‘समाजका कुलंगार गुण्डाहरु के को डन?’–सर्बेन्द्र खनाल


प्रकाशित मिति : श्रावण १३, २०७३ बिहीबार

– भूपेन्द्र थापा 

एकपछि अर्को अपराध अनुसन्धानको सफलतापछि चर्चामा रहेका नेपाल पुलिसका सेलिब्रेटी एसएसपी सर्वेन्द्र खनाल करिव डेढ साताको अमेरिका भ्रमण सकेर नेपाल फर्केका छन । अमेरिकी नेपालीयुवाहरुको एक संस्थाको सम्मेलनमा गेष्ट स्पिकरको रुपमा सहभागी हुने मेसोमा अमेरिका आएका खनाल तत्पश्चात अमेरिकाको अन्य राज्य र त्यहाँ रहेका नेपालीहरुसंग पनि घुलमिल गर्न भ्याए । भर्जिनिया, डिसी, बाल्टिमोर लगायतका स्थानमा पनि नेपाली समाजले उनलाई भव्य स्वागत र सम्मान गर्यो नेपालमा उनले गरेका राम्रो कामका खातिर ।

यसैक्रममा केही दिन न्यूयोर्कमा रहेका खनालले यहाँका नेपाली र नेपाली पत्रकारहरुसंग पनि अनौपचारिक भलाकुसरी गर्न भ्याए ।

सो क्रममा उनलाई पत्रकारहरुले पनि उनको कामको प्रशंसा गर्दै विभिन्न प्रश्नहरु पनि गरेका थिए । त्यसक्रममा खनालले नेपाली फुटवलको म्याच फिक्सिङ प्रकरण, पेट्रोल पम्प प्रकरण, विभिन्न समयका गुण्डा नाइके पक्राउ प्रकरण लगायत द्धन्द्धका वेला जनकपुर तथा विराटनगर क्षेत्रमा रहदा भएका घटनाहरुका वारेमा खुलस्त पारेका थिए ।

आफुलाई भन्दा पनि आफ्नो काम वा कसैले पनि गरेको राम्रो काममा देश वा विदेशमा रहेका नेपालीले साथ दिदा हौसला मिल्ने र थप काम गर्न जाँगर पलाउने भएकाले सधैं साथ दिन अनुरोध पनि गरे । राम्रो काम गर्दा ब्यक्तिगत रुपमै पनि बिबिध चुनौति ब्यहोर्नुपर्ने कटु सत्य पनि उनले सुझाए । तर जनताको साथ रहेसम्म आफु जस्तोसुकै चुनौतिको पनि सामना गरेर अघि बढने दृढ प्रण पनि खनालले व्यक्त गरे । खासगरी राजधानीमा रहदा गरेको कामको मात्रै बढी चर्चा हुने गुनासो गर्दै खनालले मोफसल वा राजधानी बाहिरका अफिसरले गरेको राम्रो कामको चर्चा मिडियामा खासै नहुने गरेकोमा उनको गुनासो थियो ।

स्मरणिय छ खनाल चरम द्धन्दका वेलामा पनि जनकपुर तथा विराटनगरमा रहदा तत्कालिन सशस्त्र समुहको दोहोलो काटेर अमनचयन कायम गराउन सफल भएका थिए । र स्थानियले मधेसको छोरो, जनकपुरको छोरो जस्तो उपनाम समेत दिएका थिए ।

गुण्डाहरुलाई डन भनिएकोमा आपत्ति जनाउदै खनालले भने ‘समाजका कुलंगार गुण्डाहरु के को डन? डन भनेको त राम्रो काम गर्ने मान्छे हुन्छ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com