ट्रम्पको डाका डेडलाइन समाप्त, अब के होला ?


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको डेडलाइन सोमबार समाप्त भएको छ । ट्रम्पले गत सेप्टेम्बरमा डाका अन्त्यको घोषणा गर्दै मार्च ५ पछि डाका समाप्त हुनेको म्याद नथप्ने घोषणा गरेका थिए ।

तर ट्रम्पको डाका डेडलाइन समाप्त भएपनि डाका कार्यक्रम भने समाप्त भएको छैन । मार्च ५ पछि डाकाको अवधि सकिनेहरुले पनि तत्कालका लागि नविकरणको आवेदन दिन पाउने भएका छन् ।

गत जनवरी १० मा क्यालिफोर्नियाका संघीय न्यायाधिसले डाका कार्यक्रम बाँकी नै रहने निर्णय सुनाएका थिए । न्यायाधिसको निर्णयले तत्कालका लागि ट्रम्पको डाका अन्त्य गर्ने योजनालाई कार्यान्वयनमा रोक लगाएको थियो । पछि फरबरी १३ मा अर्का संघीय न्यायाधिसले देशभरका लागि अर्को निर्णय सुनाउदै डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको योजनालाई रोकेका थिए । ट्रम्पप्रशासनले डाका रद्दका लागि गरेको प्रयास फरबरी २६ मा सर्बोच्च अदालतले पनि अस्वीकार गरेको थियो ।

दोश्रो निर्णयले गत सेप्टेम्बर ५ भन्दा पहिले डाकाबाट संरक्षण प्राप्त गरिसकेकाहरुलाई नविकरणका लागि बाटो खोलिदिएको छ । उनीहरुलाई मार्च ५ को डेडलाइन लागु हुनेछैन । अर्थात् यदि कुनै व्यक्ति सेप्टेम्बर ५ अगाडि नै डाकाप्राप्त गरिसकेको छ भने उसले मार्च ५ को डेडलाइनपछि पनि डाका नविकरणका लागि आवेदन दिनसक्नेछ । तर डाकाका नयाँ आवेदनभने अमेरिकी सरकारले लिनेछैन ।

अमेरिकामा झण्डै ७ लाख आप्रवासीहरु डाकाबाट संरक्षित रहेका छन्, जसमा ६० जना नेपालीहरु पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com