आईआरएस र युएससीआईएसबाट भन्दै अमेरिकामा फोन गरेर ठग्ने भारतमा पक्राउ


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

– किशोर पन्थी

आईआरएस र युएससीआईएसका नाममा भारतबाट नक्कली फोन गरेर अमेरिकामा रहेकाहरुलाई ठग्नेहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अमेरिकामा बस्ने हजारौैलाई आईआरएस र युएससीआईएसबाट भन्दै फोन गरेर लाखौं डलर ठग्नेहरुलाई भारतीय प्रहरीले धमाधम पक्राउ गरेको हो । भारतमा रहेका कल सेन्टरहरुबाटै यस्तो गतिविधि भइरहेको तथ्य सार्वजनिक भएपछि भारतीय प्रहरीले ७० जनालाई पक्राउ गरेको छ भने अरु सयौंसँग बयान लिइरहेको छ । यस्ता नक्कली फोनबाट अमेरिकामा रहेका कैयन नेपालीहरुसमेत पीडित बन्दै आएका छन् ।

मुम्बई प्रहरीका अनुशार अमेरिकामा रहेका अमेरिकी नागरिक र अमेरिकामा बस्ने अन्य देशका नागरिकहरुलाई फोन गरेर ठगी गर्नेहरु पक्राउ परेका हुन् । उनीहरुले ट्याक्स तिर्न बाकी रहेको र तुरुन्तै मनी अर्डरमार्फत फोनबाट नतिरे कडा कारवाही हुने भन्दै ठग्दै आएका थिए । ठगहरुले हरेक दिन डेढलाख डलरसम्म फोनमार्फत ठग्दै आएको र बर्षमा साढे ५ करोड डलर भन्दा धेरै ठग्दै आएको जनाइएको छ ।

भारतीय प्रहरीले ६ सयभन्दा धेरैलाई ठगीमा संलग्न भएको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ भने अरु धेरैलाई नक्कली कल सेन्टर चलाएको अभियोगमा बयान लिने तयारी गरिरहेको छ । प्रहरीले यो साता मुम्बई कैयन कल सेन्टरमा छापा मारेर सयौं हार्डडिस्कहरु कब्जामा लिएको छ ।

सन् २०१३ को अक्टोबर यता नक्कली फोनकलबारे ९ लाख भन्दा धेरै उजुरीहरु परेको आईआरएसलेजनाएको छ । आईआरएसका अनुशार पाँचहजारजनाले त्यस्ता ठगहरुलाई साढे २ करोड डलर भन्दा धेरै बुझाइसकेका छन् । भारतमा भएको पक्राउबारे भने आईआरएसले अझै केही प्रतिकृया जनाएको छैन ।

अमेरिकामा आईआरएस र युएससीआईएसका नाममा नक्कली फोनको जगजगी

scam-call-3

अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले फोन गरेर ट्याक्स राम्रोसँग फाइल नगरेको वा अरु विभिन्न कारण देखाउदै तत्काल रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्नेसम्मका धम्की दिने गरेका छन् । त्यस्तै आफू युएससीआईएसबाट बोलेको भन्दै उनीहरुले अध्यागमन सम्बन्धि सुचना नसच्याएको वा अरु विभिन्न कारण देखाउँदै रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्ने धम्की दिने गरेका छन् । ठगहरुबाट आएका यस्ता फोनबाट पीडित नेपालीहरुको संख्या समेत निकै ठूलो रहेको छ ।

न्युयोर्कमा कानुन व्यवसाय संचालन गरिरहनुभएका बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले खसोखाससँग कुरा गर्दै भन्नुभयो –“केही समयको अन्तरालमा दर्जनौं नेपालीहरुले आफू यस्ता फोनकलबाट पीडित भएको जानकारी हामीलाई गराएका छन् । उनीहरुमध्ये केही ठगिन समेत पुगेका छन् । ” ठगहरुले फोन गर्नासाथ केही नेपालीले कानुन व्यवसायीहरुसँग सम्पर्क गरेर यसबारे सोधपुछ गरेका भएपनि कैयन नेपालीहरु भने हतासमा ठगिन पुगेका छन् । दर्जन नेपालीले आफू ठगहरुका फोनकलबाट पीडित रहेको क्षेत्री ल फर्ममा जानकारी गराएका हुन् । त्यो बाहेक ठगीका फोनकलबाट पीडित नेपालीहरुको संख्या अमेरिकामा निकै ठूलो रहेको छ ।

केही पहिले आईआरएसबाट फोन गरेको भन्दै रकम माग्ने ठगलाई बोष्टनका एकजना नेपालीले १० हजार अमेरिकी डलर बुझाएका थिए । ठगले उनलाई तुरुन्तै फामेर्सीमा गएर भौचरमार्फत रकम नतिरे पक्राउ गर्ने र डिपोर्टेशन गर्ने धम्की दिएपछि ति नेपालीले हतासिएर ठगलाई रकम बुझाएका छन् । रकम बुझाइसकेपछि मात्र उनले आफू ठगिएको पत्तो पाए । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –“यसरी ठगिने नेपालीहरु अरु धेरैजना रहेको जानकारीमा आएको छ । त्यसैले आईआरएस, युएससीआईएस वा अन्य निकायबाट फोन गरेर धम्की दिने र रकम माग्नेहरुबाट सावधान रहनुहुन सबैलाई अनुरोध गर्छु । ”

यस्ता ठगहरुले प्राय घरको नम्बरमा फोन गरेर ट्याक्स फाइल नगरेकाले जरिवाना तिर्न धम्क्याउने गरेका छन् । उनीहरुले प्राय फार्मेसीहरुमा गएर ग्रिन डट मनी भौचरबाट रकम तिर्ने उपाय सुझाउने गरेका छन् । तुरुन्तै कसरी रकम तिर्ने भन्ने तरिका पनि उनीहरुले नै सिकाउने गरेका छन् । फोन गर्नेहरु भारतीय लवजमा बोल्ने गर्छन् । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –“उनीहरुले आईआरएसको भन्दै फोन नम्बर पनि दिने गरेका छन् । कलब्याक गर्दा सुरुमै आईआरएस अफिस भन्दै फोन उठाउँछन् । राम्रोसँग अंग्रेजी बोल्न पनि सक्दैनन् उनीहरु । अमेरिकाको आईआरएस हो कि भारतको भनेर सोध्ने हो भने हिन्दीमा समेत कुरा गर्छन् । ”

अहिलेम्मका घटना हेर्दा यस्तो ठगीमा गिरोह नै सकृय रहेको आशंका गरिएको छ । प्राय भारतीय लवजमा व्यक्ति बोल्ने भएकाले र अमेरिकाले यस्तो गिरोहको पहिचान गर्न वा पक्राउ गर्न नसकेकाले इन्टरनेटको माध्यमबाट यो गिरोह भारतबाटै सकृय रहेको अनुमान पहिलेदेखि नै गरिदै आएको थियो । यस्ता ठगहरुबाट ठगिनेहरु नेपाली, भारतीय र भर्खर अमेरिकामा आएका अन्य देशका नयाँ आप्रवासीहरु समेत रहेका छन् । त्यसैले यस्ता फोनकलहरु आएमा कुरा नगर्न र आधिकारिक सरकारी निकायहरुमा खबर गर्न आईआरएस र युएससीआईएसले अनुरोध गरेको छ ।

यसरी ठगियौं हामी !

(पाठकबृन्द, आफूलाई युएससीआईएसको अधिकारी भन्दै फोन गर्नेहरुबाट अमेरिकामा हजारौं व्यक्ति ठगिइसकेका छन् । यसरी ठगिनेमा कैयन नेपालीहरु समेत रहेका छन् । हामीले युएससीआईएसको अधिकारी बताउँदै फोन गर्नेहरुबाट ठगिएका केही व्यक्तिका अनुभवहरु यहाँ प्रस्तुत गरेका छौं । पीडितहरुले यि अनुभवहरु युएससीआईएसलाई जानकारी गराएका हुन् । )

scam-call-2

युएससीआईएसबाट भन्दै मलाई पनि फोनकल आयो । म अमेरिकामा नयाँ नयाँ हुँ, त्यसैले मलाई यो ठगको फोन भन्ने थाहा भएन । मैले सोंचे युएससीआईएसले कुनै विषयमा भेरिफाइ गर्नका लागि फोन गरे होला । मैले मेरो पासपोर्ट नम्बर, भिसा नम्बर, जन्ममिति समेत दिएँ । त्यसपछि उसले मलाई ११ सय डलर तिर्न भन्यो । उसले नजिकैको स्टोरमा गएर पैसा ट्रान्सफर गर्न भन्यो । त्यसपछि मलाई शंका लाग्यो अनि मैले फोन काटिदिएँ । तर मैले उसलाई मेरा व्यक्तिगत जानकारीहरु दिएकाले मलाई निकै डर लागिरहेको छ ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

इमिग्रेशनबाट मेरो फाइल आफूहरुसँग आएको भन्दै मलाई कसैले फोन ग¥यो । उनीहरुले आफूहरु स्टेट प्रहरीबाट भएको बताएका थिए । त्यसपछि उसले मलाई युएससीआईएसका अधिकारी भन्दै अर्का एकजनासँग फोनमा सम्पर्क गरायो । त्यसपछि उनीहरुले मेरो एलियन नम्बर राम्रोसँग फाइल नभएकाले डिपोर्टशन हुने बताए । मैलै सीभीएस मनीब्याक भौचरबाट १९ सय ८० डलर जरिवाना तिरेमा यस्तो डिपोर्टेशन रोकिने उनीहरुले बताए । त्यसपछि म सीभीएसमा गएँ । तर सीभीएसमा काम गर्ने कर्मचारीले ठगहरुले यसो गरेको हुनसक्ने बताएर मलाई बचाए । त्यसपछि मैले यसबारेमा प्रहरीमा जानकारी गराएँ । अहिले प्रहरीले ठगको खोजी गरिरहेको बताएका छन् ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

मलाई पनि फोन गरेर मेरो सम्पूर्ण जानकारी मागे । तर मैले चलाखी गरेर उनीहरुलाई जाँच्नका लागी जे पायो त्यही गलत जानकारी दिएँ । त्यसपछि उनीहरुले मलाई ५ सय १२ डलर तिर्न भने । मैले फोन राखिदिएँ । उनीहरुले मलाई फेरी पनि फोन गरे र किन फोन राखेको भनेर सोधे । मैले मबाट कुनै गलत काम नभएको र मैले कुनै अपराध नगरेकाले रकम नतिर्ने बताएँ । तिमीहरु मेरो भिसा रद्द गर्न चाहन्छौ भने गरेर देखाउ भनें । मैले उनीहरुलाई नजिकको प्रहरी कार्यालयमा आउन र त्यहाँ सबै कुराको समाधान हुने बताएपछि उनीहरु आफैले फोन राखें ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

मैले पनि लगातार यस्ता फोन कल पाएको थिएँ । उनीहरुले मलाई राइड एड फार्मेसीमा गएर भौचर बनाउन भने । मलाई शंका लागेकाले मैले सम्पर्कमै रहन र प्रहरीलाई खबर गरिदिने बताएँ । त्यसपछि उनीहरुले आफै फोन काटिदिए । उनीहरुसँग मेरो सबै व्यक्तिगत जानकारी रहेछ । मेरो पासपोर्ट नम्बर, भिसा नम्बर, एक्स्पायर मिति र जन्ममिति समेत उनीहरुसँग रहेछ । यसले मलाई अचम्म पारेको छ ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

म त्यस्तै फोनकलको शिकार भएको छु । युएससीआईएसले मेरो एलिएन नम्बर हराएको भन्दै मलाई फोन आयो । उनीहरुले मलाई मेरो देशमा डिपोर्ट गरिदिने धम्की समेत दिए । उनीहरुले मसँग पैसा माग्दै वालमार्ट वा राइट एडमा गएर पैसाको भौचर बनाउन भने । मैले मेरो एलियन नम्बर अपडेट नगरेकाले जरिवाना स्वरुप रकम तिर्नुपर्ने बताए । मैले यसबारेमा प्रहरीमा उजुरी गरिसकेको छु । तर मलाई ति ठगहरु मेरो घरकै ढोकामा आउने हुन् कि भन्ने डर लागिरहेको छ ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

मैले पनि ९११ नम्बरबाटै यस्तो फोनकल पाएँ । उनीहरुले मेरो एलियन नम्बर हराएको र तुरुन्तै ७८ सय डलर जरिवाना नतिरे डिपोर्ट गरिने धम्की दिए । मलाई उनीहरुले ग्रिन डट मनी भौचरबाट रकम तिर्न वा २४ घण्टाभित्र अमेरिका छाडेर आफ्नो देश जान धम्की दिए । मैले उनीहरुलाई मेरो व्यक्तिगत जानकारीहरु दिएको थिएँ । तर पछि मैले यिनीहरु ठग रहेको महसुस गरें । अनि मैले ठीकै छ म मेरो देश नै जान्छु, उतै तिरौला भनें । त्यसपछि उनीहरुले फोन काटे र पछि कहिल्यै फोन गरेनन् ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

मलाई एकजना भारतीय लवज भएका व्यक्तिले फोन गरेर आफू युएससीआईएसको अधिकारी भएको बतायो । उसले मलाई २५ दिनभित्र अमेरिका छाड्नुपर्ने बतायो । मेरो इमिगे्रशन स्टाटस खराब भएको भन्दै उसले म २० वर्षसम्म अमेरिका फर्केर आउन नसक्ने समेत बतायो । २५ दिनभित्र अमेरिका नछाडे जेल हालिने र डिपोर्ट गरिने धम्की समेत दियो । यदि यसो हुन नदिने हो भने मैले ६३ सय डलर बुझाउनुपर्ने उसले बतायो । उ मसँग झण्डै ७ घण्टा फोनमा थियो । यो अवधिमा मैले उसलाई ३ हजार डलर बुझाएँ । पछि मैले म ठगिएको थाहा पाएँ । यस्ता रक्तपिपासु ठगहरु एक न एक दिन फन्दामा पर्ने मेरो विश्वास छ ।
ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

आईआरएसबाट भन्दै फोन गर्ने ठगहरुबाट होशियार !

करदाता र भर्खरै अमेरिकामा आएका आप्रवासीहरुलाई लक्ष्यित गरेर अमेरिकाभर फोनमार्फत भइरहेका ठगीका घटनाबारे आन्तरिक राजस्व सेवा आईआरएस ग्राहकहरुलाई सावधान गराउन चाहन्छ ।

ठगहरुले फोन गरेर पीडितहरुलाई उनीहरुले आईआरएसलाई रकम तिर्न बाँकी रहेको भन्दै डेबिट कार्ड र वायर ट्रान्सफरमार्फत रकम माग्ने गरेका छन् । यदि पीडितले ठगहरुले भने अनुशार गर्न नमानेमा उनीहरुले पीडितलाई गिरफ्तार गर्ने, डिपोर्ट गर्ने , विजनेश र चालक अनुमति पत्र खारेज गरिदिने सम्मका धम्की दिने गरेका छन् । धेरैजसो समयमा फोनगर्नेहरु रुखो वा होच्याउने प्रकृतिका हुने गर्छन् ।

यस्ता ठगहरुले करदातालाई अमेरिकाका प्राय सबै राज्यहरुमा निशाना बनाउने गरेका छन् । हामी करदाताहरुलाई शिक्षित बनाउन चाहन्छौं कि उनीहरुले आफूलाई यस्ता ठगहरुबाट बचाउन सकुन् । निश्चिन्त हुनुहोस्, आईआरएसले फोन मार्फत कहिले पनि क्रेडिट कार्ड नम्बर माग्दैन र माग्नेछैन , नत प्रिपेड डेविट कार्ड वा वायर ट्रान्सफरकै लागि अनुरोध गर्छ । यदि कसैले आफू आईआरएसबाट भन्दै फोन गरेर प्रहरीबाट गिरफ्तार गराउने, डिपोर्ट गराउने वा लाइसेन्स खारेज गरिदिने धम्की दिन्छ भने त्यो आईआरएसको आधिकारिक फोन नभएको संकेत हो । आईआएरएसले करको विषयमा करदातालाई भरसक चिठीपत्रमार्फत नै सम्पर्क गर्छ ।

ठगहरुले नक्कली नाम र नक्कली आईआरएस ब्याज नम्बर प्रयोग गर्छन् । उनीहरुले आफूलाई चिनाउन सामान्यतया प्रचलित नामहरु वा थरहरु प्रयोग गर्छन् । ठगहरुले सोसल सेक्युरिटी नम्बरका अन्तिम चार अंकहरु भन्न पनि सक्छन् । ठगहरुले फोन आइआरएसबाटै भएको भान पार्न कलर आइडीमा आईआरएसको टोल फ्रि नम्बर देखिने प्रविधिको प्रयोग गर्छन् । ठगहरुले कहिलेकाँही पीडितलाई नक्कली इमेल पठाएर फोनमा कुरा गर्ने वातावरण समेत बनाउने गरेका छन् । पीडितहरुले पाश्र्वमा अरु यस्तै प्रकारका फोनकलको आवाज समेत सुन्न सक्छन् किनभने ठगहरुले पीडितलाई आश्वस्त पार्न पृष्ठभूमिमा त्यस्तो आवाज बनाएका हुन्छन् ।

यदि तपाईले आईआरएसबाट भन्दै त्यस्ता नक्कली फोनकल पाउनुभएमा आईआरएसमा सम्पर्क गर्नुहोला । यस्ता नक्कली फोनकलबारे तपाईले कर प्रशासनका लागि कोष अनुसन्धान अधिकारीको कार्यालयमा जानकारी गराउन सक्नुहुनेछ । तपाई आफू यसको शिकार हुनुभएको छ भने तपाईले फेडरल ट्रेड कमिशनमा सम्पर्क गर्न सक्नुहुन्छ । आईआरएसले करदातालाई यस्ता फोनहरुविरुद्ध चनाखो हुन अनुरोध गर्छ । आईआरएसले इमेलमार्फत करदातासँग उनीहरुको व्यक्तिगत र ब्यापारिक जानकारी लिनका लागि सम्पर्क गर्दैन । त्यस्तै आईआरएसले व्यक्तिगत र ब्यापारिक जानकारी लिनका लागि एसएमएस वा सामाजिक मिडियाको प्रयोग पनि गर्दैन । आईआरएसले क्रेडिट कार्ड र बैंक खातामा पहुच पुग्ने पीन वा पासवर्ड समेत कहिल्यै माग्दैन ।

(फोनबाट हुने ठगीसम्बन्धि आईआरएसले गरेको सार्वजनिक अनुरोधको नेपाली अनुवाद )

युएससीआईएसबाट भन्दै फोन गरेर डिपोर्टेशनको धम्की दिने र पैसा माग्नेबाट सावधान !

हामीले वितेका केही दिनहरुमा मात्र कैयन ठगीका घटनाहरु भएको जानकारी पाएका छौं । पछिल्ला हप्ताहरुमा युएससीआईस आवेदनकर्ता र निवेदकहरुलाई लक्ष्यीत गरेर फोनमार्फत ठगी भइरहेको जानकारीमा आएको छ । ठगहरुले फोनगर्दा ‘कलर आईडी’मा गलत वा नक्कली नम्बर आउनेगरी प्रविधि अपनाउने गरेका छन् ।

ठगहरुले आफूलाई युएससीआईएसको अधिकारीका रुपमा प्रस्तुत गर्ने गरेका छन् । र उनीहरुले फोनबाट सोसल सेक्युरिटी नम्बर, पासपोर्ट नम्बर, एलियन नम्बर जस्ता व्यक्तिगत जानकारीहरु र व्यक्तिको अध्यागमन सम्बन्धि रेकर्ड थाहा हुने खालका जानकारीहरु मागेर त्यस्ता रेकर्डहरु सच्याउन रकम आवश्यक रहेको भन्दै रकम माग्ने गरेका छन् । प्रायजसो ठगहरुले रकम नतिरे डिपोर्टेशन गर्ने वा अन्य नकारात्मक परिस्थीतिको डर देखाउदै पीडितहरुलाई फोन गर्ने गरेका छन् ।

यदि तपाईले त्यस्ता कुनै फोनकलहरु प्राप्त गर्नुभएमा त्यस्ता फोनमा कुरा नगरी फोन राखिदिनुहुन युएससीआईएस अनुरोध गर्दछ । किनभने युएससीआईएसले कहिलेपनि फोनमार्फत कुनै पनि व्यक्तिगत जानकारी वा भुक्तानी माग्दैन । त्यसैले युएससीआईएसको अधिकारी दावी गर्दै कसैले फोन गरेमा त्यस्ता व्यक्तिलाई कुनै भुक्तानी वा व्यक्तिगत जानकारीहरु नदिनु होला । सामान्यता हामीले तपाईलाई आफ्ना निजी जानकारीहरुको संरक्षण गर्न प्रोत्साहन गर्छौं । र सार्वजनिक स्थलमा आफ्नो अध्यागमन आवदेन सम्बन्धि जानकारीहरु नखोल्नुहोला ।

यदि कसैले यसएससीआईएसबाट भन्दे फोन गरेर डिपोर्टेशनको धम्की दिन्छ वा पैसा ट्रान्सफर गर्न भन्छ वा कुनै स्टोर अथवा औषधी पसलमा गएर मनी अर्डर , भौचर वा भुक्तानीका अरु कुनै तरिका बनाउन भन्छ भने कहिले पनि त्यसो नगर्नुहोला । बरु तुरुन्तै फोन राखेर यसबारे हामीलाई जानकारी गराउनुहोला ।

यदि तपाई त्यस्तो खालको फोनमार्फत ठगीको शिकार हुनुभएको छ भने फेडेरल ट्रेड कमिसनमा वा यससम्बन्धि राज्यका आधिकारिक निकायमा जानकारी दिनुहोला । यदि तपाईसँग आफ्नो अध्यागमन रेकर्डबारे कुनै प्रश्न छन् भने राष्ट्रिय ग्राहक सेवा केन्द्रमा फोन गर्न सक्नुहुन्छ वा युएससीआईएसका सम्पर्क कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

(फोनबाट हुने ठगीसम्बन्धि युएससीआईएसले गरेको सार्वजनिक अनुरोधको नेपाली अनुवाद )

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com