डोटीमा प्रदेशको राजधानी माग गर्दै आन्दोलन चर्कियो, सुरक्षा व्यवस्था कडा


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

 

माघ ६, डोटी । प्रदेशको नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच पुनः झडप भएको छ। झडपका क्रममा २ जना घाइते भएका छन्। घाइते हुनेहरूमा दिपायलका घनश्यामदत्त पाठक, पुष्कर द्वारियाल घाइते भएका छन्। घाइते आन्दोलनकारी अझै थपिन सक्ने संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए। प्रहरीले महिला तथा बालबालिकामाथि प्रहरीले लठी चार्च गरेको डुम्रेलले जानकारी दिए। घाइते दुवैको राजपुरस्थित महाकाली मेडिकलमा उपचार भइरहेको छ। डोटी बन्दको २५औँ दिन शनिबार आन्दोलनकारी र प्रहरीका बिच झडप भएको हो। क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीचमा झडप भएको हो। क्षेत्रीय प्रशासनमा कालो झण्डा आन्दोलनकारीले ७ नम्बर प्रदेशको क्षेत्रीय प्रशासन कार्यालयमा कालो झण्डा गाडेका छन् । क्षेत्रिय प्रशासनसंगै क्षेत्रिय कार्यालयमा कालो झण्डा राखेका छन्। दिपायलदेखि सुरु भएको र्‍याली क्षेत्रीय प्रशासन कार्यालयमा पुगेर कोणसभा गर्नुका साथै कालो झण्डा राखेका थिए। आन्दोलनकारीले शनिबार सिलगढी, दिपायल, राजपुर र बुडर बजारमा प्रदर्शन गरेका छन्। सरकारले आफ्नो माग सुनुवाई नगरेसम्म आन्दोलन जारी राख्ने संर्घष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए। पहाडी जिल्लाको यातायात ठप्प प्रदेश नम्बर(७ का पहाडी जिल्लाको यातायात पूर्णरूपमा ठप्प भएको छ। प्रदेशको राजधानीको माग गर्दै आएका आन्दोलनकारीले पहाडी जिल्लाको प्रवेशद्वारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजार बन्द गरिएसंगै पहाडी जिल्लाको यातायात अवरुद्ध बनेको हो। शान्तिपूर्ण माग गर्दा सरकार सुन्ने अबस्थामा नभएका कारण निर्णायक आन्दोलनका रूपमा बुडरमा बन्द सुरु गरेका संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले बताए। सुरक्षा व्यवस्था उच्च शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ। विभिन्न जिल्लाबाट पनि नेपाल प्रहरी र शसस्त्र प्रहरी डोटीको सुरक्षाका लागि ल्याइएको छ। दिपायल र सिलगढीमा सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आन्दोलनकारीले प्रहरीलाई आक्रमण गरेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com