

हेमन्त काफ्ले

अष्ट्रेलियामा उच्च अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सर्वाधिक तेस्रो नम्बरमा रहेका नेपालीको संख्या दिनानुदिन बढिरहेको छ।

अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा हालसम्म ५ लाख ९ हजारभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया भित्रिएका छन्।

गत वर्षको संख्याभन्दा यो १२ प्रतिशतले बढी हो। अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांक अनुसार अहिले अष्ट्रेलियामा झण्डै ३० हजार नेपाली  विद्यार्थी छन्।

तथ्यांक अनुसार गत वर्ष जम्मा १८ हजार ५ सय ९२ रहेको नेपाली विद्यार्थीको संख्या एक वर्षमा बढेर २९ हजार २ सय ६१ पुगेको छ। विश्वविद्यालय र कलेजमा भर्ना भएका नेपाली विद्यार्थी अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत बढेको हो।

तथ्यांक अनुसार अहिले १९ हजार ६६ जना नेपाली विद्यार्थी विश्वविद्यालय उच्च शिक्षा अध्ययनरत छन्। जुन संख्या गत वर्ष १३ हजार ४ सय ५१ मात्र थियो। त्यसैगरी गत वर्ष ३ हजार ५ सय नेपालीहरुले भोकेसनल कोर्स गरिरहेकोमा यस वर्ष यो संख्या ह्वात्तै बढेर ८ हजार ५ सय ७३ पुगेको छ।

अस्ट्रेलीयामा यस वर्ष अध्ययन गर्न आउने अन्तराष्ट्रिय विद्यार्थीहरूमा कोलम्बियाका २९ प्रतिशत, ब्राजिलका २७ प्रतिशत, भारतका १७ प्रतिशत र चीनका १६ प्रतिशत विद्यार्थी बढेका छन्।

विद्यार्थीको संख्यामा वृद्धि भएसँगै अन्तर्राष्ट्रिय विद्यार्थी बजार पनि २०१६ पछि २२ प्रतिशतले बढेको छ। अष्ट्रेलियामा शैक्षिक बजार मूल्य बढेर अहिले ३२.२ बिलियन डलर पुगेको छ।

विद्यार्थीको संख्या बढेसँगै कामको क्षेत्रमा विद्यार्थीमाथि हुने शोषण बढ्न सक्ने हुँदा त्यसतर्फ अब ध्यान दिइनुपर्ने कुरा अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्सका अध्यक्ष नीरज श्रेष्ठले बताए।

नेपाली विद्यार्थीको संख्यासँगै समस्या पनि बढ्नसक्ने विषयमा नेपाली राजदूतावास चनाखो हुनुपर्ने ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीको संगठन काउन्सिल अफ इन्टरनेशल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले सेतोपाटीसँग भने।

‘राजदूतावासले माखो मारेन, यहाँ रहेका नेपालीको हीतका लागि निकै ठूलो संघर्ष गरेर स्थापना भएको राजदूतावासले अझसम्म विद्यार्थीका यत्रा ठूलो समस्या हुँदासम्म सम्बोधनसमेत गर्न सकेको छैन,’ उनले भने, ‘वर्षेनी तीन लाख डलर ख़र्च धानेर स्थापना भएको दूतावासको जिम्मेवारी भीत्र नेपाली विद्यार्थी पर्छन् जस्तो लागेन।’

अष्ट्रेलियाको नेपाली दूतावास अझैसम्म पनि पारपोर्ट र भिसा भन्दा बाहिर जान नसकेको रूपन्देहीका निश्चन आचार्यले गुनासो गरे।

‘पासपोर्ट र भिसा भन्दा माथि उठ्न नसकेको दूतावासले यत्रो समस्या देखिँदा पनि विद्यार्थीको विषयमा एउटा कार्यक्रम समेत नगर्नू उदेक लाग्दो छ,’ आचार्यले भने।

मानसिक रोग आत्महत्या, काम र कोठाका समस्याबाट पीडित नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको सडका भौतारिँदासमेत राज्यको जिम्मेवार निकाय टुलुटुलु हेरेर बस्नु नहुने काउन्सिल अफ इन्टरनेशल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले बताए।

सानोठिमीका सन्दीप भट्टराई अस्ट्रेलिया आएको केही वर्ष भए पनि दूतावासले विद्यार्थीको नाममा सिन्को नभाचेँको स्मरण गरे। ‘क्यानबेरामा दूतावास छ भन्ने सुनेका छु, तर महसुस गरेको छैन,’ सन्दीपले भने।

यतिखेर नेपाल सरकारले अस्ट्रेलियन राजदूतावासका लागि क़रिब २० हज़ार भाड़ा,२० हजार तलब, २० हज़ार ईन्धन, मसलन्द र अन्य गरी मासिक करिब ६५ हज़ार डलरको ब्ययभार बोक्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com