अमेरिकी सरकार ‘सटडाउन’, अब के हुन्छ ?


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

बजेट पारित नहुँदा अमेरिकी सरकार आधिकारिक रुपमा ‘सटडाउन’ भएको छ । शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएको हो । संसद र ह्वाइट हाउसमा एउटै पार्टीको नियन्त्रण हुँदाहुँदै पनि सरकार सटडाउन भएको अमेरिकी आधुनिक इतिहासमा यो नै पहिलो पटक हो । अमेरिकी ह्वाइट हाउस र संसदमा रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको एकबर्षे कार्यकालको बार्षिकोत्सवको दिनमा अमेरिकी सरकार सटडाउन भएको हो । ट्रम्पले यसका लागि डेमोक्रेटिक पार्टीलाई आरोप लगाएका छन् । चारसाताका लागि अमेरिकी सरकार खुल्ला राख्नका लागि सिनेटमा ६० मतको आवश्यकता रहेको थियो । तर रिपब्लिकनहरुसँग ५१ मात्र भोट रहेको छ ।

अमेरिकी सरकार सटडाउन भइसकेपछि सरकारले गर्ने कैयन कामकाजहरु प्रभावित हुनेछन् । ८ लाखलाई देशनिकालाबाट जोगाउने डाका कार्यक्रममा सहमति नभएसम्म खर्च विधयेकमा मतदान नगर्ने डेमोक्र्याटहरुको अडानमा रिपब्लिकनहरुले सहमति जनाउन नसक्दा अमेरिकी सरकार सटडाउन भएको हो । रिपब्लिकनहरुले सिमा सुरक्षा, सिमानामा पर्खाल लगाउन बजेटको बिनियोजन जस्ता विषयको टुंगो नलागेसम्म डाका कार्यक्रममा सहमति नजनाउने अडान लिदै आएका छन् ।

सरकार सटडाउन भएपछि अमेरिकाले तत्कालका लागि ८ लाख ५० हजार संघीय कामदारहरुलाई छुट्टी दिनुपर्ने भएको छ । सेनाका सकृय सदस्यहरु काममा नै लाग्नुपर्नेछ तर उनीहरुले तत्कालका लागि तलब भने नपाउने देखिएको छ । हुलाक सेबा बन्द हुनेछैन । किनभने हुलाक सेवा संघीय बजेटबाट फण्ड प्राप्त सेवा होइन । त्यस्तै आइआरएसका कर्मचारीहरुले भने छुट्ट्ी पाउनेछन् । तर करदाताले भने कर फाइल गर्नुपर्नेछ । आइआरएस प्रभावित हुँदा करदाताले पाउने रिफण्डमा भने ढिलाई हुनेछ ।

सोसल सेक्युरिटी चेक भने जारी हुनेछ । त्यस्तै फुड स्ट्याम्प कार्यक्रम पनि प्रभावित हुनेछैन । तर ९० लाख बालबालिकाको स्वास्थ्य विमा प्रदान गरेको चिप कार्यक्रम प्रभावित हुनसक्नेछ ।

टीएसए एजेण्ट, सिमा सुरक्षा अधिकारी, हवाई ट्राफिक कन्ट्रोलरहरु अनिवार्य कर्मचारी रहेका कारण यात्रा सेवा प्रभावित हुनेछैन । रेल र राष्ट्रिय मौसम सेवाहरु पनि चालु नै हुनेछन् । तर नासाका कैयन कर्मचारीहरुलाई भने छुट्टी दिइनेछ ।

अमेरिकी सरकार सटडाउन रहदासम्म बन्दुकका लागि नयाँ लाइसेन्स प्राप्त हुनेछैन । किनभने मदिरा, सुर्ती र हतियार विभागका कैयन कर्मचारीहरुलाई छुट्टी दिइनेछ ।

नेशनल पार्कहरु बन्द हुनेछन् । तर केही पार्कहरु भने खुल्ला हुने वताइएको छ । राष्ट्रिय चिडियाखानाहरु पनि सप्ताहन्तसम्म खुल्ला हुने बताइएको छ । तर चिडियाखाना र संग्राहालयहरु सोमबारदेखि बन्द हुन थाल्नेछन् । राष्ट्रपतिको तलब भने रोकिनेछैन ।

सन् १९७६ यता सरकार सटडाउन भएको यो १८ औं पटक हो । सन् २०१३ मा सरकार सटडाउन हुँदा २ बिलियनको घाटा बेहोर्नुपरेको थियो । त्यो भन्दा अगाडि सन् १९९५ र सन् १९९६ मा भएको सटडाउनमा मुलुकलाई सबा १ बिलियन घाटा लागेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com