सिमानामा गैरकानुनी प्रवेश रोक्न अमेरिकी राष्ट्रपतिले दिए गृह, न्याय र रक्षालाई कडा निर्देशन


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

सिमा सुरक्षा र सिमाक्षेत्रबाट कागजपत्रविहिनहरुको गैरकानुनी प्रवेश रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृह, न्याय र रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । सिमा क्षेत्रमा गैरकानुनी गतिविधि बढेको तथा सिमाक्षेत्रको अवस्था संकटमा पुगेको भन्दै ट्रम्पले सिमाक्षेत्रमा नेशनल गार्ड परिचालनका लागि मन्त्रालय र विभागहरुलाई निर्देशन दिएका हुन् ।

दक्षिणी सिमा सुरक्षाका लागि सेक्रेटरी अफ डिफेन्सले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सहयोग गर्ने तथा लागुऔषध, कागजपत्रविहिनको गैरकानुनी सिमा प्रवेश, अन्य अपराधी र ग्यांग सदस्यहरुको प्रवाह रोक्न आवश्यक कदम चाल्ने राष्ट्रपतिको निर्देशनमा जनाइएको छ । त्यसका लागि सेक्रेटरी अफ डिफेन्सले नेशनल गार्ड परिचालनका लागि अनुरोध गर्ने जनाइएको छ ।

सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले नेशनल गार्ड लगायत सबै सैन्य कर्मचारीलाई आवश्यक तालिम र दिशानिर्देशका लागि सेक्रेटरी अफ डिफेन्सलाई सघाउनेछन् । त्यस्तै सेक्रेटरी अफ डिफेन्स र सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले महान्यायाधिवक्तासँगको समन्वयमा सिमा सुरक्षाका लागि काम गर्नेछन् । राष्ट्रपति ट्रम्पले आगामी ३० दिनभित्र यसबारेको प्रगति विवरण पेश गर्न समेत रक्षा, गृह र न्याय मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com