अब दुईदेखि चारदिनमै काठमाडौंबाट अमेरिकी भिसा


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा प्रणालीमा गढबढी आएपछि अमेरिकाको भिसा लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था सृजना भएको थियो । तर यसैसातादेखि भने दुईहप्तादेखि एकमहिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब भिसाका आवेदकहरुले दुईदेखि चारदिनको अवधिमा नै काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको भिसा प्राप्त गर्न सक्ने भएका छन् ।

आवेदकले भिसाका लागि आवेदन दिइसकेपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट पाउनका लागि तीनसातादेखि एकमहिनासम्म कुर्नुपर्दा आवेदकहरु मारमा परेका थिए । कतिपय आवेदकले भिसा प्राप्त गर्दा अमेरिकामा जाने कार्यक्रमको उपादेयता समाप्त भइसकेको हुन्थ्यो भने कतिपयले अमेरिकामा तय गरिएको कार्यक्रमपछिमात्र भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउँदा भिसा नै नपाउने अवस्था सृजना भएको थियो । अब यसैसातादेखि भने यो अवस्थाको अन्त्य भएको छ ।

भिसाका आवेदकहरुले आवेदन दिएको एकदेखि तीनदिनभित्रै काठमाडौंमा रहेको दूतावासबाट भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट पाउन थालेका छन् । अमेरिकी सरकारको युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अमेरिकामा भिजिटर भिसामा जान चाहेनहरुले तीन दिनमा भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउनेछन् भने विद्यार्थी भिसामा जान चाहनेहरुले भोलिपल्टनै भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउने भएका छन् । अन्य सबै प्रकारका गैर आप्रवासी भिसाहरुका लागि पनि अन्तरवार्ताको अप्वाइन्टमेन्ट तीनदिनमा नै पाइने भएको छ । त्यसपछि भिसा जारी गर्न काठमाडौंमा रहेको अमेरिकी दूतावासले १ दिन लगाउनेछ ।

यसरी अब आवेदकहरुले आवेदन दिएको दुई क्यालेण्डर दिनमा नै विद्यार्थी भिसा र चार क्यालेण्डर दिनमा नै भिजिटर लगायत अन्य गैरआप्रवासी भिसा प्राप्त गर्न सक्ने भएका छन् ।

यसबारे थप समाचारका लागि खसोखास साप्ताहिकको आगामी अंक पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com