‘बोइलिङ पोइन्ट’मा बेलायतका नेपाली पत्रकार ?


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

-चिम्खोले काईँला

अचेल बेलायतको मौसम त अति नै चिसो छ । तर, नेपाल पत्रकार महासंघ बेलायतमा गमागर्मी बढेर बोइलिङ पोइन्टमा पुगेको छ । अर्थात् एकसय डिग्रीमा पुगेको देखिन्छ र अधिवेशनको पूर्वसन्ध्यामा यसरी बोइलिङ पोइन्टमा पुग्नु आफैमा निक्कै अर्थपूर्ण छ । महासंघको पार्सद तथा सभासद भएको हैसियतले यतिखेर यस बिषयमा मैले केही लेख्नुपर्छ भन्ने जिम्मेवारी सम्झेको छु र लेख्दैछु ।

अध्यक्ष नरेश खपांगी लगायत पदाधिकारीहरुसँग आधिकारिक कुरो बुझेको छैन तर सामाजिक संजालहरुमा सम्प्रेषित गरेको कमेन्टहरुलाई सरसर्ती नियाल्दा बेलायती मात्र नभएर नेपाली पत्रकारहरुको मर्म र भावनाको घेराभन्दा बाहिर गयोकि भन्ने महसुस भइरहेको छ । पत्रकार र पत्रकारिताको भावना र मर्मलाई आत्मसात गर्दै हामीबीचमा देखिएका अमिला र नमिल्दा कुरालाई मत्थर पार्नका लागि पनि हामी सबैको साझा भूमिका हो भन्ने लागेको छ ।

केही दिन अगाडिसम्म एकपक्षले महासंघले अधिवेशनको मिति तोक्न सकेन, यो कार्यसमितिको कार्यावधि दुई वर्ष मात्र हो तर दुई वर्षभन्दा बढी भयो, त्यसैले अब यो महासंघ अबैधानिक हो भन्दै कुर्लेर हिडेको देखिन्थ्यो भने महासंघका अध्यक्ष नरेश खपांगी लगायत पदाधिकारीले भने महासंघको बिधान तथा बिगतको कार्यसमितिको निर्णयानुसार महाधिवेसनमा नेपाल पत्रकार महासंघ वर्तमान अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा महाधिवेशन सम्पन्न गराउनुपर्ने निर्णय भएको हुँदा अध्यक्ष गोबिन्द आचार्यलाई सम्पर्क गर्दा उनलाई महासंघको महाधिवेशनमा उपस्थिति हुने प्रबल इच्छा भएको तर सो समयमा नेपालको सात वटै प्रदेशमा नेपाल पत्रकार महासंघको कार्य समिति गठन गरिदिनुपर्ने जिम्मेवारी थपिएको हुँदा नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन सार्न निर्देशन दिएको बुझिन्छ र जसको कारणले गर्दा तथा गोबिन्द आचार्यको निर्देशनमा नेपाल पत्रकार महासंघ बेलायतको महाधिवेशनको मिति आगामी मे महिनाको १९ तारिकमा तोकेको बुझिन्छ ।

नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष तथा कार्यसमितिले अधिवेशनको मिति तोकिए पनि अर्के पक्षले सदस्यता वितरणमा व्यापक धाँधली भयो भनेर आपत्ति जनाएको सामाजिक संजालमा पढ्न पाइन्छ । सामजिक संजालको समाचार सम्प्रेषण गरेनुसार कुनै कुनै ब्यक्ति तथा संस्थाले नेपाल पत्रकार महासंघ युकेले सदस्यता वितरणको विषयलाई लिएर ब्यापक धाँधली भएको दाबी गर्नुका साथै एकादुइ संस्थाहरुले त प्रेस विज्ञाप्ति पनि जारी गरेका छन् ।

सामाजिक संजाल तथा बिज्ञाप्तिमा सम्प्रेषण गरिएको समाचार अनुसार नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष नरेश खपांगी तथा उनका कार्यसमितिले ब्याबसाहिक तथा योग्यता भएका पत्रकारलाई सदस्यता नदिएर दोहोरी गीत गाउने गायक, पन्चे तथा नौमती बाजा बजाउने दलित तथा गीत संगीत लयबद्ध गर्ने संगीतकार, गीत, कथा, कबिता, गजल तथा उपन्यास लेख्ने साहित्यकार, शैक्षिक योग्यता नभएको लाहुरे, फिल्म निर्माण गर्ने फिल्म निर्माता तथा रेस्टुरेन्टको क्लिनर, किचन पोर्टर समेतलाई सदस्यता बितरण गरेको आरोप छ । यो आरोप लगाउनुमा व्यक्तिगत, संस्था तथा एउटा बर्गको पनि विशेष चाहना छ जस्तो लागिरहेको छ । जसले आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीको स्पेस बनाउन खोजेको तर समयानुकुल नभएमा जसरी भएपनि महाधिवेशन तहसनहस पार्ने उद्देश्य रहेको स्पष्ट बुझिन्छ । यदि यो कुरो साँचो हो र पुष्टि भयो भने बेलायती पत्रकारितामा एउटा नमिठो अध्यायको शुरुवात हुनेछ ।

मेरो आफ्नो विश्लेषानुसार बेलायतमा पत्रकारिता मात्र गरेर बसेकाहरु औंलामा गन्न सकिन्छ होला तथा पत्रकारितासँगै अन्य पेशा व्यवसाय गर्नेहरुको संख्या व्यापक छ भन्ने मलाई लाग्दछ । बेलायतका पत्रकारहरु बिभिन्न पेशामा संलग्न छन्, त्यसैले अर्कालाई आरोप लगाउनेभन्दा पहिला धेरै कुरोहरुको बिचार गर्नुपर्छ जस्तोलाग्छ ।

उदाहरणका लागि पत्रकारको योग्यता कति तोक्ने भन्ने प्रश्न उठ्नसक्छ । लौ मानौ योग्यता ब्याचलर डिग्री तोकियो । त्यसपछि कुन बिषयमा ब्याचलर डिग्री गरेको हो भन्ने प्रश्न उठ्नसक्छ । आमसञ्चार पढेको हुनुपर्छ भनिएला तर आमसञ्चार पढेको पत्रकार भन्दा अन्य बिषय पढेको पत्रकारको कार्य क्षमता राम्रो हुजसक्छ । यसरी पत्रकारले पत्रकारिताको भूमिका निभाउनुको साटो व्यक्ति संघ–संस्थालाई आरोप लगाउनु कदापि राम्रो परिपाटी होइन । पत्रकार महासंघ बेलायतको सदस्यता वितरणबारे संस्थाको आधिकारिक मापदण्ड छ होला । सो मापदण्ड अनुसार सदस्यता वितरण गरेको हुनुपर्छ ।

यदि महासंघले संस्थाको नीति नियमबिपरित कार्य गरेको छ भने सच्याउनका लागि हामी सबैले औंला ठड्याउनुपर्छ । त्यो हाम्रो धर्म हो । पत्रकारहरु आफ्नो ब्याबसायिक पेशा मोडल, नायक, नायिका, दोहोरि गीत गायिका, नृत्यकार, हाँस्य व्यंग्य कलाकार, लाहुरे, साहित्यकार, गजलकार, गीतकार, फिल्म निर्माता तथा जोकोही भएता पनि पत्रकार हुनसक्छन र उनीहरुको नैसर्गिक अधिकारको कुरो पनि हो । पत्रकारले सूचना सम्प्रेषण गर्ने हो । सही सूचना सम्प्रेषण गर्न सक्यो सकेन भनेर पाठक, दर्शक र स्रोतले मूल्यांकन गर्ने कुरा हो । विगतमा कुन पेशा र व्यवसाय गथ्र्यो भन्ने कुरालाई आधार मान्नुभन्दा वर्तमानमा खास के गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो ।

अन्त्यमा हाम्रो नेपाली राष्ट्रिय गीत ‘सयौं फुलका थुङ्गा हामी एउटै माला नेपाली’ भनेझैँ हामी बेलायतबासी नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बेलायतलाई मजबुत बनाउने हाम्रो कर्तब्य हो र संघ–संस्थाको आ–आफ्नो बिधान, नीति–नियम तथा प्रक्रिया हुन्छ, जसलाई अक्षरस पालना गर्नुपर्छ । पत्रकारको मूलधर्म भनेको सत्य, तथ्य र निष्पक्षलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नुका साथै आधिकारिक माध्यमबाट सम्प्रेषण गर्नु हो व्यक्ति तथा संस्थालाई गाली–गलौज गर्न र उजुरी दिनको लागि आधिकारिक मिडियामार्फत समाचार सम्प्रेषण गर्नुपर्छ । सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ र यी कुराहरुलाई ख्यालराखिएन भने व्यक्ति तथा संस्थालाई मानहानि हुन्छकि जस्तो लाग्छ । जे भएपनि बरिष्ठ तथा कनिष्ठ पत्रकार एक–अर्काले एकअर्कालाई सम्मान गर्न सिक्नुपर्छ कि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com