अमेरिकामा स्टोरबाट पक्राउ २१ जना देशनिकालाको प्रकृयामा, अब कागजपत्रविहिनलाई काममा लगाउनेमाथि पनि कारवाही


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका कार्यकारी निर्देशक थोमस होम्यानले कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाता र विना कागजपत्र काम गर्ने कामदार दुबैलाई कारवाही तीब्र पार्ने बताएका छन् । बुधबार अमेरिकाको सेभेन इलाभेन स्टोरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मारेर कैयन कागजपत्रविहिनलाई नियन्त्रणमा लिए लगत्तै उनको यस्तो प्रतिकृया सार्वजनिक भएको हो ।

कार्यकारी निर्देशक होम्यानले काम गर्ने स्थानमा छापालाई बढाउदै जाने र कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिएर देशनिकालाको क्रम तीब्र पार्ने स्पष्ट पारेका छन् । कागजपत्रविहिनहरुलाई काम नै नभएमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरु दुरुत्साहित हुने उनको विश्वास रहेको छ । उनले आइसका अधिकारीहरुलाई स्टोर, रेष्टुरेण्टजस्ता काम गर्ने स्थलहरुमा पाँचगुणासम्म निगरानी बढाउन निर्देशन समेत दिएका छन् । कागजपत्रविहिनहरुलाई जानाजानी काममा राख्नेहरुलाई समेत कारवाही गर्ने र काममा राखिएकाहरुलाई नियन्त्रणमा लिएर देशनिकाला गर्ने उनले जनाएका छन् ।

अमेरिकाको सेभेन इलाभेन स्टोरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मारेर कैयन कागजपत्रविहिनलाई नियन्त्रणमा लिएपछि अहिले अमेरिकामा अन्य रोजगारदाताहरुले कागजपत्रविहिनहरुलाई कामबाट निकाल्ने क्रम तीब्र बनेको छ । अमेरिकाका स्टोर, ग्यास स्टेशन लगायतका स्थानमा कागजपत्रविहिनहरुले समेत काम पाउदै आएकोमा सेभेन इलाभेन स्टोरमा आइसको छापापछि त्यस्ता स्थानबाट समेत कामदारहरुलाई कामबाट हटाउन थालिएको छ ।

विगतका प्रशासनहरुले कामदार वा रोजदारदातालाई मात्र लक्ष्यित गर्दै आएकोमा ट्रम्प प्रशासनले दुबैलाई लक्ष्यित गर्न थालेपछि रोजगारदाताहरु पनि त्रसित बनेका हुन् । काम गरिररहेको स्थलमा अध्यागमन कानुन कार्यान्वयनको ट्रम्प प्रशासनको बदलिदो नीतिका रुपमा यसलाई हेरिएको छ ।

गत बुधबार न्युयोर्क सहित अमेरिकाका विभिन्न १७ राज्यका ९८ स्टोरहरुमा आइसले छापा मारेको थियो । ती स्टोरहरुबाट २१ जना कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राखिसकिएको छ । यसबाट विगतमा जस्तो अपराधीहरुलाईमात्र देशनिकालाको प्राथमिकतामा राख्ने नभई ट्रम्प प्रशासनले हरेक कागजपत्रविहिन देशनिकालाको प्राथमिकतामा राखेको स्पष्ट भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com