एक अर्बको सम्पत्ति अस्पताललाई दान गर्ने शाह दम्पतीलाई गरियो, नागरिक अभिनन्दन


प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार

वैशाख ५, बाँके । नेपालगन्ज– करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति नेपालगन्जको फत्ते–बाल आँखा अस्पताललाई दान गर्ने दम्पत्ति श्रीजंग शाह र रुद्रकुमारीलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । आँखा अस्पतालालाई सुविधासम्पन्न बनाई लाखौं विपन्न जनतालाई गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यले जग्गा दान गर्ने शाह दम्पतीलाई नेपालगन्जवासीले अभिनन्दन गरेका हुन्।
९१ वर्षीय श्रीजंगलाई बग्गीमा राखेर बाजागाजासहित नेपालगन्ज शहरको परिक्रमा गराइएको थियो । रुद्रकुमारी अस्वस्थताका कारण अभिनन्दन कार्यक्रममा सहभागी हुन सकिनन्। उनले काठमाडौं महानगरपालिका वडा नम्बर १ कान्तिपथको करिब ५ कठ्ठा जग्गा अस्पतालाई दान गरेका थिए। शाहले आफू बस्दै आएको घर–जग्गा मरणोपरान्त अस्पतालको स्वामित्वमा जानेगरी दान गरेका हुन्। सो जग्गाको चलनचल्तीको मूल्य करिब १ अर्ब छ।

शाहका बुवा फत्तेजंग शाह र आमा बालकुमारी शाहले दानमा दिएको घर र जग्गामा २०४३ सालमा फत्ते–बाल आँखा अस्पताल निर्माण भएको थियो। उनीहरुले नेपालगन्जको फुटेग्रास्थित २० कोठाको आफ्नो घर रहेको करिब ३० कठ्ठा जग्गा अस्पताललाई दान गरेका थिए। बुवाआमाले समाजका लागि दान गरेर सेवा पु¥याउने कार्यलाई निरन्तरता दिँदै छोरा श्रीजंगले काठमाडौं कान्तिपथको जग्गा सोही अस्पतालाई दान गरेका हुन्।

सो अस्पतालबाट नेपालगन्जसहित पश्चिम नेपालका साथै छिमेकी देश भारतका विभिन्न शहरका गरिब तथा विपन्न नागरिकले उपचार सेवा पाउँदै आएका छन्। अस्पताल व्यवस्थापनले दाताको चाहना र प्रेरणाबाट अस्पतालको सेवा बिस्तार गर्दै अहिले २ सय ५० बेडबाट सेवा दिँदै आएको छ। अस्पतालले गत आर्थिक बर्षमा १ लाख २० हजार ७ सय ३७ बिरामीको आँखा परीक्षण गरी उपचार गर्नुका साथै तीमध्ये ११ हजार ७ सय १ बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ। अस्पतालमा ३ जना नेत्र विशेषज्ञ, १६ जना नेत्र सहायकसहित ७१ जना कर्मचारी कार्यरत छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com