पुनर्निर्माण प्राधिकरणसँग प्रधानमन्त्री किन असन्तुष्ट ?


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको ५० दिनपछि पहिलोपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइत्बार बसेको छ ।प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै प्रचण्डले भूकम्पपीडितलाई आवास निर्माणका लागि ४५ दिनभित्र पहिलो किस्ता रकम वितरण गर्न निर्देशन दिएका थिए ।

पहिलो बैठकमै प्रधानमन्त्रीको असन्तुष्टि

प्राधिकरण निर्देशक समितिको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलो बैठकमै पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले आफूले भनेअनुसारको गतिमा पुनर्निर्माणको काम अघि नबढेको भन्दै असन्तुष्टि जनाएका हुन् । यसअघि भएको सर्वेक्षणअनुसार पाँच लाख ३३ हजार भूकम्पपीडित लाभग्राहीको सूचीमा परेका थिए । उनीहरूलाई ४५ दिनभित्र पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ वितरणको निर्देशन दिए पनि त्यो पूर्णरूपमा कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री रुष्ट भएका हुन् ।

निर्णय केही भएन

निर्देशक समितिको आइतबारको बैठकमा कुनै पनि निर्णय भएन । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्मको कार्यप्रगति, भएका समस्या र समाधानको प्रयासका विषयमा प्रस्तुतीकरण राखेका थिए । ज्ञवाली र पुनर्निर्माणसँग जोडिएका शिक्षा, सहरी विकास, स्थानीय विकास र पर्यटन मन्त्रालयका सचिवहरूको संक्षिप्त प्रस्तुति सुनेपछि प्रधानमन्त्रीले बैठक सोमबारसम्मका लागि स्थगित गरेका नयाँ पत्रिकामा खबर छ ।

बैठकका चार एजेन्डा

बैठकमा सिइओ ज्ञवालीले चारवटा एजेन्डा प्रस्तुत गरेका थिए । यी एजेन्डामा सोमबार छलफल हुनेछ । ज्ञवालीले प्राधिकरणको वस्तुस्थिति तथा आव ०७३-७४ को नीति, कार्यक्रम तथा बजेट, निजी आवास पुनर्निर्माणसम्बन्धी ४५ दिने कार्ययोजना र कार्यप्रगतिको अवस्था, प्राधिकरणको संगठनात्मक संरचना र कार्य प्रणालीको पुनरावलोकन तथा जनशक्ति व्यवस्थापन तथा निजी आवास पुनर्निर्माणका लागि प्रतिलाभग्राही घरधनीलाई एक लाख रुपैयाँ अनुदान थप गर्ने तथा तीन लाख रुपैयाँ निर्ब्याजी ऋण उपलब्ध गराउने विषय एजेन्डाका रूपमा प्रस्तुत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com